एमाले कोशी अधिवेशन: १ बजेदेखि गणना थालिने
विराटनगर । नेकपा एमाले कोशी प्रदेशमा भएको निर्वाचनको मतगणना १ बजेदेखि हुने भएको छ । अधिवेशनका मुख्य निर्वाचन अधिकृत चुणामणी आचार्यले मतगणना दिउँसो १ बजेबाट थाल्ने बताए । आइतबार राति १० बजेबाट सुरु भएको मतदान बिहान साँढे ५ बजे सकिएको थियो ।
मतदान सकिएपछि भएको बैठकले दिउँसो १ बजेबाट मतगणना गर्ने सहमति भएको थियो । सहमति अनुसार मतगणनाको तयारी भइरहेको आचार्यले बताए । कोशी प्रदेशमा नेतृत्व चयनका लागि अध्यक्ष र सचिवमा प्यानलगत प्रतिस्पर्धा भएको थियो ।
अध्यक्ष पदका लागि घनश्याम खतिवडा र विनोद ढकाल प्रत्याशी छन् भने सचिवमा राजकुमार भण्डारी र शैलेश लामा उम्मेदवार बनेका छन् । यस्तै २ जना उपसचिवका लागि ३ जनाको उम्मेदवारी कायम रहेकाले मतदान भएको हो ।
उपसचिवमा जलबर्ष राजवंशी, खेम नेपाली र देवान राई चुनावमा भाग लिएका थिए । पदाधिकारीको अन्तिम मत परिणाम आजै आउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ९९७ जना प्रतिनिधि रहेको अधिवेशनमा ९७७ जनाले मात्रै मतदान गरेका थिए ।