गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रनवेकाे जग्गा नै व्यक्तिको नाउँमा दर्ता, मुआब्जा माग्न आएपछि खुल्यो रहस्य – Nepal Press

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रनवेकाे जग्गा नै व्यक्तिको नाउँमा दर्ता, मुआब्जा माग्न आएपछि खुल्यो रहस्य

रुपन्देही । कपिलवस्तुको वाणगंगा नदीको क्षेत्र र भैरहवाको दाहसंस्कार स्थल बिक्री भएको समाचार सार्वजनिक भएको घटना सेलाउन नपाउँदैभैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रन वे का लागि छुट्याइएको पौने ५ विगा जग्गा व्यक्तिको नाममा दर्ता भएको पाइएको छ ।

भूमाफियाको गिरोहले मालपोत कार्यालयका कर्मचारीको सेटिङमा विमानस्थलको जग्गा व्यक्तिको नाउँ गरिएको भन्दै स्थानीयले जिल्ला प्रशासन तथा मालपोत कार्यालयमा धर्ना दिएका छन् ।

फिल्डबुकमा कसैको पनि नाम उल्लेख नभएको विमानस्थलकाे रनवे परेकाे ४ बिगा १७ कठ्ठा ६ धुर जग्गा मालपोत कार्यालयका प्रमुख कुमार आचार्य र नायब सुब्बा अजित साहनीले २०८० वैशाख ८ गते पर्वतराज कान्त मिश्राको नाममा दर्ता गराएको प्रमाण भेटिएको छ । मालपोत कार्यालयबाट पर्वतराज कान्त मिश्राले जग्गाको मुआब्जा पाउन गौतमबुद्ध विमानस्थल सुदृढीकरण कार्य आयोजना कार्यान्वयन इकाईमा निवेदन दिएपछि उक्त घटना बाहिर आएको हो ।

स्थानीयले रुपन्देहीका मालपोत प्रमुख आचार्यसहितका कर्मचारीले भूमाफियासँग मिलेर यस्तो काम गरेको भन्दै तत्काल रोक्न माग गरेका छन् । रनवे क्षेत्र नै व्यक्तिको नाममा दर्ता गरिएको सूचना पाएपछि विमानस्थल आयोजनाले यसबारे अध्ययन थालेको छ ।

प्राप्त कागजातअनुसार २०२१ सालमा भूमिसुधार ऐन लागू भएपछि तत्कालीन समयमा ७ नम्बर फाँटवारीमा सुर्जा मिश्राइनले ३० बिगा १४ कठ्ठा १४ धुर जग्गाको फाँटवारी भरेको देखिन्छ । यही फाँटवारीको अन्तिम महलमा हदबन्दीभन्दा बढी जग्गा भए राख्ने वा छाड्ने भन्नेमा करिब ४ बिगा जग्गा कालीजी (भगवान)लाई दान गरेको हुँदा छाड्ने उल्लेख छ ।

तत्कालीन जग्गाधनी सुर्जा मिश्राइनले कालीजीलाई दिएको ३० बिगामध्ये १३ बिगा १३ कठ्ठा ८ धुर मोहीमा परेको छ । त्यसमध्ये १० बिगा ६ कठ्ठा १९ धुर पर्वतराज कान्त मिश्राको नाममा गएको देखिन्छ । त्यसमध्ये ६ बिगा १ कठ्ठा ६ धुर जग्गा फिल्डबुकमा खाली रहेको छ । फिल्डबुकमा कसैको पनि नाम उल्लेख नभएको उक्त जग्गामध्ये ४ बिगा १७ कठ्ठा ६ धुर जग्गालाई मालपोत कार्यालयका प्रमुख आचार्य र नायब सुब्बा साहनीले २०८० वैशाख ८ गते पर्वतराज कान्त मिश्राको नाममा दर्ता गराएका हुन् ।

मालपोत कार्यालयले पर्वतराजकाे नाममा दर्ता गराएको उक्त जग्गा जग्गाधनी सुर्जा मिश्राइनले कालीजीलाई दान गरेकाले कुनै पनि आधारमा व्यक्तिको हुनै नसक्ने स्थानीयको दाबी छ । सिद्धार्थनगर नगरपालिका- १० निवासी मिश्राले कालीजीलाई दान गरिएको जग्गालाई नै छुट कित्ता भन्दै मालपोत कार्यालय रुपन्देहीमा निवेदन दिएका थिए ।

मिश्राले दिएको निवेदनमा सरोकारवाला पक्षको रायसुझावविनै मालपोत कार्यालयले कालीजीलाई दान गरिएको ४ बिगा १७ कठ्ठा जग्गा उनको नाममा दर्ता गरेको थियो ।

मालपोत कार्यालय रुपन्देहीले भुजौली ९ (ख) को कित्ता नम्बर ७, ३२, ६७, ६८, ९२, ९४ र ९ (क) को कित्ता नम्बर २९ लाई मिश्राको नाममा दर्ता गरेको छ । मिश्राको नाममा रहेको ४ बिगा १७ कठ्ठाबाहेकको अन्य जग्गा विभिन्न समयमा बिक्री वितरण गरिएको छ ।

सुर्जा मिश्राइनको २०२५ साल माघ १८ गते मृत्यु भएको र उनी निःसन्तान भएका कारण उनको नजिकको हकदार को हो भन्नेमा लामो समयसम्म विवाद भएको थियो । विवाद लम्बिँदै गएपछि सर्वोच्च अदालतमा मुद्दासमेत परेको थियो । २०३६ साल जेठ १८ मा सर्वोच्चको फैसलाअनुसार नजिकको हकदारको रुपमा रमाकान्त मिश्रालाई तोकिएको थियो । जग्गा आफ्नो नाममा पार्ने पर्वतराज रमाकान्तका नाति हुन् ।

मिश्रा लामो समयदेखि भारतको गोरखपुरमा बस्दै आएका छन् । उनी भैरहवा आउँदा बस्ने आफ्नो घरसमेत छैन । उनलाई भैरहवामा सहजै भेट्न सकिँदैन । यस विषयमा बुझ्न उनीसँग सम्पर्क गर्दा हुन सकेन । स्थानीयसँग बुझ्दा उनी भारतको गोरखपुर बस्छन् ।

मालपोतले पर्वतराजको नाममा दर्ता गरेको जग्गाको विषयमा लामो समयदेखि अदालतमा मुद्दासमेत रहेको थियो । अदालतले यस विषयमा जग्गा पर्वतराजको नाममा दर्ता गर्नुपर्ने रायसहितको आदेश दिएको छैन ।

उच्च अदालत तुल्सीपुर, बुटवल इजलासका न्यायाधीश चन्द्रबहादुर सारु र किरण पौडेलको संयुक्त इजलासले रिट निवेदक पर्वतराज कान्त मिश्राले मिति २०७८ साल ९ महिना २५ गते दिएको निवेदनउपर कुनै निर्णय गरेको नदेखिँदा जे जो बुझ्नुपर्ने हो बुझी आवश्यक निर्णय गर्नु गराउनु भनी विपक्षी भूमिसुधार तथा मालपोत कार्यालय रुपन्देहीको नाममा परमादेश जारी गरेको थियो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विमानस्थलभित्रको जग्गाको विषयमा कार्यालयले अनुसन्धान सुरु गरेको बताए । उनका अनुसार उक्त जग्गाको विषयमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुदृढीकरण कार्य आयोजना कार्यान्वयन इकाइ र स्थानीयवासीले विशेष चासो लिएका कारण मालपोत कार्यालय, नापी कार्यालय र विमानस्थल आयोजनाका प्रमुखसँग जग्गाको विषयमा फाइल मगाएर अध्ययन सुरु गरिएको छ ।

मालपोत कार्यालयका प्रमुख आचार्यले अदालतको परामादेशलाई टेकेर आफूले उक्त कित्ताको जग्गा मिश्राको नाममा दर्ता गरेको दाबी गरे । उनले विवादित जग्गाको विषयमा जिल्ला प्रशासन कार्यालयमा शाखा अधिकृतसँग मौखिक रुपमा सोधेको र अन्यसँग सोध्न नपर्ने भएकाले जग्गाको विषयमा निर्णय गरिएको बताए ।

विमानस्थल आयोजना प्रमुख इञ्जिनियर प्रवेश अधिकारीले मालपोतले पर्वतराजको नाममा दर्ता गरेको जग्गाको मुआब्जाका लागि निवेदन परेको र यस विषयमा स्थानीयदेखि अन्य सरकारी कार्यालयमा समेत फाइल पुगेकाले आफूहरु कानूनी परामर्शमा रहेको बताए ।

पर्वतराजलाई जग्गाको मुआब्जा रकम उपलब्ध नराउन भन्दै स्थानीयको डेलिगेशन आएकाले सरोकारवाला निकायसँग छलफल भइरहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर