एमाले गण्डकी अधिवेशन: प्रतिनिधि छनोटमै ‘गुटउपगुट’ ! – Nepal Press

एमाले गण्डकी अधिवेशन: प्रतिनिधि छनोटमै ‘गुटउपगुट’ !

पोखरा । असोज १५ र १६ गते हुने नेकपा एमाले गण्डकी प्रदेश अधिवेशनका लागि प्रदेशभरबाट ९ सय ७ जना प्रतिनिधि छनोट भएका छन् । लुम्बिनी प्रदेश र बागमती प्रदेशमा निर्वाचनबाट नेतृत्व चुनिँदा गण्डकीमा पनि निर्वाचन हुने माहौल बढेको छ ।

निर्वाचनमा जाँदा पार्टीले अस्वीकार गर्दै आएको गण्डकीका दुई गुटको प्रतिस्पर्धा हुने प्राय: निश्चित छ । प्रदेशको लडाइँमा एमाले उपमहासचिव एवं गण्डकीका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा (पिएस) गुरुङ र स्थायी कमिटी सदस्य तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी समूहबीचको प्रतिस्पर्धा हुने देखिन्छ । गुरुङलाई उपाध्यक्ष विष्णु पौडेल र अधिकारीलाई महासचिव शंकर पोखरेलको साथ छ ।

अधिवेशनमा दुई ‘धार’को प्रतिस्पर्धा हुने संकेत प्रतिनिधि छनोटले गरेको छ । अधिवेशनका लागि प्रतिनिधि छनोट चरणमा ती दुई ‘धार’ को निकै प्रतिस्पर्धा रह्यो ।

आफू अनुकूलका प्रतिनिधि छनोट गर्न दुई ‘धार’ बिच निकै प्रतिस्पर्धा भयो । कास्कीको रुपा गाउँपालिका बाहेक प्रदेशका ८४ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भयो । तर, सर्वसम्मत चयन सकस नै हुन पुग्यो । प्रतिनिधि छनोटपछि दुवै पक्षले आफूअनुकूल प्रतिनिधि नै धेरै भएको दाबी गर्दै आएका छन् ।

उपमहासचिव गुरुङ पक्षले प्रतिनिधिको ७० प्रतिशतभन्दा धेरै आफ्नो पक्षको प्रतिनिधि रहेको दाबी गर्छन् । ‘हाम्रो पक्षमा ६ सयभन्दा बढी मत भएको हाम्रो निष्कर्ष हो,’ गुरुङनिकट एक नेताले भने ।

स्थायी कमिटी सदस्य अधिकारी पक्षको पनि ६५ प्रतिशतभन्दा बढी आफ्नो पक्षको प्रतिनिधि रहेको दाबी छ । एमाले सचिव पद्मा अर्याल र स्थायी कमिटी सदस्य किरण गुरुङको साथ पनि आफूहरूलाई रहेको अधिकारीनिकट एक नेता दाबी गर्छन् ।

‘हामीलाई पद्मा र किरणको पनि साथ छ, हामी पिएसभन्दा बलियो नै छौँ । ६५ प्रतिशतभन्दा बढी प्रतिनिधि रहेको हाम्रो निर्क्योल हो,’ ती नेताले भने ।

अधिकारी पक्षबाट केन्द्रीय सदस्यद्वय मायानाथ अधिकारी र कृष्ण थापा अध्यक्ष उम्मेदवार बन्ने अधिकतर सम्भावना देखिन्छ । उपमहासचिव गुरुङका र केन्द्रीय सदस्य मायानाथ लमजुङका हुन् ।

पिएसकै जिल्लाका मायानाथलाई अध्यक्ष उम्मेदवार बनाएर उनलाई कमजोर बनाउने रणनीतिमा अधिकारी पक्ष देखिन्छ । सर्वसम्मत भए कृष्ण थापा पनि स्वीकार गर्न खगराज पक्ष तयार देखिन्छ । ‘पहिलो प्राथमिकतामा मायानाथलाई अध्यक्ष बनाउने हुनेछ, थापालाई सबैको सहमति जुटेमा हाम्रो पनि समर्थन रहन्छ,’ खगराजनिकट एक नेताले भने ।

खगराजको टिममा उपाध्यक्षमा मीनप्रसाद गुरुङ र प्रभा कोइरालाको सम्भावना देखिन्छ । स्याङ्जाका गुरुङ र कास्कीकी कोइराला गण्डकी प्रदेश सभाका पूर्व सदस्य हुन् । यसो मीनप्रसाद आफूनिकट रहेको उपमहासचिव गुरुङनिकट स्रोत दाबी गर्छन् । अधिकारी पक्षबाट सचिवमा हालका उपसचिव रश्मि आचार्यले उम्मेदवार बन्ने प्रबल सम्भावना देखिन्छ ।

अधिवेशनको बन्द सत्र हेर्नु मात्रै प्रतिनिधि भएर नआएको केन्द्रीय सदस्य मायानाथले बताए । ‘सामान्य अवस्थामा म प्रतिनिधि भएर आउँदैनथेँ । रहर लागेर प्रदेश अधिवेशनको प्रतिनिधि भएर आएको होइन । बन्द सत्र हेर्न आएको होइन । केन्द्रीय सदस्य भइरहेको मान्छे प्रदेशमा आउने आवश्यकता पनि थिएन,’ उनले भने ।

अध्यक्ष दाबेदार मायानाथले विगतको अनुभव र पृष्ठभूमिले प्रदेश अध्यक्ष भएर काम गर्नु सक्छु भन्ने विश्वासका साथ अगाडि बढेको सुनाए ।

‘पार्टीमा सबै साथीहरूले पार्टीलाई सुदृढ बनाउन तपाईँ नै आउनुपर्छ । तपाईँको आवश्यकता छ । अगाडि बढ्नुस् भनेपछि म प्रतिनिधि भएर आएको हुँ,’ उनले भने, ‘विगतको अनुभव र पृष्ठभूमिले प्रदेश अध्यक्ष भएर काम गर्नु सक्छु भन्ने विश्वासका साथ अगाडि बढेको छु । त्यसमा साथीहरूले पनि विश्वास गर्नुहुनेछ भन्ने मेरो अपेक्षा छ ।’

उपमहासचिव गुरुङ पक्ष भने हालका अध्यक्ष नवराज शर्मालाई नै दोहोर्‍याउने पक्षमा देखिन्छ । केही दिनअघि मात्रै शर्माले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रदेश कमिटी अध्यक्षको आकांक्षा व्यक्त गरेका थिए । त्यसबाहेक हालका सचिव धनञ्जय दवाडी पनि गुरुङ पक्षबाट उम्मेदवार बन्ने आकांक्षीको रूपमा छन् । तर, उपमहासचिव गुरुङ भने दवाडीलाई सचिवमै दोहोर्‍याउने पक्षमा छन् । अहिलेका उपाध्यक्ष मोहन रेग्मी पनि दोहोरिने आकांक्षी हुन् ।

अध्यक्षका आकांक्षी शर्माले सहमतिकै आधारमा नेतृत्व चुन्ने गरी कसरत भइरहेको बताए । ‘सहमतिमा नेतृत्व चुने राम्रै हुन्छ । हामी अन्तिमसम्म नेतृत्व चुन्ने कसरतमा छौँ । निर्वाचनमा जाने अवस्था आयो भने त्यो परिस्थिति हेरेर अगाडि बढ्छु । नेतृत्वले जे निर्णय गर्छ, त्यो मानेर अगाडि बढ्छौँ,’ उनले भने ।

केन्द्रीय सदस्य राजीव पहारी, बागलुङका जिल्ला अध्यक्ष हीराबहादुर केसी, तनहुँ पूर्व प्रदेश सभा सदस्य केदार सिग्देल, स्याङ्जा सोभियत ढकालको पनि प्रदेश अध्यक्षमा दाबी छ । तनहुँका विष्णुभक्त सिग्देलले सचिव पदमा उम्मेदवार दिने दाबी गरेका छन् । कास्कीका टीकाराम पङ्गेनीले पनि पदाधिकारीमा आकांक्षा व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर