एमाले कोशीको अधिवेशनः बन्द सत्र सञ्चालन गर्न रघुवीर महासेठको अध्यक्षतामा ११ सदस्यीय अध्यक्षमण्डल
विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनको बन्द सत्र सुरु गर्ने तयारी भएको छ । भूगोल र जनसङ्गठनबाट आएका प्रतिनिधिहरू अधिवेशन स्थलमा भेला भएका छन् ।
साँझ ६ बजेबाट बन्द सत्र सुरु गर्ने तयारी भएको एमाले कोशी प्रदेशका उपसचिव शैलेश लामाले बताए । एमाले पार्टी सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठको अध्यक्षतामा ११ सदस्यीय अध्यक्षमण्डल बनाउने तयारी भएको उनले जानकारी दिए ।
बन्द सत्रको अध्यक्षमण्डलमा स्थायी कमिटी सदस्य शेरधन राई, हिक्मत कार्की, राजेन्द्र गौतम, अग्नि खरेल, डा. शिवमाया तुम्बाहाम्फेलगायतका नेताहरू रहनेछन् ।
दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन गर्दै उनले सर्वसम्मत नेतृत्व चयनमा जोड दिएका थिए ।
यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, महासचिव शङ्कर पोख्रेलले पनि सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । नेताहरूले निर्देशन दिए पनि कोशीमा चुनाव हुने देखिएको छ ।
अध्यक्षका लागि अहिले विनोद ढकाल र घनश्याम खतिवडा मुख्य प्रतिस्पर्धी देखिएका छन् । सचिव र उपसचिवमा समेत आकाङ्क्षी धेरै हुँदा आज १० बजेसम्म बन्द सत्र चलेर बिहान सवेरै बन्द सत्र सुरु गर्ने तयारी रहेको बुझिएको छ ।