एमाले कोशी चुनाव : पदाधिकारीमा प्यानल उम्मेदवारी, १२ बजेबाट मतदानको तयारी – Nepal Press

एमाले कोशी चुनाव : पदाधिकारीमा प्यानल उम्मेदवारी, १२ बजेबाट मतदानको तयारी

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको जारी अधिवेशनमा उपाध्यक्षबाहेक पदाधिकारी सबै दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । पार्टी नेतृत्वले प्यानल बनाउन निषेध गरेकोमा यहाँ पनि पदाधिकारीसहित प्यानल बनाएर उम्मेदवारी दर्ता भएको हो ।

प्रदेश अध्यक्षका लागि मोरङका विनोद ढकाल र घनश्याम खतिवडा मैदानमा छन् । उपाध्यक्षमा भने टीकाराम चेम्जोङ्गको मात्रै उम्मेदवारी परेको हो । एकजनाको मात्रै उम्मेदवारी दर्ता भएकाले उनी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सचिवमा उदयपुरका शैलेश लामा, पाँचथरका राजकुमार भण्डारी र झापाका हीरा थापाले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यले बताए । २ जना चाहिने उपसचिवका लागि चारजना प्रतिस्पर्धामा छन् । उपसचिवमा एक महिला र ३ जना पुरुषको मनोनयन दर्ता भएको छ । झापाकी जलवर्ष राजवंशी, संखुवासभाका भविश्वार गुरुङ, मोरङका खेम नेपाली र खोटाङका देवान राईले मनोनयन दर्ता गराएका छन् ।

अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ ।

सदस्यका लागि भने भूगोलअनुसार मनोनयन दर्ता भएकाले तथ्यांक निकाल्ने काम भइरहेको छ । उम्मेदवारको दाबी विरोध गर्ने समय सकिएर बिहान ९ बजेसम्म मनोनयन फिर्ताको समय दिइएको छ । मध्यान्ह १२ बजेदेखि मतदानको तयारी गरिएको प्रमुख निवाचन अधिकृत आचार्यले बताए ।

शुक्रबार उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीदेखि शीर्ष नेताले सहमतिमा नेतृत्व चयन गर्न नसकिए प्यानल नबनाई स्वस्थ्य प्रतिस्पर्धा गर्न निर्देशन दिएका थिए । तर, यहाँ अघोषित प्यानल बनाइएको छ ।

सचिवमा खतिवडाको प्यानलमा राजकुमार भण्डारी र ढकालको प्यानलमा शैलेस लामा छन् । उपाध्यक्ष चेम्जोङ्गलाई भने दुवै पक्षले आफ्नो प्यानलको दाबी गर्दै आएका छन् । उनी सुरूमा ढकालतिर खुलेका थिए ।

उपसचिवमा जलवर्षा राजवंशी खतिवडा पक्षमा देखिए पनि अन्य तीन उपसचिव खुलेका छैनन् । अहिले पनि आ-आफ्नो प्यानलमा तान्ने र एकजनाको मनोनयन फिर्ता गर्न लगाउने प्रयास जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर