सुन तस्करीबारे यस्तो छ छानबिन समिति गठन सहमति- तीन सदस्यीय समिति, तीन महिना कार्य अवधि (भिडिओ)
नेपाल प्रेस
२०८० असोज १४ गते ११:५१
काठमाडौं । सुन तस्करी प्रकरणको छानबिन समिति बनाउनेबारे सरकार र प्रतिपक्ष दलबीच सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तापक्ष र एमालेबीचको बैठकमा उच्चस्तरीय जाँचबुझ आयोग आजै गठन गर्ने सहमति बनेको हो । समिति तीन सदस्यीय हुने र कार्यअवधि तीन महिनाको हुने सचेतक महेश बर्तौलाले जानकारी दिए ।
उनले भने, ‘सरकारले केही सयमपछि क्याविनेट पनि बोलाएको छ । त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं । सुन प्रकरणमा अहिले उठिरहेका सबै प्रश्नहरुलाई हल गर्नेगरी काम गर्छ भन्ने विश्वास व्यक्त गर्छौं ।’ जाँचबुझ आयोग उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा बनाइने भएको छ ।
विदेशबाट इलेक्ट्रिक सिगरेट (Vapes) मा सुन राखी तस्करी गरिएको र साउन २ गते ब्रेक-सुमा राखेर तस्करी गरिएको सुनलगायत पटकपटक तस्करीको विषयलाई सरकारका विभिन्न निकायबाट भएका छानबिन अनुसन्धानसमेतको अध्ययन गरी तस्करीको प्रकृति, सुनको परिमाण, अपराधको दायरा र सो कार्यमा संलग्न व्यक्तिका सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने देखिएमा थप छानबिन अनुसन्धान गरी कानून बमोजिम कारबाहीका लागि सिफारिस गर्ने सहमति भएको छ ।