१० वर्षे युद्धभन्दा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या बढी छ, सडक सुरक्षामा गम्भीर बनौं : गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक दुर्घटनाको क्षति कम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
आइतबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८० लाई सम्बोधन गर्दै उनले मुख्य जोड सडक दुर्घटनामै भएपनि अरु पक्षमा पनि सोच्नुपर्ने बताए । गृहमन्त्री श्रेष्ठले सडक सुरक्षा र दुर्घटनाबाट बचाउनुका अतिरिक्त आम जनताको जीवनलाई सरकारी कार्यालयका कर्मचारी वा सेवाग्राही समयमै काम सम्पन्न गर्ने स्थिति बनाउनेबारे सोच्न आवश्यक रहेको बताए ।
सहज ढंगले यातायातलाई सञ्चालन गर्ने वातावरण बनाउनु अहिलेको आवश्यकता भएको श्रेष्ठको भनाइ छ । उनले महानगरपालिका, ट्राफिक प्रहरी, नगरपालिकाहरू, यातायात व्यवस्था विभाग सबै निकाय मिलेर एकीकृत योजना बनाएर अघि बढेमात्रै यातायात क्षेत्रको व्यवस्थापन गर्न सकिने बताए । पछिल्लो १० वर्षमा सशस्त्र द्वन्द्वको समयको भन्दा बढी मानिसको सडक दुर्घटनाका कारण मृत्यु भएको बताएका छन् ।
श्रेष्ठले भने, ‘हामीले सडक दुर्घटनाबाट धेरै ठूलो क्षति व्यहोर्नु परिरहेको छ । १० वर्षको सशस्त्र संघर्षका क्रममा मृत्युकै कोणबाट जति नेपाली दाजुभाई दिदिबहिनीहरुको मृत्यु हुन पुग्यो । पछिल्लो १० वर्षमा सशस्त्र द्वन्द्वको समयको भन्दा वा त्यो भन्दा बढी नै दुर्घटनाबाट मृत्यु भएको छ । त्यस प्रकारको कहाली लाग्दो दुःखद् स्थितिको अन्त्य गर्नु कम सेकम त्यसलाई प्रभवकारी रुपमा यस प्रकारको स्थिति आउन नदिनु हामी सबैको गम्भीर जिम्मेवार भित्र पर्छ । यसका बहुआयामिक पक्ष छन् ।’