धराशायी बन्दै नेपाली फुटबलः स्टार खेलाडी विमल घर्तीमगर पनि विदेश पलायन
काठमाडौं । फुटबलरहरु विदेश पलायन हुने क्रममा स्टार स्ट्राइकर विमल घर्तीमगरको पनि नाम जोडिएको छ । राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी विमलको यो पलायन नेपाली फुटबलकै लागि गम्भीर धक्का हो ।
नेपाली फुटबलको अधोगतिबाट निरास विमल सुरक्षित भविष्यको खोजीमा अस्ट्रेलियातिर लागेका हुन् । जानुअघि उनले नेपाली राष्ट्रिय टीमका प्रशिक्षकलाई जानकारी गराएका थिए र आफूलाई राष्ट्रिय टीममा समावेश नगर्न आग्रह गरेका थिए । उनी अस्ट्रेलियामै सेटल हुने गरी गएको स्रोतले बताएको छ । नेपाली फुटबलको वातावरण सुधार भए कुनै पनि दिन आफू फर्किन तयार रहेको उनले निकटस्थसँग बताएका छन् ।
वर्षमा ४ महिना मात्र लिग हुने र ८ महिनासम्म खाली बस्नुपर्ने भएपछि नेपाली फुटबलरहरु हतोत्साही बन्दै गएका छन् । पछिल्लो समयमा करिब तीन दर्जन फुटबलरहरु अस्ट्रेलिया पलायन भइसकेका छन् । दिनेश राजवंशी, अभिषेक रिजाल, हेमन्त थापामगर, निशान खड्का, रवि पासनजस्ता चर्चित खेलाडीहरु पलायन हुँदा नेपाली फुटबलमा गम्भीर विचलन पैदा भएको छ ।
पलायन भएका खेलाडीमध्ये विमल सबैभन्दा हाइप्रोफाइल नाम हुन् । उनको अनुपस्थितिले नेपालको टीम सेटमा ठूलै रिक्तता पैदा हुनेछ । विमल नेपाली राष्ट्रिय टीमका प्रमुख फरवार्डका रुपमा रहेका थिए । उनी सबैभन्दा कम उमेरमा नेपालको राष्ट्रिय टीमबाट डेब्यू गर्ने खेलाडी हुन् । साथै, राष्ट्रिय टीमबाट सबैभन्दा कम उमेरमा गोल गर्ने किर्तिमान पनि उनको नाममा छ । विमलले १४ वर्षको उमेरमा डेब्यू गरेका थिए भने १५ वर्षमा पहिलो गोल गरेका थिए । राष्ट्रिय टीमबाट अहिलेसम्म उनले ९ गोल गरेका छन् ।
अस्ट्रेलिया जानुपूर्व विमलले ललितपुर सिटी एफसीसँगका सम्झौता रद्ध गरेका छन् । नेपाल सुपर लिग (एनएसएल) का लागि ललितपुर सिटी एफसीका मार्की खेलाडी बन्ने तयारीमा थिए । अस्ट्रेलिया जाने भएपछि उनले नाम फिर्ता लिएका थिए ।
‘मार्की खेलाडीको रूपमा उहाँ (विमल) सँग कुराकानी भइराखेको थियो, अहिले उहाँले अस्ट्रेलिया जाने भनेपछि हामीले अनन्त तामाङलाई अनुबन्ध गरेका छौं,’ ललितपुर सिटी एफसीका एक प्रतिनिधिले भने ।
सन् २०१२ को मेमा विमलले एएफसी यू-१४ फुटबल फेस्टिबलमा नेपालको अन्डर १४ टीमबाट खेल्दै ८ गोल गरेका थिए, जसमा श्रीलंका अन्डर १४ विरुद्ध गरेको ह्याट्रिक पनि समावेश थियो । त्यहीँबाट उनलाई राष्ट्रिय फुटबलका भविष्यको रूपमा हेर्न थालियो ।
सन् २०१२ को २० सेप्टेम्बरमा उनले नेपाली राष्ट्रिय टीमबाट डेब्यू गर्दै बंगलादेशविरुद्ध खेलेका थिए । सन् २०१३ मा भएको साफ च्याम्पियनसीपमा पाकिस्तानविरुद्ध अन्तिम समयमा प्रतिस्थापन खेलाडीको रुपमा आएर गोल गरेपछि विमलको चर्चा चुलिएको थियो । त्यसपछि उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए ।
विमलले गत भदौ ३ गते आफ्नी प्रेमिका लिना प्रधानसँग विवाह गरेका थिए । लिना हाल वैदेशिक रोजगारीका लागि यूएईमा छिन् ।
तस्बिर स्रोत : गोल नेपाल डट कम
कति दुख लाग्दो कुरा