रुपन्देहीका स्थानीय तहमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिका यस्ता छन् काम गर्ने प्रतिबद्धता – Nepal Press

रुपन्देहीका स्थानीय तहमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिका यस्ता छन् काम गर्ने प्रतिबद्धता

जनताको मन जित्ने गरी काम गर्न नेता पुनको निर्देशन

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा अभियानका रुपन्देही जिल्ला इन्चार्ज गणेशमान पुनले जनताको मन जित्ने गरी काम गर्न जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रुपन्देहीले जनप्रतिनिधि र माओवादी केन्द्र अगुवासँग गरेको कार्यशालामा नेता पुनले स्थानीय तहले शिक्षा, स्वास्थ्य, कृषि,रोजगारी, विपद् व्यवस्थापन ,सांस्कृतिक, सहज सेवा प्रवाह, सुशासन र विभेद अन्त्यमा केन्द्रित हुनुपर्ने बताए । उनले पार्टीसँग समन्वय गरी स्थानीय सरकार बनाएर काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिए ।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तरगत शनिवार बुटवलमा भएको कार्यशालामा सेवा प्रवाह, स्थानीय मुद्दा, स्थानीय संस्कृति उठाउनु पर्नेमा जोड दिए ।

कार्यशालामा पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले उत्पादनमा आधारित कार्य योजना बनाएर लागू गर्न निर्देशन दिए । जिल्ला अध्यक्ष नारायण जिसी निर्मलले जनताको मन मनमा बस्ने गरी काम गर्न अनुरोध गरे ।

कार्यशालामा सहभागी जनप्रतिनिधिहरूले केही अनुकरणीय काम गरेको रिपोर्ट पेश गरेका थिए । ओमसतियाका गाउँपालिका ६ का अध्यक्ष शिव कुमार धवलले समसेर स्मृति आधारभूत विद्यालयलाई नमुना विद्यालय बनाउने, मझौलि चोकलाई स्मार्त चोक बनाउने, वडाको रंगशालालाई स्तरोन्नति गर्ने र पोखरा ताललाई सौन्दर्यीकरण गरी पर्यटकीय बनाउने योजना पार्टीसमक्ष योजना सुनाए ।

त्यसै गरी ओमसतियामा होम स्टे र दलित समुदायको आयआर्जनको लागि टेन्ट हाउस हस्तान्तरण गरिएको उनले बताए । त्यसै गरी कन्चन गाउँपालिका सदस्य कुमारी घर्तीले उपाध्यक्ष मौसमी थापाको पहलमा महिला उद्धमशील कार्यक्रम गर्न लागिएको बताइन ।

नयाँ नमुना कामको लागि नयाँ योजना ल्याउँदा अन्य पार्टी समर्थित जनप्रतिनिधिले साथ नदिएको गुनासो नेतासँग उनले गरिन् । बुटवल उपमहानगर वडा न ३ का अध्यक्ष विष्णु ढकालले जनतालाई दिइने सुविधामा सहजता लिने गरी काम सुरु गरेको बताए ।

उनले भने, ‘फोटोकपी लगायतको धेरै सुविधा निःशुल्क गरेका छौँ ।’

सैनामैना नगरपालिका १ का अध्यक्ष भुवन क्षेत्री, जिल्ला समन्वय समितिका सदस्य मञ्जु परिवार, देवदह लगायतका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो । ती जनप्रतिनिधिहरूले आफ्नो पालिकामा विकास निर्माण तथा नयाँ योजना ल्याउँदा अन्य जनप्रतिनिधिले सहयोग नगरेको समेत गुनासो सुनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर