हिलटेकविरुद्ध चेम्बरको पनि उजुरी – Nepal Press

हिलटेकविरुद्ध चेम्बरको पनि उजुरी

काठमाडौं । हिलटेकविरुद्ध नेपाल चेम्बर अफ कमर्सले पनि उजुरी हालेको छ । उद्योग विभागलाई समेत गुमराहमा राखी विश्वव्यापी प्रचलनमा रहेको डबल वाल कोरोगेटेड पाइपको डिजाइन दर्ता गरेको हिलटेक प्लाष्टिक एण्ड पाइपविरुद्ध उक्त डिजाइन दर्ता खारेजीको माग गर्दै चेम्बरले उजुरी गरेको हो ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लको हस्ताक्षरसहितको उजुरीमा विश्वव्यापी प्रचलनमा रहेको डिजाइन कुनै एक कम्पनीको नाममा दर्ता गर्दा एकलौटी अधिकार एउटामात्र कम्पनीको रहने भएकाले अन्य उद्योगहरु धराशायी हुने परिस्थिति सृजना भएकाले उक्त डिजाइन दर्ता बदर हुनुपर्ने चेम्बरको अवधारणा रहेको उल्लेख गरिएको छ ।

नेपाललगायत विश्वका अधिकांश मुलुकले अंगीकार गर्दै आएको विभिन्न सन्धि सम्झौताका आधारमा समेत हिलटेक प्लाष्टिक एण्ड पाइपले दर्ता गराएको भनिएको डिजाइन नयाँ तथा मौलिक नभई मित्रराष्ट्र चीनको कम्पनीले नेपाल, भारतलगायतका विभिन्न मुलुकमा बिक्री गरेको मेशिन तथा उपकरणबाट उत्पादन गरिएको पाइपको डिजाइन भएकाले सो डिजाइन नयाँ तथा मौलिक नभएकोले दर्ता गर्न नमिल्ने चेम्बरको दाबी छ ।

पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ ले स्पष्ट रुपमा डिजाइन हुन आफ्नो मौलिक आविष्कार हुनुपर्छ भनेको छ । अरुले बनाइसकेको डिजाइन कसरी मौलिक आविष्कारको रुपमा दर्ता भयो ? २०१३ मा परिवर्तन भएको भारतीय मापदण्ड र त्यसैलाई आधार बनाएर तयार गरिएको नेपाल गुणस्तर मापदण्डले तोकेका विषयहरुलाई समेत डिजाइनको रुपमा दर्ता गरिएको छ ।

‘संसारभर प्रचलनमा रहेको डिजाइनलाई आफ्नो मौलिक आविष्कार भनेर दर्ता गर्न कुनै हालतमा मिल्दैन । प्रविधि बाहिरबाट भित्र्याउने, अनि सोही प्रविधिबाट उत्पादन भएको उत्पादनलाई आफ्नो डिजाइन भनी दर्ता गर्ने ? यो कस्तो किसिमको नैतिकता हो ? डिजाइन दर्ता गर्नेको नैतिकता भएन’, अध्यक्ष मल्लले भने, ‘तर, उद्योग विभागले हेर्नुपर्दैन ? यस विषयमा उद्योग विभागबाट ठूलो गल्ती भएको देखिन्छ । हामीले यस विषयमा गम्भीर आपत्ति जनाउँदै उद्योग विभागमा नेपाल चेम्बर अफ कर्मसको तर्फबाट उजुरी समेत दिइसकेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर