‘हिरो’ प्रकाश सपूत, जसको मनमा ‘बबल्स’ फुटिरहेको छ (भिडिओ)
काठमाडौं । प्रकाश सपूत अब गायक तथा सर्जकमात्र रहेनन् । उनी अब नायकसमेत बनेका छन् । उनी अभिनित चलचित्र ‘परदेशी २’ दशैंको छेको पारेर यही असोज २६ गते रिलिज हुने तयारीमा छ ।
सपूतले ८ वर्ष अगाडि रिलिज भएको चलचित्र ‘परदेशी’को सिक्वेल ‘परदेशी २’ मा मुख्य भूमिकामा अभिनय गरेका छन् । २०७२ सालमा रिलिज भएको राजेश वंशलद्वारा निर्मित र नारायण रायमाझीद्वारा निर्देशित चलचित्र ‘परदेशी’ उक्त वर्षको हिट चलचित्रमध्येको एक थियो । परदेशीको पहिलो भागमा गायक तथा नायक प्रशान्त तामाङ र नायिका रजनी केसी फिचर्ड थिए । दोस्रो सिक्वेलमा प्रकाश सपूतलाई नायिकाहरु केकी अधिकारी र वर्षा सिवाकोटी तथा नायकहरु दिलीप रायमाझी र प्रशान्त तामाङले साथ दिएका छन् ।
स्टार गायकको छवि बनाइसके पनि ठूलो पर्दामा देखिने रुचि र हुटहुटीले उनलाई आज नायक बनाएको हो । धेरैलाई थाहा नहोला, सपूतको सानैबाट हिरो बन्ने सपना थियो । हिरो बन्न काठमाडौं आएपछि उनले केही हदसम्म प्रयास गरेका पनि हुन् । उनले केही अडिसनहरु दिए । केही असिडसनहरुमा उनले भिडियो पनि पठाए । तर, उनले सकारात्मक प्रतिक्रिया भने कतैबाट पाएनन् ।
हिरो बन्ने उनको सपना अधुरै रह्यो । सिने क्षेत्र आफ्नो लागि होइन रहेछ भनेर उनले प्रयास गर्न नै छाडिदिए । बरु कुनै समय पैसा कमाएर एउटा राम्रो सन्देशमूलक चलचित्र बनाइ आफैं हिरो बन्ने सोच लिएर उनी अघि बढे । अन्ततः उनले बिसाएको सपना साकार भएको छ । चलचित्र खेल्ने रहर पूरा भएको छ ।
संगीतबाट छोटो समयमा ठूलो सफलता हासिल गरेकोमा सपूत आफूलाई भाग्यमानी ठान्छन् । अब ठूलो स्क्रिनमा देखिन लागेकोमा उनी मख्ख छन् । आफूले सिर्जना गरेका हरेक गीतबाट चर्चा कमाउने सपूतको यो भिन्न प्रयासले कतिको सफलता पाउनेछ ? त्यो आगामी दिनले बताउने नै छ । उनी आशावादी पनि छन् ।
उनै गायक प्रकाश सपूतसँग फिल्म डेब्यूबारे गरिएको कुराकानीः
– हिरो बन्ने चाहना पहिल्यैदेखि थियो कि अहिले एकाएक उत्पन्न भएको हो ?
हिरो बनेर ठूलो स्क्रिनमा देखिने चाहना त पहिलैबाट थियो । यस क्षेत्रमा पाइला टेकेपछि मलाई यदि कसैले हिरोमा लिएनन् भने पनि म आफैं चलचित्र बनाएर हिरो बन्छु भन्नेसम्म सोच थियो । तर, उमेर र परिस्थितिसँगै रुचि र चाहना पनि परिवर्तन हुँदै जाने रहेछन् । यस क्षेत्रमा कुनै परिचय नै नहुँदा मन दोधारमा थियो । सामान्य सपना थियो । जब काम गर्दै गइयो, तब सपनाको सिमाना पनि सर्दै गयो ।
हामीले बुझ्दाखेरि हिरो भनेको चलचित्रको मुख्य पात्रमात्र हो जस्तो लाग्थ्यो । पुरुष पात्र अथवा नायकहरु, जो हट्टाकट्टा छन् अनि ह्यान्डसम छन्, उनीहरुमात्र हिरो हुन्छन् भन्ने सोचिन्थ्यो । हिरो हुन राजेश हमाल, निखिल उप्रेती वा विराज भट्ट जस्तै हुनुपर्छ भन्ने सोचाइ लिएर हामी हुर्कियौं । पछि विस्तारै सोच परिवर्तन भयो । हिरो भनेको हट्टाकट्टा पुरुषमात्र होइन, एउटा कथा बोकेकी नारी पनि हुँदीरहिछे भन्ने लाग्यो ।
चलचित्रप्रतिको मेरो बुझाइ नै परिवर्तन हुँदै आयो । एक त पहिलाभन्दा माध्यमहरुको विकास पनि भयो । हामीले ससानो माध्यमहरुबाट पनि आफ्नो कथा भन्न पाउने भयौं । सामाजिक सञ्जालको विकास रफ्तारमा भयो । जसले गर्दा पहिला र अहिलेको सोच्ने तरिकामा नै फरक पर्दियो ।
– आफ्नो अहिलेसम्मको यात्रालाई कसरी सम्झनुहुन्छ ?
अहिले म जहाँ छु, त्यहाँ पनि म एकदमै छिटो पुगे जस्तो लाग्छ । सबै कुरा सपना झैं लाग्छ । एउटा सानो गाउँबाट आएको मान्छे म, यति छिटो यति धेरै दर्शकको माया र साथ पाउनु मेरो लागि ठूलो आशीर्वाद हो । आजभन्दा चार वर्ष अगाडि गरेको काम हो, ‘परदेशी २’ । त्यतिखेर म भर्खरै सांगीतिक यात्रातर्फ लम्कँदै थिएँ । ‘बोल माया’, ‘दोहोरी ब्याटल’ जस्ता मेरा सांगीतिक कोसेली भर्खरै बजारमा आएका थिए । म व्यवसायिक हिसाबले त्यति साह्रो चम्किसकेको पनि थिइनँ ।
हामीले बुझ्दाखेरि हिरो भनेको चलचित्रको मुख्य पात्रमात्र हो जस्तो लाग्थ्यो । पुरुष पात्र अथवा नायकहरु, जो हट्टाकट्टा छन् अनि ह्यान्डसम छन्, उनीहरुमात्र हिरो हुन्छन् भन्ने सोचिन्थ्यो । हिरो हुन राजेश हमाल, निखिल उप्रेती वा विराज भट्ट जस्तै हुनुपर्छ भन्ने सोचाइ लिएर हामी हुर्कियौं ।
एक हिसाबले भन्नुपर्दा मेरो हिट गीत गाउने र हिरो बन्ने सपना एकैचोटि पूरा भयो । चलचित्र खेल्नु मेरो सपना थियो । त्यसैले ‘परदेशी २’ गरेपछि मैले चार वर्षसम्म अरु कुनै चलचित्रमा काम गरेको छैन । म यसैलाई पर्खेर बसेको छु । यो मेरो पहिलो चलचित्रमात्र होइन, मेरो सपना पनि हो । रहरैरहरमा एउटा सपना बोकेर गरेको काम पहिला आओस् अनि बल्ल अरु प्रोजेक्ट गरौंला भन्ने सोचेर जतिसुकै ठाउँबाट कुरा आए पनि चार वर्षदेखि म यसैको प्रतीक्षामा छु ।
– भनेपछि तपाईंको लागि यो चलचित्र निकै खास छ ?
मेरो सपनासँग जोडिएकाले मेरो लागि यो चलचित्र एकदमै खास छ । मेरो संवेदना, उत्तेजना, सपना, भावना र सफलतासँग जोडिएकाले गर्दा मेरो लागि यो चलचित्र सबैतिरबाट खासैखास छ । हुन त मेरो लागि मात्र खास भएर भएन । दर्शकलाई पनि खास हुनुप¥यो । तर, म यतिमा ढुक्क छु कि यो चलचित्र दर्शकको लागि पनि खास नै हुनेछ ।
– ‘परदेशी २’मा प्रकाश सपूत नै हुनुपर्ने कारण के थियो ?
चलचित्रले एउटा ठीकठाकको युवा किन विदेश जान्छ र कसरी जञ्जालमा फस्छ अथवा रित्तिन्छ भन्ने एउटा परदेशीको कथा बोकेको छ । पात्रले म जस्तै अलिकति चञ्चले, चुलबुले र विदेशी जीवनको भाव बुझ्न खोज्ने कथा बोकेकाले र शारीरिक रुपमा पनि यतिको केटा भए हुन्छ भन्ने सोचेर होला उहाँहरुले मलाई यस चलचित्रको लागि फिट ठान्नुभयो । परदेशीहरुको भावनासँग म एकदमै गहिरो गरी जोडिएको छु । त्यही भएर पनि हुनसक्छ ।
– यो चलचित्रमा जोडिने अवसर कसरी मिल्यो ?
यो चलचित्रको निर्माता राजेश वंशल र निर्देशक नारायण रायमाझी हुनुहुन्छ । नारायण रायमाझी सर र मेरो कलाकारिताको पृष्ठभूमि मिल्छ । उहाँले गाउँबाट यहाँ आएर लोकभाकाहरु टिप्दैटिप्दै गोर्खा पल्टन र परदेशी जस्तो चलचित्र बनाउनुभयो । पेशाको प्रकृति मिल्ने भएर हुनसक्छ, समयले हामीलाई सहकार्य गर्न जुरायो । यो चलचित्र गर्नुभन्दा अगाडि मैले उहाँसँग ‘बोल माया’ भन्ने गीतमा छोटो सहकार्य गरेको थिएँ । त्यो मेरो आफ्नै सिर्जना थियो । म उहाँलाई जहिल्यै ‘खै त परदेशीपछि के आउँदैछ ?’ यताउता भन्दै जिस्काइरहन्थे । अप्रत्यक्ष रुपमा ‘म पनि छु है’ भन्ने जस्तो भाव व्यक्त गरिरहन्थें । भाव व्यक्त गरे पनि म उहाँको चलचित्रमा हुन्छु भन्नेबारे भने मैले एक प्रतिशत पनि सोचेको थिएनँ ।
उहाँको त के कुरा गर्नु, मैले कसैको पनि चलचित्रमा म हिरो हुन्छु होला भन्ने सोचेको थिएनँ । तीन-चार पटक प्रयास गर्दा पनि असफल भएपछि फिल्मी दुनियाँ मेरो लागि होइन रहेछ भनेर म सांगीतिक क्षेत्रतर्फ सक्रिय भएर लागिरहेको थिएँ । बरु राम्रो-राम्रो सिर्जना ल्याएर, पैसा कमाएर कुनै बेला आफ आफूलाई मिल्ने सानोतिनो कथा बनाएर चलचित्र खेल्छु भन्ने थियो । एक त म गायक । गीत गाउने व्यक्तिलाई कसैले फिल्ममा खेल्न आइज भन्छन् होला भन्ने त झन् एकरत्ति पनि थिएन । न म हिरो जस्तो चट्ट शरीर अनि अनुहार मिलेको नै छु । त्यही भएर मलाई कसैले पनि चलचित्रमा लिँदैनन् भन्नेमा ढुक्क थिएँ ।
तीन-चार पटक प्रयास गर्दा पनि असफल भएपछि फिल्मी दुनियाँ मेरो लागि होइन रहेछ भनेर म सांगीतिक क्षेत्रतर्फ सक्रिय भएर लागिरहेको थिएँ । बरु राम्रो-राम्रो सिर्जना ल्याएर, पैसा कमाएर कुनै बेला आफैं आफूलाई मिल्ने सानोतिनो कथा बनाएर चलचित्र खेल्छु भन्ने थियो ।
एकदिन अचानक नारायण सरले चलचित्र गर्ने त भन्नुभयो । मैले पनि त्यतिकै गरौंला नि भन्दिएँ । मलाई म मेन रोलमा नभएर कुनै सानो रोलमा छु होला जस्तो लागेको थियो । मैले पहिल्यै मेरो प्रोजेक्टमा उहाँसँग सानो सहकार्य गरिसकेकाले बदलामा उहाँले पनि मलाई कुनै गेस्ट रोल अथवा गीत गाउन लिन लाग्नुभएकोे होला भन्ने सोचेको थिएँ वा टीममा बसेर सँगै अगाडि जाऊ न त प्रकाशजी भन्ने पो हो कि जस्तो पनि भान भएको थियो । तर, उहाँले मलाई कथाको विषयवस्तु सुनाएर चलचित्रको मुख्य पात्र नै तपाईं हो भन्नुभयो ।
त्यसवेला मलाई स्क्रिप्टभन्दा बढी तपाईं चलचित्रको मुख्य पात्र हो भनेर भनेको वाक्यले मन र दिमागमा हान्यो । त्यस्तो राम्रो पात्र पाएको मैले नाइँ किन भन्थें र ! त्यसरी चलचित्रमा जोडिएँ । जोडिएपछि थाहा भयो कि यो क्षेत्रबारे बजारमा जस्तो हल्ला थियो, त्यो हैन रहेछ । ठग्छन्, काम लगाएर पैसा दिँदैनन् भन्ने जस्ता धारणा गलत रहेछन् । काम हेरेर पारिश्रमिक दिइँदोेरहेछ भन्ने बुझियो । सायद म राम्रो टीममा परेर पनि होला ।
– हिरो बन्ने सपना पूरा भयो । अझै पनि आफैं चलचित्र बनाउँछु भन्ने मनमा छ कि छैन ? यदि बनाउनुभयो भने कस्तो चलचित्र बनाउनुहुन्छ ?
मैले आफैंले चलचित्र बनाउँदा एउटा राम्रो कथामा बनाउँछु भन्ने थियो । मैले बोल माया, गलबन्दीबाट केही प्रयास गरी पनि सकेको थिएँ । चलचित्रबाट अझ मजाले कथा भन्न पाइन्छ भन्ने थियो । यी सबै चार वर्षअघिका कुरा हुन् ।
कहिलेकाहीं ती चार वर्षअघिका कुरा सम्झेर हाँसो पनि उठ्छ । अहिले केही फरक तरिकाले सोचिन्छ । त्यति बेला मात्र चलचित्र खेल्छु भन्ने थियो, हिरो हुन्छु भन्ने थियो । त्यतिबेला मलाई कसले हिरो लिन्छ होला र ? न म हिरोजस्तो छु भन्ने सोचले पनि आफैं चलचित्र बनाउँछु भन्ने लागेको होला । अहिले केही फरक सोच छ । केही पनि काम गर्दा एउटा राम्रो सन्देश दिन सकूँ जस्तो लाग्छ ।
– चलचित्रलाई लिएर कतिको उत्साहित हुनुहुन्छ ?
एकदमै धेरै । घटस्थापनाको दुई दिनअघि मेरो चलचित्र लाग्दैछ । त्यो दिन मेरो लागि झनै ठूलो चाड हुनेछ । भन्न त नहुने हो, आफ्नो क्षमतामा रमाउनुपर्छ । तर, यसपालि मलाई ऋणै काडेर भए पनि नयाँ कपडा किनाैं, खसी काटौं, घरमा अझ बढी पाहुना बोलाएर खुशीयाली मनाउँ भन्ने छ । भनाइको मतलब म अहिले खुशी नै खुशीको माहोलमा छु । उत्साहित छु ।
मलाई मेरो चलचित्रसँग न अर्को चलचित्र जुँध्न आयो भने के होला भन्ने डर छ, न कसैले नराम्रो भन्ने हुन कि भन्ने चिन्ता न त म गायक मान्छे हिरो बन्दा दर्शकले स्वीकार्नुहोला या नहोला भन्ने चिसो मनमा पसेको छ । मेरो दिमागमा कुनै नकारात्मक सोच नै छैन । रिलिजको अलिकति नजिक पुग्दै गर्दा मुटुको धड्कन बढ्ला । तर, आजको दिनसम्म मलाई ओहो मेरो फिल्म लाग्दैछ, म हिरो हो भन्नेमात्र छ । मलाई केही दिन यसैको मज्जा लिन दिनुस् ।
– दर्शकले गायकीमा जस्तै हिरोमा नस्वीकार्लान् भन्ने डर छैन र ?
साँच्चै भन्नुपर्दा फिटिक्कै छैन । प्रायले सांगीतिक विधाबाट चलचित्रमा पाइला टेकिरहँदा मनमा एउटा डर उत्पन्न हुन्छ भन्नुहुन्छ । मलाई त छैन । किनकि मैले मेरो सांगीतिक यात्रालाई पूर्णविराम लगाएर चलचित्रमा हाम्फालेको हैन । मेरो कलाकारिताको यात्रामा संगीत र सिर्जना सदैव मेरो प्राथमिकतामा नै रहनेछ ।
मलाई मेरो चलचित्रसँग न अर्को चलचित्र जुँध्न आयो भने के होला भन्ने डर छ, न कसैले नराम्रो भन्ने हुन कि भन्ने चिन्ता न त म गायक मान्छे हिरो बन्दा दर्शकले स्वीकार्नुहोला या नहोला भन्ने चिसो मनमा पसेको छ । मेरो दिमागमा कुनै नकारात्मक सोच नै छैन । रिलिजको अलिकति नजिक पुग्दै गर्दा मुटुको धड्कन बढ्ला । तर, आजको दिनसम्म मलाई ओहो मेरो फिल्म लाग्दैछ, म हिरो हो भन्नेमात्र छ ।
मेरो सांगीतिक यात्राको दौरानमा ठूलो स्क्रिनमा पनि देखिउँ न भन्ने सोचले चलचित्र गरेको हो । मैले चलचित्रमै जम्छु भन्ने सोचेको भए दुईतीन वटा स्क्रिप्ट अहिले पनि मेरो घरमा छ । त्यस्तो सोच भए अरु चलचित्र पनि गरिसक्थें होला । विकल्प नभएको पनि हैन । चलचित्र गर्ने रहर थियो, गरियो पनि । त्यही भएर पहिलो चलचित्रलाई पर्याप्त समय दिएर यसैलाई राम्रो बनाउँ भन्ने मेरो सोच हो । टीम राम्रो छ । चलचित्रको कथा राम्रो छ । कथावस्तु आफूसँग कहींकतै मिल्ने छ । अहिलेलाई दर्शकसामु यो कथा पुर्याउनु छ । त्यति हो ।
– चलचित्रको सिक्वेल आउँदा दर्शकले पहिलो भागसँग दाँजेर हेर्नुहुन्छ । कतिको तयार हुनुहुन्छ यो कुरामा ?
यो चाहिँ अलिकति सोच्नुपर्ने विषय हो । भाग १ हेर्नुभएका दर्शकहरुले कथावस्तुदेखि कलाकारको अभिनयसम्म ‘परदेशी’ सँग तुलना गरेर हेर्नुहुन्छ । यो कुरामा भने अलिकति सजग रहन जरुरी छ । मेहनत स्क्रिनमा डबल गर्नुपर्छ ।
सुरुसुरुमा यो विषय मेरो दिमागमा त्यति आएन । तर, पछि जब म मुख्य पात्र भएका पोस्टरहरु आए, तब कति दर्शकहरुले यो सिक्वेलमा पनि प्रशान्त दाइ नै हुनुपर्ने भन्ने अभिव्यक्ति दिनुभयो । त्यो देखेपछि मलाई उहाँ हुनुभएको भए सजिलो हुन्थ्यो होला अथवा दर्शकलाई अझै आत्मीय महसुस हुन्थ्यो होला भन्ने भान भयो । परदेशीकै सिक्वेल भएकाले यसमा प्रशान्त दाइ हुन जरुरी थियो होला भन्ने पनि मनमा आयो । नयाँ मान्छे आउँदा केही हदसम्म तुलना हुँदोरहेछ भन्ने भयो । सम्भवतः दर्शकका ठाउँमा बसेर हेर्ने हो भने मलाई पनि परदेशीको सिक्वेल आउँदैछ है भन्ने सुन्दा यसमा पनि प्रशान्त दाइ नै हुनुहुन्छ होला अथवा उहाँकै कथा होला भन्ने लाग्थ्यो होला ।
व्यक्तिगत जीवन आफ्नो ठाउँमा छ । तर, कलाकारिता जगतमा उहाँले नेपालीपनको एउटा पहिचान बनाइ दिनुभएको छ । उहाँले राम्रा–राम्रा चलचित्रहरु दिनुभएको छ । त्यही भएर उहाँले जतिको काम गर्न मलाई अझै धेरै समय लाग्छ । तर, म यही भन्न चाहन्छु कि ‘परदेशी २’ को कथा ‘परदेशी’को भन्दा केही भिन्न छ । यसले अलि अर्कै कथा बोल्छ । अर्कै पृष्ठभूमि र पात्रलाई नेतृत्व गर्छ ।
अहिलको हाम्रो माहोल कस्तो छ भने यहाँ चलचित्र हिट भए पनि वा फ्लप भए पनि त्यसको श्रेय वा दोष मुख्य पात्र वा हिरोलाई नै जान्छ । म यो दुवै वटा दोषको लागि तयार छु । व्यवसायिक हिसाबमा सफल भयो भने सान अर्कै हुने भयो । तर, यदि असफल भयो भने पनि त्यहाँ समीक्षा गर्ने ठाउँहरु हुन्छन् । त्यसलाई स्वीकार्नेछु ।
‘परदेशी २’को कथामा म आफू भिजेकाले र मेकिङदेखि देखेकाले सम्भवतः यो पात्रलाई प्रशान्त दाइभन्दा मलाई नै अथवा म जस्तो अरु कुनै पात्रलाई सुहाउँछ भन्ने मलाई लागेको छ । अब दर्शकलाई कस्तो लाग्छ भन्ने हो ।
– चलचित्रले सोचे जस्तो सफलता पाएन भने तपाईंको यात्रा के हुन्छ ?
मलाई साँच्चै भन्ने हो भने यो मेरो पहिलो चलचित्र भए तापनि मनमा के होला भन्ने डर नै छैन । मेरो मनमा त बबल्स फुटिरहेको छ । यस्तो राम्रो टीमसँग यति राम्रो कथा लिएर म ठूलो स्क्रिनमा आउँदैछु भन्ने सोचले नै मलाई मख्ख परिरहेको छ । त्यसैले भोलि के होला भन्ने तनाव नै छैन मनमा । न अरु कुनै कोणबाट नै केही सोचेको छु । मात्र ‘यो पललाई जिले भाइ’ भन्ने छ ।
– फेरि अरु चलचित्र गर्नुहुन्छ ?
अहिलको समयमा चलचित्रलाई हेर्ने मेरो दृष्टिकोण केही फरक छ । एउटा चलचित्र कसरी हिट अथवा फ्लप हुन्छ र चलचित्र नचल्दा कोको जिम्मेवार हो भन्ने जस्ता विभिन्न विषयहरुमा मेरो आफ्नै बुझाइहरु छन् । मेरो व्यक्तिगत सफलताको मापन अर्कै छ ।
सर्वप्रथम त व्यवसायिक हिसाबले मैले यो चलचित्रलाई त्यस्तो गह्रौं हिसाबले हेरेकै छैन । मैले आफ्नो तरिकाले राम्रो काम गरेको छु । मलाई तपाईहरु जस्तो एकदुई जनाले आएर आहा तिम्रो कस्तो राम्रो प्रस्तुतिमात्र भन्दिनु भयो भने पनि म खुशी हुन्छु । स्वार्थी भएर भनेको हैन । तर, मेरो चलचित्र फ्लप नै भए पनि थोरै जनाले आएर मेरो कामको तारिफ गर्दिनु भयो भने म चाहिँ खुशी नै हुन्छु ।
अहिलको हाम्रो माहोल कस्तो छ भने यहाँ चलचित्र हिट भए पनि वा फ्लप भए पनि त्यसको श्रेय वा दोष मुख्य पात्र वा हिरोलाई नै जान्छ । म यो दुवै वटा दोषको लागि तयार छु । व्यवसायिक हिसाबमा सफल भयो भने सान अर्कै हुने भयो । तर, यदि असफल भयो भने पनि त्यहाँ समीक्षा गर्ने ठाउँहरु हुन्छन् । त्यसलाई स्वीकार्नेछु ।
चलचित्र फ्लप नै भयो भने पनि आगामी दिनमा यो चलचित्र अझै केही भिन्न भएर आउला । म पनि पहिला मैले सोचे जस्तै आफैं केही नयाँ सिर्जना लिएर आउँला । तर, मेरो चलचित्रको यात्रामा नै चाहिँ पूर्णविराम नलाग्ला । चलचित्र राम्रो भयो भने त जोशले फेरि अरु दुईतीन वटा चलचित्र गरिएला ।
– तपाईं त आफैं पनि सर्जक । चलचित्रको कथावस्तु र निर्देशनमा केही त्रुटि पाउनुभयो ?
त्यस्तो केही त्रुटि छैन । सर्जक र मेकरहरुको आफ्नै खालका दृष्टिकोण हुन्छन् । म निर्देशक तथा सर्जक भएर गीतमा कथा भरिरहेको हुन्छु । चलचित्रमा कथा भर्नु भनेको अर्कै कुरा हो । उहाँहरुको आत्मविश्वास राम्रो छ । यो चार वर्षअघिको कथा भए पनि यस चलचित्रको उठान राम्रो छ । समय सँगै बगेको कथा छ ।
हो, यो चार वर्षअघि बनेको चलचित्र हो । त्यसैले मेकिङको हिसाबमा केही पुरानापन झल्किएला । तर, कतिपय कथा त्यस्ता हुन्छन्, जुन कहिल्यै पुराना हुँदैनन् । मुनामदन सुन्दा हामीलाई अहिले पनि ताजा लाग्छ । कतिपय कथा आफैंमा पूर्ण हुन्छन् । चाहे त्यसलाई रंगीन बनाएर देखाउनुस् वा ब्ल्याक एण्ड ह्वाइटमा देखाउनुस् । ‘परदेशी २’ लाई तपाईंले आफ्नो सम्झेर हेर्नुभयो भने यसमा भएका दोष पनि माफी हुन्छन् जस्तो लाग्छ ।
अरू भन्या त्यस्तै हाे… नेपाल प्रेसकाे साउन्ड क्वालिटी चाहिँ झुरै रहेछ…. इन्टरभ्यू लिने म्यामको त थाहा भएन प्रकाश सपुतकाे स्वर चाहिँ फिटिक्कै भएन है….