सुदूरपश्चिम स्वास्थ्य आपूर्ति केन्द्रको शङ्कास्पद खरिद प्रक्रिया रोक्न निर्देशन – Nepal Press

सुदूरपश्चिम स्वास्थ्य आपूर्ति केन्द्रको शङ्कास्पद खरिद प्रक्रिया रोक्न निर्देशन

कैलाली । सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीले अगाडि बढाएको स्वास्थ्य उपकरण खरिद प्रक्रिया रोकिने भएको छ । सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले स्वास्थ्य उपकरण खरिद प्रक्रियामा अनियमितता हुन सक्ने भन्दै तत्काल उक्त प्रक्रिया रोक्न निर्देशन दिएको हो ।

आइतबार बसेको समितिको बैठकले खरिद प्रक्रिया रोक्न निर्देशन दिने निर्णय गरेको समितिका सदस्य ओमविक्रम भाटले जानकारी दिए ।

‘मिलेमतोमा खरिद प्रक्रिया अगाडि बढाएर राज्यलाई घाटा पु¥याउन खोजेको भन्ने उजुरीका परेपछि हामीले तत्काल रोक्न लगाउने निर्णय गरेका छौँ’ उनले भने ‘यस बिषयमा थप छानबिन प्रक्रिया अघि बढ्छ ।’

उनले असोज १७ गते ११ बजेभित्र सम्पूर्ण कागजात झिकाएर अध्ययन र छलफल गर्ने निर्णय समेत भएको जानकारी दिए ।

आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक डा. नीरज अर्याल समेतलाई समितिको बैठकमा बोलाएर खरिद प्रक्रियाबारे छलफल गर्ने तयारी गरेको छ । आपूर्ति व्यवस्थापन केन्द्र भदौ १८ र १९ गते छुट्टाछुट्टै सूचना प्रकाशित गरी उपकरण खरिद प्रक्रिया अगाडि बढाएको थियो ।

उपकरण खरिदमा राखिएका विशेषता र मापदण्ड कुनै एक कम्पनीका लागि भएको हुन सक्ने र त्यसबाट करोडौँ अनियमितता हुन सक्ने भन्दै समितिले चासो व्यक्त गरेको हा ।

साथै समितिको बैठकले सरकारी अस्पतालको सेवा, गुणस्तर, समस्या र समाधानका विषयमा असोज १८ गते महाकाली प्रादेशिक अस्पताल, असोज १९ गते सेती प्रादेशिक अस्पताल र असोज २१ गते टीकापुर अस्पतालमा अनुगमन र अन्तरक्रिया गर्ने निर्णय समेत गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर