उसुको म्यानेजर बनेर एसियाड गएका दीपक श्रेष्ठ र युवराज लामाबीच फेसबुकमा जुहारी – Nepal Press

उसुको म्यानेजर बनेर एसियाड गएका दीपक श्रेष्ठ र युवराज लामाबीच फेसबुकमा जुहारी

काठमाडौं। चीनमा जारी १९ औँ एसियाली खेलकुद(एसियाड)मा नेपालले पदक जित्न नसकेपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र पूर्व अध्यक्ष तथा दक्षिण एसियाली खेलकुदका चार स्वर्ण पदक विजेता दीपक विष्ट चर्चामा छन्।

उनीहरु दुवै राष्ट्रिय खेलकुद परिषद्(राखेप)का कर्मचारी पनि हुन्। श्रेष्ठ कराँते प्रशिक्षक हुन् भने विष्ट तेक्वान्दो प्रशिक्षक। तर श्रेष्ठ उसु र विष्ट गल्फको टिम म्यानेजर बनेर एसियाडमा पुगेपछि उनीहरुको आलोचना भइरहेको छ।

अझ एसियाडमा उसुको टिम म्यानेजर बनेर गएका श्रेष्ठले कराँतेको टिम अफिसियलका रुपमा एक्रिडिएसन कार्ड सार्वजनिक गरेपछि यसले विवाद थप उत्कर्षमा पुर्याएको छ।

नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामाले सार्वजनिक रुपमै घुमाउरो पारामा श्रेष्ठले बदमासी गरेको उल्लेख गरेका छन्। त्यसको जवाफ श्रेष्ठले पनि सार्वजनिक रुपमै फर्काएका छन्।

उनीहरुबीच फेसबुकमा बिहीबारदेखि जुहारी चलिरहेको छ। लामाले जारी एसियाडमा श्रेष्ठ कराँतेको कुनैपनि भूमिकामा नरहेको उल्लेख गर्दै सार्वजनिक भएको एक्रिडिएसन कार्डप्रति आश्चर्यता व्यक्त गरेका छन्।

लामाले लेखेका छन्, ‘ दिपक श्रेष्ठ करातेको एक्रिडिएसन देखियो तर नेपाल कराते महासंघलाई केही थाहा छैन । हिजो धेरै मिडियामा उशुको मेनेजर भनेर खबर देखियो । राखेप कर्माचारी नाममा जे गरे पनि छुट छ भन्ने मान्यतालाई खारेज गर्दछु । यस बिषयमा छलफल बहस जरुरी छ । मन्त्रिपरिषद् र संसद सम्म पुराउने जिम्मा मेरो । कराँते सम्पूर्ण टिम अहिले इन्डोनेसिया प्रशिक्षण गर्दै छन चाइना कोही पुगेको छैन ।’

उनले स्टाटससहित श्रेष्ठको एक्रिडिएसन कार्ड, प्रतियोगितामा सहभागी हुन गएको नेपाली टोलीको फोटो र राखेपले श्रेष्ठलाई दिएको उसुको जिम्मेवारी स्पष्ट पार्ने कागजात पनि राखेका छन्।

त्यसपछि श्रेष्ठले जवाफ फर्काएका छन्। उनको स्टाटस छ,‘आदरणीय व्यक्ति राखेप पुर्व सदस्य सचिव तथा नेपाल कराते महासंघका वर्तमान अध्यक्ष युवराज लामा गुरुको फेसबुकमा मेरो बारे तथ्यहिन अभिव्यक्ति देखेर अचम्म लाग्यो,एसियाली खेलकुदमा कुन हैसियतले म सहभागी भएको छु, भन्ने यो कार्डले प्रस्ट पारेको हुनुपर्दछ। म कराते खेलाडी,कर्मचारी प्रशिक्षक, राखेपको बोर्डले गरेको निर्णयलाई मैले नकार्न र मान्दिन भन्ने अधिकार मलाई छैन । कागले कान लग्यो भन्दा आफ्नो कान छाम्ने की कागको पछि पछि दौडने रु कस्तो बिडम्बना वहा लाई के भन्नु अब।’

श्रेष्ठले एक्रिडिएसन कार्ड त्यसमा समावेश गरेका छन्। जुहारी यत्तिमै सीमित हुँदैन।

लामाले उक्त स्टाटसमा प्रतिक्रिया दिन्छन्,‘ तिमी राखेपको तर्फबाट गएको होला तर नेपाल कराते ओफ्फिसियल होइन र हामीलाई जानकारी छैन तिम्रो आफ्नो इच्छा गर । मैले धेरै मिडियामा आएको बियय हो,सभार गरेको । ’

युवराज लामाले १९ औँ एसियाली खेलकुदमा पठाइएको कराँते खेलाडी, प्रशिक्षक र म्यानेजरको नाम उल्लेख गरेर अर्को स्टाटस लेखेका छन् । कराँते महासंघले दिपकलाई करातेको कुनैपनि भूमिका नदिएको उक्त स्टाटसमार्फत उनले दावी गरेका छन्।

उनले सुरुमा खेलाडी, म्यानेजर र प्रशिक्षकको लामो लिस्ट पठाएको र पछि सहभागी हुने मात्र खेलाडी, म्यानेजर र प्रशिक्षकको लिस्ट पठाएको उल्लेख गरेका छन्।

दीपक श्रेष्ठले अर्को स्टाटस लेखेका छन्। फेरि एक्रिडिएसन कार्ड राख्दै उनी लेख्छन्, ‘यो कार्ड नेपाल कराते महासंघको सिफारिसमा नै बनेको हो धेरै लाई भ्रममा नपार्नु गुरु हजुरलाई याद आयो होला तर हान्जाउ जाने निर्णय चाहि राखेपको हो।’ दीपकको यो स्टाटसमा लामाले कमेन्ट गरेका छन्। उनले प्रश्न गरेका छन्, ‘कसले गर्यो सिफारिस ?

रिप्लाई गर्दै श्रेष्ठले विर्सनु भयो भन्दै प्रश्न गर्छन्। लामाले आफुले श्रेष्ठको नाममा हस्ताक्षर नगरेको दावी गर्छन्। श्रेष्ठले लामाकै निर्देशनमा महासचिव दावा गुरुङले लामो लिस्टमा आफ्नो नाम समावेश गरेको जिकिर गर्छन्। लामाले त्यसपछि जवाफ फर्काएका छैनन्।

उनीहरुको विवादबाट के चाहिँ यकिन गर्न सकिन्छ भने श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्ले उसु म्यानेजरको जिम्मेवारी दिएर पठाएपनि उनीसँग कराँते अफिसियलका रुपमा एक्रिडिएसन कार्ड रहेको देखिन्छ।

उनीसँग यो कार्ड रहेपनि हाल एसियाड खेल्न पुगेको कराँते टोलीसँग उनको कुनै सम्पर्क र सम्बन्ध नरहेको बताइन्छ। तर उसुको टिम म्यानेजर बनेका श्रेष्ठसँग कसरी कराँतेको एक्रिडिएसन कार्ड बन्यो भन्ने छानबिनको विषय बनेको छ। हाल एसियाड खेल्न पुगेको कराँते टोलीका अफिसियलले समेत यसमा आश्चर्यता व्यक्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *