यी हुन् मधेश प्रदेशमा एमाले अध्यक्षका आकांक्षी- कोही सिग्नल खोज्दै, कोही आफ्नालाई रोज्दै – Nepal Press

यी हुन् मधेश प्रदेशमा एमाले अध्यक्षका आकांक्षी- कोही सिग्नल खोज्दै, कोही आफ्नालाई रोज्दै

जनकपुरधाम । नेकपा एमालेका दुई प्रदेश कमिटीमा निर्वाचनबाट नेतृत्व चयन भएर बाँकी दुई वटामा निर्वाचन भइरहेका बेला मधेशमा पनि सर्वसम्मतिको सम्भावना कमजोर बनेको छ ।

असोज २३ र २४ गते मधेशको राजधानी जनकपुरधाममा हुने एमाले मधेश प्रदेश कमिटीको पहिलो अधिवेशनको तयारी तीब्र रुपमा भइरहेको अध्यक्ष रामअवतार यादवले बताए ।

मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई पछिल्लो समय आठै जिल्लाका विभिन्न कार्यक्रमहरुमा सहभागी छन् । प्रदेश इन्चार्जको आफ्नो कुनै गुट र समूह नभएका कारण यसपटक विगतको जस्तो अस्वस्थ राजनीति मधेशमा नरहेको नेताहरु बताउँछन् ।

भट्टराईले आफ्नो नेता केपी ओली भएकाले अध्यक्षको निर्देशन कार्यान्वयन गर्नेबाहेक मधेशमा अरु गुट बनाउने वा कसैलाई च्यापेर अर्कोलाई बोक्ने नीति नलिने बताइसकेका छन् ।

मधेशमा यसपटक एमालेको सचिवालय बैठकसमेत बसिसकेको छ भने अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसहितका नेताहरुले यसबीचमा विभिन्न कार्यक्रम र बैठकमा भाग लिएका छन् ।

मधेशमा केन्द्रीय नेताहरुको प्रत्यक्ष गुटबन्दी नदेखिए पनि केन्द्रीय कमिटी सचिव तथा हाल कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ र केन्द्रीय सदस्य तथा मधेश प्रदेश संसदीय दलका नेता सरोज यादवको फरक फरक स्वार्थको टक्कर भने यसपटक पनि देखिएको छ ।

मधेश प्रदेश कमिटीको आगामी नेतृत्वका लागि खुलेर कुनै पनि नेताले लबिङ गरिसकेका छैनन् । अहिलेका अध्यक्ष रामअवतार यादव भने गाउँपालिका अध्यक्ष भएकाले उनले फेरि उम्मेदवारी दिन पाउने छैनन् ।

केन्द्रीय सदस्यबाट धनुषाका सञ्जीवकुमार झा (सुरज) अध्यक्षका दाबेदार हुन् । उनलाई सरोज यादवको साथ छ । यद्यपि पार्टीको शीर्ष नेतृत्वको ग्रीन सिग्नल पाएमात्र उनी उम्मेदवार बन्नेछन् । उनी युवा संघका इन्चार्ज महेश बस्नेत निकट हुन् ।

पार्टी नेतृत्वको सिग्नल पाउँदा पोलिटव्युरो सदस्य सुमन प्याकुरेल, पुरुषोत्तम पौडेल र रामदयाल मण्डल पनि मधेशको अध्यक्षका दाबेदार हुन् ।

यीमध्ये प्याकुरेलले आफ्नो पकडसमेत बलियो बनाएका छन् । तर, आफूखुशी उम्मेदवार बन्न भने उनीहरु इच्छुक छैनन् । कतिपयले यसपटक प्याकुरेलको सम्भावना पनि देखिरहेका छन् ।

यसपटक मधेशको नेतृत्वका लागि उपाध्यक्ष रेवती पन्तले दाबी गर्ने निश्चित छ । आठै जिल्लामा चिनिएका पन्त सर्लाहीका पूर्वअध्यक्ष हुन् ।

त्यस्तै धनुषाका अध्यक्ष राजकिशोर यादव अर्का दाबेदार हुन् । उनलाई मधेश प्रदेश संसदीय दलका नेता सरोज यादवको समर्थन रहेको बताइन्छ ।

त्यस्तै रघुवीर महासेठले धनुषाकै शिवशंकर साह (हिरा)लाई अघि सार्न चाहेका छन् । रघुवीर र जुली महतोको समर्थन पाए हिरा मधेशको अध्यक्षमा उम्मेदवार बन्नेछन् ।

जनकपुरका प्रतिष्ठित व्यवसायीसमेत रहेका साह जनकपुर उद्योग वाणिज्य संघ र मधेश प्रदेश उद्योग वाणिज्य संघको अध्यक्ष भइसकेका छन् । उनी मधेश आन्दोलनमा समेत सक्रिय थिए । एमाले प्रवेश गरेको एक वर्षमै उनी जनकपुर उपमहानगरपालिकाको मेयरमा चुनाव लडेर दोस्रो भएका थिए ।

मधेशको अध्यक्ष मधेशी नै हुनुपर्ने कतिपयले भने पनि मधेशी नेताहरुकै अन्तरविरोधले बरु पहाडियालाई अध्यक्ष बनाउनुपर्छ भन्ने लबिङ पनि उत्तिकै बलियो छ ।

गठबन्धनसँग चुनाव लड्नुपर्दा दोस्रो दल बनेको नेकपा एमालेका लागि मधेशले भने यस पटक ऐतिहासिक नतिजा दिएको थियो । इतिहासमै पहिलो पटक एमाले मधेशको पहिलो दल बनेको छ ।

एमालेले प्रतिनिधिसभाका ३२ मध्ये ९ सीट जितेर मधेशको पहिलो दल बनेको छ भने प्रदेशसभामा पनि एमाले २३ सीटसहित पहिलो दल छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर