भोलाराजले चाखेको ‘बर्फी’
काठमाडौं । सन् २००८ मा फिल्म ‘सानो संसार’ प्रदर्शनमा आयो । उक्त फिल्ममा स्वर्गीय निर्देशक आलोक नेम्बाङको प्रस्ताव टार्न नसकेर अभिनेता भोलाराज सापकोटाले पनि अभिनय गरे । सापकोटाकै शब्दमा भन्दा साथीभाइको जोर जबरजस्तीलाई इन्कार गर्न सकेनन् र फिल्म खेले ।
सापकोटालाई स्क्रिनमा भन्दा स्टेजमै अभिनय गर्दा आनन्द लाग्थ्यो । नाट्यकर्मीहरु सुनिल पोखरेल, वीरेन्द्र हमाल, हरिहर शर्माबाट दीक्षित उनको अभिनयको भूत स्टेजले मात्रै झार्न सक्थ्यो । रंगमञ्चतिरै रमाइरहेका थिए ।
स्क्रिनमा देखिने रहर भने स्कुल पढ्दाताका उनलाई खुब थिए । यो २०५० सालतिरको प्रसंग हो । त्यसवेला ‘ट्वाक्कटुक्क’ नामक टेलिसिरियल आउँथ्यो । त्यही टेलिसिरियलमा अभिनय गर्न उनी हेटौंडाबाट काठमाडौं आए, बर्खे बिदाको छेको पारेर । तर, एसएलसी पास गरेपछि मात्रै खेल्नू भनेर उनलाई फर्काइयो ।
अलि पछि काठमाडौं पुनः छिरे, राष्ट्रिय नाचघरमा एक वर्षे अभिनयको कोर्स गर्न ।
२०५४-५५ सालतिर साथीको नर्सरीमा जाँदा गोरखापत्रमा अभिनय सिकाउने भनेर विज्ञापन पढेपछि नाचघरमा चिठी लेखे । नाचघरले टेस्टका लागि काठमाडौं बोलायो । रामशरण दुलाल र सापकोटा काठमाडौं आए । एक वर्षसम्म नाटक सिके । नाटक सिक्दै सुनिल पोखरेलका सडक नाटकहरुमा पनि काम गर्न थाले ।
सुनिल पोखरेल शब्दलाई भावनामा व्यक्त गर्न पोख्त नाट्यकर्मी लाग्छ सापकोटालाई । त्यसैले अधिकांश नाटकहरुमा पोखरेलसँगै काम गर्न थाले । नाटक हेर्न पनि एक खालका बौद्धिक दर्शकहरु आउँथे । त्यही दर्शकको हुलमा थिए प्राध्यापक अभि सुवेदी पनि । सुवेदीले सापकोटाको अभिनयलाई राम्रैसँग नियालेका थिए ।
काठमाडौं छिरेको केही समयपछि सापकोटाले एक कमेडी टेलिसिरियल खेले ‘फिफ्टी फिफ्टी’ ।
सुवेदीले सापकोटाको ‘फिफ्टी फिफ्टी’ हेरेछन् । एकदिन नाचघरमा भेट हुँदा सुवेदीले भने, ‘तिमी यति राम्रो अभिनय गर्छौ । त्यस्तो कमेडी खालको, जोकर टाइपको काम गर्न मनलाग्छ र ? पैसा बहुत आउँछ हो ?’
सापकोटा सुनाउँछन्, ‘उहाँले त्यसो भन्नुभएपछि मैले स्क्रिनमा देखिने चाहनालाई त्यागिदिएँ । खासै पैसा पनि आउँदैन थियो । त्यसपछि टेलिसिरियल खेलिएन ।’
सापकोटा नाटकतिरै रुमल्लिए ।
यही बीचमा साथीभाइको कुरो टार्न नसकेर ‘सानो संसार’मा सानो भूमिकामा अभिनय गरे । यसपछि भने फिल्मको प्रस्ताव लिएर आउनेहरुलाई अनेक बहाना बनाएर टारे । नाटकमै रमाए । तर, स्क्रिनमा राम्रोसँग देखिने उनको चाहना भने मरिसकेको थिएन । बेलाबेला त्यो चाहनाले सापकोटालाई झकझकाइरहन्थ्यो ।
‘सानो संसार’मा काम गरेपछि तीन वर्षसम्म सापकोटाले अरु फिल्ममा काम गरेनन् । एक दिन प्रशान्त रसाइलीले सापकोटालाई भने, ‘कोलकातामा अनुराग वासुको फिल्मको अडिसन छ, जानू ।’
गुरुकुलमा सुनिल पोखरेलसँग काम गर्ने क्रममा अभिनेता सौगात मल्ललगायतसित आर्ट फिल्म हेर्ने बानी लागेको थियो सापकोटालाई । त्यसैवेला वासुको फिल्म ‘मेट्रो’ हेरेका थिए । वासुको फ्यान भएका थिए । वासु नयाँ फिल्म ‘बर्फी’ बनाउँदै थिए, रणवीर कपुर, प्रियंका चोपडा र इलियाना डिक्रुजलाई लिएर ।
मनपर्ने निर्देशक वासुकै फिल्म भनेपछि सापकोटा अडिसन दिन कोलकाता जान तयार भए । झोला बोके र हुइँकिए । कोलकातामा पहिलो अडिसन दिए । पहिलो अडिसन पास गरे । दोस्रो अडिसन मुम्बइमा दिए । सापकोटासँगै अन्य नौ जना कलाकार दोस्रो अडिसनका लागि छानिएका थिए ।
दोस्रो अडिसन सकाएपछि नेपाल फिर्न लागेका थिए । उनलाई फोन आयो, ‘तेस्रो अडिसन यही हुँदैछ । बस्नू ।’ सापकोटा बसे । तेस्रो अडिसनबाट ‘बर्फी’का लागि सापकोटा फाइनल भए । फिल्म खेले । फिल्म बक्स अफिसमा हिट भयो । समीक्षकले पनि राम्रो प्रतिक्रिया दिए । त्यस वर्ष भारतले ‘बर्फी’लाई नै ओस्करमा पठायो ।
फिल्म नखेल्ने भनेर बसेका सापकोटाको ‘बर्फी’ खेलेकै कारण अचानक चर्चा भयो । अनि त के चाहियो ! नेपालमा समेत सापकोटाले लगालग काम गर्न थाले । अहिले त ३५-४० को संख्यामा पुगिसकेको छ सापकोटाले काम गरेका फिल्म । नाटक त फिल्मभन्दा कति हो कति ? धेरै संख्यामा छ ।
सापकोटाले नेपाली फिल्म लगालग काम गर्नुमा ‘बर्फी’कै देन छ । ‘उनीहरुको बजेट नै ठूलो हुने । टीम नै कति ठूलो हुने । एक डेढ सय त क्रुमात्रै हुने । जब कि नेपाली फिल्म कतिपय अवस्थामा त १५ जनाले सकाइदिन्छन्’, सापकोटा सुनाउँछन्, ‘उनीहरुको बजार पनि ठूलो । तर, हाम्रोमा जति जे छ, हाम्रो स्रोत जे जस्तो छ, त्यसअनुसार हामी जसरी काम गर्छौं, त्यो ठूलो कुरा हो । त्यसैले मैले फिल्ममा काम गर्न सुरु गरेको हुँ ।’
तर, हाम्रो फिल्म उद्योग भने व्यवसायिक हुनै बाँकी देख्छन् सापकोटा । त्यहाँ पारिश्रमिक पनि स्पष्ट हुन्छ । प्राविधिकहरुले पनि सम्मानजनक पारिश्रमिक पाउँछन् । झनै अहिले त आठ घण्टापछि प्राविधिकहरुको ओभरटाइम नै सुरु हुन्छ बलिउडमा । नेपालमा भने राजेश हमालसँग काम गरेका प्राविधिकहरु कोठा भाडा तिर्न नसकेर हिँडिरहेका छन् । पारिश्रमिक नपाएर छटपटिएर बसेका छन् ।
सापकोटालाई लाग्छ, ‘त्यहाँ सबैले जति मेहनत गर्छन्, यहाँ हामी त्यति गर्दैनौं । यहाँ कलाकारहरुको मनस्थिति पनि के हुन्छ भने एक पटक चलेपछि जे गरे पनि हुन्छ भन्ने छ । त्यहाँ काम बिगारेपछि त कलाकार आउट हुन्छन् । यहाँ त चिनेकै हिसाबले कास्टिङ हुन्छ । काम बिगारे पनि माफी दिन्छन् । बरु फिल्म बिग्रिए बिग्रियोस् भन्छन् । त्यहाँ राम्रो कामलाई प्रशंसा गर्छन्, नराम्रो काम गर्नेलाई आउट गर्छन् । त्यसैले नै उनीहरुको फिल्म विस्तारै संसारभर फैलिइरहेको छ ।’
नेपाली फिल्म उद्योगमा इमानदारी नहुनु नै सबैभन्दा ठूलो समस्या देख्छन् सापकोटा । निर्माता कथा मन परेर फिल्ममा लगानी गर्न आइपुग्छन् । तर, मेकरहरु कसरी उसको पैसा छिटो सकाउँ भनेर काम गर्छन् । यस्तै प्रवृत्तिले गर्दा नै राम्रा फिल्महरु बन्न नसकेको हो कि लाग्छ उनलाई ।
‘बर्फी’मा प्रियंका, रणवीर, इलियानासित काम गर्ने क्रममा उनीहरुले ‘म स्टार हुँ’ भनेर कतै पनि महसुस नगराएको सापकोटा बताउँछन् । भन्छन्, ‘नेपालमा भने मैले स्टारडम सेटमै महसुस गरेको छु । कतिपय फिल्मको सेटमै स्टारडम देखाउन खोज्नेहरु भेटेको छु । तर, उनीहरु कोही पनि दुःख गरेर आएका होइनन् । झटारो हानेर आएका हुन् । बलिउडमा त दुःख गरेर, मेहनत गरेरमात्रै स्टार होइन्छ भन्ने मानसिकता छ । यहाँ त्यस्तो छैन ।’
सापकोटा फिल्म र नाटक दुइटैमा उत्तिकै सक्रिय छन् । केही समयअघि मात्रै ‘हिउँभन्दा चिसो’ नामक नाटक गरे । अहिले सापकोटाद्वारा अभिनित फिल्म ‘कौसिद’ प्रदर्शनको संघारमा छ । आउँदो २६ गतेबाट हलहरुमा लाग्दैछ । तर, नाटक र फिल्मको दर्शक बिल्कुल फरक लाग्छ उनलाई ।
फिल्मलाई अधिकांश दर्शकले मनोरञ्जनका लागि हेर्ने गर्छन् । फिल्म बनेको पनि त्यस्तै कारणले नै हुन्छ प्रायः । लगानी ठूलो हुन्छ । बक्स अफिसको दबाब हुन्छ । तर, नाटकमा भने त्यस्तो कुनै खालको दबाबविना आफूलाई मज्जाले खुल्न र खुलाउन सकिने अनुभव छ उनको ।
सापकोटा थप्छन्, ‘नाटकमा आउने दर्शकहरु तुलनात्मक रुपमा अलि बौद्धिक हुन्छन् । कला, साहित्यप्रति रुचि भएकाहरु हुन्छन् । फिल्म फेरि अर्कै हो, मनोरञ्जनका लागि दर्शकहरु जानुहुन्छ । तर, फिल्ममा गरेको काम भने संसारभरका दर्शकसम्म पुग्छ, त्यसको मजा अर्कै हो ।’