दलित जनप्रतिनिधिको कथा- घरमा लोग्नेको कुटाइ खाँदै गाउँका अरु महिला जोगाउँदै – Nepal Press

दलित जनप्रतिनिधिको कथा- घरमा लोग्नेको कुटाइ खाँदै गाउँका अरु महिला जोगाउँदै

चितवन । उनको सार्वजनिक जीवनको सुरुवातको एक साता पछिको दिन थियो त्यो । घरमा छोरी, ज्वाइँ आइपुगेका थिए । भान्छामा मासु पाकेको थियो । पाहुनासहित मासुभात खाने तयारी हुँदै थियो । वर्ष दिनअघि जेठको १२ गते । बेलुकाको करिब साढे ७ जति भएको थियो बस्तीभित्रबाट कोही चिच्यायो, गीतालाई लोग्नेले मार्यो ।

भर्खरै निर्वाचित जनप्रतिनिधि ग्यायन्ती पासवान । गाउँको जिम्मेवारी वडा सदस्यमा निर्वाचित मतबाट पाएकी महिला । भोट माग्न जाने समयअघि त उनले अनुहारलाई जसोतसो जोगाएकी थिइन् । निर्वाचित भएकै दिन अर्थात् जेठ ६ गते भने आफ्नै लोग्नेबाट जोगाउन सकिनन् ।

बेलुका विजयीको माला अबिरसहित उत्सव मनाएर घर फर्किएकी उनलाई कसको मोटरसाइकलमा हिँडिस् भनेर लोग्नेले निर्घात कुटेको कारण सुन्निएको अनुहारमा अझ राम्रोसँग घाउ निको भएको थिएन ।

कोही चिच्याएको सुनेर कुद्दै पुगिन् गीताको घर । रगतको आहालमा थिइन् गीता । कसैले उनलाई छोएको थिएन । ग्यायन्ती पुगेर एउटा टालो खोजिन्, लोग्नेले बाहिर निकालिदिएको पाठेघर बल्ल भित्र घुसाइन् ।

कसैले एम्बुलेन्स बोलाइदियो । एम्बुलेन्स कुरुन्जेल प्रहरीलाई उनैले खबर गरिन् र लोग्ने रामचन्द्र माझीलाई प्रहरीको जिम्मा लगाइदिइन् । अनि गीतालाई लिएर भरतपुर अस्पताल ल्याइन् । गोजीमा केही दिनअघि ज्याला गरेर कमाएको चार हजार रुपैयाँ थियो । एम्बुलेन्स भाडा, औषधि गर्दा सबै पैसा सकियो ।

‘गीताको देवर देउरानी आएपनि उनीहरुसँग पैसा थिएन, अरुले खाएर छोडेको बोतलको पानी खाँदै बस्दै गरेर रात कटाएँ, उनले सम्झिइन्, ‘भोलिपल्ट अस्पताल आएर वडाध्यक्षले ५ सय दिएपछि खाना खाएँ ।’

रक्सीको मातमा यौन सम्पर्क गर्न जबरजस्ती गर्दा नमानेकी ३५ वर्षकी गीताले लोग्नेले यौनाङ्गमा हात छिराएर अमानवीय यातना दिएको कारण १६ जेठ २०७९ मा उपचारकै क्रममा देह त्याग गरिन् । वडा सदस्य निर्वाचित भएपछि पनि गीताकै झैँ कुटाइ खेप्दै आएकी ग्यायन्तीको भने गाउँका झगडा, घरका विवाद जिम्मेवारी दिनदिनै थपिँदो छ ।

चितवनको खैरहनी नगरपालिका १० की वडा सदस्य हुन् उनी । ३६ वर्षकी ग्यायन्तीको ३ छोरी र १ छोरा छन् । १५ वर्षमै विहे भएकी उनले पढ्न पाइनन् । लोग्नेले पहिलो श्रीमती बिहे गरेको १२ वर्षसम्म पनि सन्तान नभएपछि उनीसँग विवाह गरेका थिए ।

विहेपछि उनको तर्फमात्रै होइन जेठीतर्फको पनि सन्तान भए । तर, ग्यायन्ती लोग्नेको घर गएकी थिइनन् । माइती नजिकै सानो झुपडी हालेर बसेकी थिइन् । उनको मुख्य काम थियो ज्याला मजदुरी, सुत्केरी स्याहार र भोज, पाटीहरुमा भाँडा माझ्न जाने ।

‘वडा सदस्य भएर पनि भाँडा माझ्न सुत्केरी स्याहार्न जान्छु’, ग्यायन्ती भन्छिन्, ‘लोग्नेले पैसा दिँदैन, छोराछोरी पढाउनु छ । काम गर्न गए दिनको १५ सय आउँछ । त्यसमा २ सय थपिदियो भयो १ बोरा साबित्री चामल आउँछ । त्यसैले मलाई काम गर्न जान लाज लाग्दैन ।’

उनका श्रीमान अहिले पनि ग्यायन्तीसँग छैनन् । उनी काठमाडौँ बस्छन् । तर, उनसँग सम्पर्क गर्दैनन् । फोन सम्पर्क नगर्ने भएपछि केही महिनाअघि काठमाडौँ जाँदा उनले पत्ता लगाइछन् उनका श्रीमानले त अर्को विहे गरिसकेछन् ।

दिदी तथा दाइहरुको सहयोगमा प्रहरीको रोहबर गरेर महिनाको १० हजार रुपैयाँ दिने भने पनि उनलाई ३ महिनासम्म पनि श्रीमानले पैसा दिएका थिएनन् । ‘१० हजार माग्न हजारचोटी बिन्ती गर्नुपर्छ, सम्बन्ध बिच्छेद गर्न पनि त्योसँग लिनु केही छैन’, उनी भन्छिन्, ‘सँधै आँखा मात्रै लगाउने श्रीमानसँग सँगै बस्न पनि सक्दिनँ ।’

आफ्नो समस्या बोकेर पनि गाउँकै नेतृत्व गरिरहेकी छिन् ग्यायन्ती । उनलाई आफू गरिब छु भन्न लाज लाग्दैन । बुढाले हेला गर्छ भन्न पनि सरम लाग्दैन । तर, आफूजस्ता दिदीबहिनीले दुःख नपाउन् भन्ने चाहिँ लागिरहन्छ ।

उनको घर २८ घरधुरी भएको भूमीहीन मुसहर बस्तीको गेटैमा छ । बस्तीभरी १२ जनाको मात्रै नागरिकता छ । त्यसैले त्यस बस्तीका मानिसहरु काम गर्न बाहिर जाँदैनन् । बिहान बेलुका मजदुरी गर्छन् । मादक पदार्थ सेवन गरी श्रीमती कुट्नु सामान्य जस्तै प्रक्रिया हो त्यहाँ । ग्यायन्ती भन्छिन्, ‘मुसहर बस्तीको झगडा मिलाउँदा मिलाउँदै धेरै समय बित्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *