एमाले लुम्बिनीको पहिलो बैठकः १२ वटै जिल्लाको अधिवेशन पुसभित्र गर्ने निर्णय – Nepal Press

एमाले लुम्बिनीको पहिलो बैठकः १२ वटै जिल्लाको अधिवेशन पुसभित्र गर्ने निर्णय

रुपन्देही । नेकपा एमालेले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाको अधिवेशन पुसभित्र गर्ने भएको छ । बिहीबार बुटवलमा बसेको प्रदेश कमिटीको पहिलो पूर्ण बैठकले रुकुमपूर्वको मंसिरमा र अन्य ११ जिल्लामा पुसभित्र अधिवेशन गर्ने निर्णय गरेको हो ।

भदौ १६ गते प्रदेश कमिटीको अधिवेशनबाट आएको नयाँ नेतृत्वको पहिलो पूर्ण बैठक बिहीबार बसेको हो । कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा बसेको सो बैठकमा प्रमुख अतिथि एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले अहिलेको कमिटीले आगामी संघ, प्रदेश र स्थानीय तहको चुनाव गराउने र पार्टीको ११ औं महाधिवेशन गराउने भएकाले विशेष जिम्मेवारीका साथ काम गर्नुपर्ने बताइन् । उनले अधिवेशनमा प्रतिस्पर्धालाई स्वाभाविक ठानेर प्रतिस्पर्धाबाट उत्पन्न मनोविज्ञानको अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउनुपर्ने गरी योजना बनाउन निर्देशन दिइन् ।

‘निर्वाचनका बेला प्रतिस्पर्धा स्वभाविक हो भन्ने वातावरण गराउने हो, विधानको प्रयोग गराउनुस् । व्यक्तिलाई केन्द्र मानेर विधान नमिच्नुस् । अवैधानिक कमिटी सूचना पाएको अर्को दिन भंग गरिनेछ । हरेकसँग विधान, र नियमावलीका दस्तावेज हुनुपर्‍यो’, अर्यालले भनिन् ।

सचिव अर्यालले जनतामा एमालेले भनेजस्तो, सोचेजस्तो काम गरेन भन्ने गुनासो बढेको विषयलाई ध्यान दिँदै यसलाई व्यवहारबाटै जवाफ दिन सक्नुपर्ने बताइन् ।

उनले थपिन्,‘कम्युनिष्ट पार्टीका कार्यकर्ता नेताको आचरण ठीक हुनुपर्दैन ? कमिटी चलाएरमात्र नेता भइँदैन । साँझ फोन गरेर हुन्छ ? वैचारिक हिसाबले हामी स्पष्ट हुनुपर्छ । ज्ञान, विचार भएन भने के हुन्छ ? विचारका कारण हामीलाई काम गर्ने जाँगर आउँछ । राजनीति व्यापार हैन, यो सेवा हो । मार्क्सवाद, जनताको वहुदलीय जनवाद , राजनीतिक कार्यदिशा के हो जान्नुपर्‍यो ।’

बैठकले अधिवेशनको समीक्षा गर्दै सचिवालय गठन, विभागीय जिम्मेवारी बाँडफाँट, जनसंगठनको भेला, पार्टी इतिहास लेखन र स्कुल विभाग संचालन तथा कार्यालय व्यवस्थापनका विषयमा टुंगो लगाएको प्रचार विभाग प्रमुख डीआर घिमिरेले जानकारी दिए ।

लुम्बिनीमा सबै भन्दा पहिले अधिवेशन भएकाले जिल्लाहरूको पनि पहिले अधिवेशन सक्नेगरी योजना बनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर