एमाले कोशीको सचिवमा तीनजनाको दाबी, उपसचिवमा को-को ?
विराटनगर । एमाले कोशी प्रदेशको नयाँ नेतृत्वका लागि दाबेदारहरू क्रमश: खुल्न थालेका छन् । बिहीबारसम्म चाहना भएर पनि बोल्न नचाहेकाहरू शुक्रबारबाट भने मत माग्न थालेका हुन् ।
सचिवमा तीनजनाले आकांक्षा देखाएका छन् । पाँचथरका राजकुमार भण्डारी र तेह्रथुमका लक्ष्मण तिवारीले भोट माग्न थालेका छन् । वर्तमान उपसचिव शैलेसले पनि दाबी गरेका छन् । भण्डारीलाई नेतृत्वको ‘ग्रीन सिग्नल’ छ । उनी घनश्याम खतिवडाको प्यानलबाट तयारीमा जुटेका हुन् । यद्यपि नेताहरूले तेह्रथुमका लक्ष्मण तिवारीलाई उपसचिव बनाएर सर्वसम्मतको प्रयास पनि गरिरहेको स्रोतको भनाइ छ ।
कोशी प्रदेश सरकारका पूर्वउद्योग पर्यटन मन्त्री भइसकेका तिवारीले पनि सचिवमा दाबी रहेको बताए ।
उपसचिवका लागि प्रदेशसभाका पूर्वसदस्य विमल कार्की, बेलका नगरपालिकाका पूर्वमेयर दुर्गा थापा, त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राई, राष्ट्रियसभाका पूर्वसदस्य मोरङका खेम नेपाली, सत्यनारायण चौधरी, नेतृ विमला घिमिरे र धना तामाङल समेत इच्छा जाहेर गरेका छन् । धना अहिले पनि उपसचिव छन् । यस्तै झापाबाट सुमित्रा भण्डारी र वसन्त बानियाँ लगायतले पनि उप सचिवको दाबी गरेका छन् ।
अध्यक्षका लागि एमाले केन्द्रीय सदस्य विनोद ढकाल, वर्तमान अध्यक्ष तुलसीप्रसाद न्यौपाने, उपाध्यक्ष टीकाराम चेम्जोङ्ग र घनश्याम खतिवडा दाबेदारका रूपमा छन् । अन्तिममा खतिवडा र ढकालबीच प्रतिस्पर्धा हुने सम्भावना छ । हेडक्वार्टरले भने खतिवडाको नाममा सहमति गराउने प्रयास गरिरहेको छ ।