उपभोग्य सामानमा जथाभावी भाउ बढाउँदै बुटवलका व्यवसायी, अनुगमन टोलीले सचेतमात्र गरायो – Nepal Press

उपभोग्य सामानमा जथाभावी भाउ बढाउँदै बुटवलका व्यवसायी, अनुगमन टोलीले सचेतमात्र गरायो

रुपन्देही । बुटवलमा व्यवसायीले आफूखुसी मूल्यवृद्धि गरेका छन् । एक किलो जीरा तेब्बरले भाउ बढाउँदै ६ सयभन्दा बढीसम्म नाफा लिने गरेको प्रमाण फेला परेको हो । केही उपभोक्ताको गुनासोको आधारमा बुटवल उपमहानगरपालिकाले आइतबार गरेको बजार अनुगमनमा पसलमा खरिद बिल र बिक्री बिल भिडाइएको छ ।

नगरपालिका र इलाका प्रहरी छेउकै न्यू कान्दु किराना तथा गेडागडी पसलमा प्रतिकेजी ३७७ रूपैयाँमात्रै भयो । तर, बिक्री गर्दा अलग-अलग क्वालिटीअनुसार ६ सयदेखि ७ सय प्रतिकिलोमा बिक्री गर्दै आएको अनुगमनको बेला भेटिएको थियो ।

नजिकै रहेको विष्णु विवेक गल्लाले होलसेलमा प्रतिकेजी ८ सयमा बिक्री गर्दै आएको छ । त्यहाँबाट ७-८ सयमा खरिद गरेका खुद्रा व्यवसायीले १३ सयदेखि १५ सयसम्म बेच्दै आएका छन् । अनुगमनका क्रममा थोक विक्रेताबाट भ्याटसहित ७१२ रूपैयाँ प्रतिकेजी खरिद भएको जीरा खुद्रा व्यापारीले प्रतिकेजी १ हजार ३ सय सम्म बेचेको भेटिएको थियो ।

एक किलो जीरामा ६ सयभन्दा बढी नाफा असुल्नेदेखि पसलैपिच्छे फरक मूल्यमा बेच्ने गरेको फेला परेको अनुगमन संयोजक उपमेयर सावित्रादेवी अर्यालले बताइन् । उनका अनुसार बजारमा अखाद्य वस्तु बिक्री भएको, व्यापारीले महंगो मूल्यमा सामान बेचिरहेको गुनासोको आधारमा अनुगमन बढाइएको हो ।

पवन किराना पसलले जीराको थोक बिक्री गर्दा प्रतिकेजी ७१२ रुपैयाँ परेपनि विष्णु किराना पसलसहितका खाद्यान्न पसलमा प्रतिकेजी १ हजार २ सयदेखि १ हजार ३ सय रूपैयाँमा बेच्ने गरेको पाइएको उनको भनाइ छ ।

तर, अनुगमन टोलीले बढी मूल्यमा बेच्नेलाई कारबाही नगरी मूल्य समायोजन गरेर बेच्न आग्रह गरेर छाडेको छ ।

चिनी, दैनिक उपभोग्य सामानको मूल्यमा पनि एकरुपता नभएको भेटिएको छ । चिनी पसलैपिच्छे ११० देखि १२० रुपैयाँसम्ममा बिक्रीवितरण हुँदै आएको अनुगमनमा फेला परेको थियो । व्यापार-व्यवसाय उद्देश्यअनुसार गर्नुपर्ने र यसको लागि स्थानीय तह, बाणिज्य कार्यालय वा घरेलु कार्यालयजस्ता निकायमा दर्ता गरेर मात्रै, नवीकरण गरेर आवश्यक राजश्व तिरेर मात्रै सञ्चालन गर्नुपर्ने, मापदण्डविपरीत नभए कारबाही गरिने भन्दै सचेत गराइएको छ ।

खुद्रा किसाना व्यवसायीहरूले भने होलसेल र डिलरहरूबाट नै बजार मूल्य बढी बनाएर आएको कारण खुद्रा किराना व्यवसायीहरूले मुल्यवृद्धि गरेको भन्ने आधार निराधार रहेको दाबी गर्छन् । खुद्रा किराना व्यवसायी संघ रूपन्देहीका अध्यक्ष मोहनप्रसाद बस्यालले डिलर तथा होलसेल व्यवसायीहरूले नै मूल्य बढाएर स्टक सामानमा पनि नयाँ मूल्य राखेको कारण अहिले मुल्यवृद्धि भएको जिकिर गरे । उनले होलसेल व्यवसायी र डिलरहरूबाट नै मुल्य बढेर आएको कारण समस्या आएको बताउँछन् ।

उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनीका अध्यक्ष तेजकुमार पाठकले कालोबजारी गर्ने, उपभोक्ता अधिकारमाथि खेलवाड गर्ने जोकोहीलाई पनि कानूनी कारबाही गर्नुपर्ने बताए । जथाभावी भाउ बढाउनेलाई नियन्त्रण गर्न तीनै तहका सरकारले संयुक्तरूपमा मुहानदेखि नै अनुगमन गर्नुपर्ने पाठकको जोड छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर