एमाले कर्णाली अधिवेशन : ९ घण्टापछि बन्दसत्र सुरु, सहमति नजुट्दा महासचिव पाेखरेल फर्किए काठमाडौं – Nepal Press

एमाले कर्णाली अधिवेशन : ९ घण्टापछि बन्दसत्र सुरु, सहमति नजुट्दा महासचिव पाेखरेल फर्किए काठमाडौं

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशनको बन्दसत्र नौ घण्टापछि सुरु भएको छ । बिहीबार बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि नेतृत्व चयनका लागि सहमति जुटाउन नसक्दा नौ घण्टा ढिलो गरी बन्दसत्र सुरु भएको हो ।

बुधबारबाट जारी एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनमा सहमतिमा नेतृत्व चयन हुन नसक्ने अवस्था आइलागेको नेताहरुले बताएका छन् । महासचिव शंकर पोखरेलको संलग्नतामा सहमतिको प्रयास गरिए पनि सफल भएन । सहमति नजुटेपति महासचिव पोखरेल काठमाडौं फर्किएका छन् ।

‘सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना अझै कम देखिन्छ । निर्वाचन हुने प्रबल सम्भावना देखिएको छ’, एक नेताले भने । बुधबार अधिवेशन उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा नेतृत्व चयन गर्न सुझाएका थिए ।

अधिवेशनमा प्रदेश संसदीय दलका नेतासमेत रहेका स्थायी कमिटी सदस्य यामलाल कँडेलनिकट गुलाबजंग शाहलाई अध्यक्षमा अघि सार्न खोजिएको छ । त्यस्तै, विनोदकुमार शाह र गोरखबहादुर निकट मानिने नेता मीनबहादुर शाही पनि अध्यक्षको दाबीबाट पछि हटेका छैनन् ।

उपाध्यक्षमा गुलाबगङ्ग शाहको प्यानलबाट टेकराज पछाई र मीनबहादुर शाहीबाट लालबहादुर महतराले तयारी गरेका छन् ।

सचिवमा मीनबहादुरतर्फका रुद्र शाही, डण्डिप्रसाद शर्मा  र गुलाबजंगको प्यानलबाट धुव्र शाहीको प्रतिस्पर्धा हुने सम्भावना रहेको स्रोतले बतायो ।
पार्टी हेडक्वार्टरले भने मीनबहादुरको नाममा सहमतिमा जोड दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर