नेपालसँग भिड्ने भारतीय टीम कति बलियो ? राष्ट्रिय टीमबाट खेलिसकेका १२ खेलाडी छन् स्क्वाडमा – Nepal Press

नेपालसँग भिड्ने भारतीय टीम कति बलियो ? राष्ट्रिय टीमबाट खेलिसकेका १२ खेलाडी छन् स्क्वाडमा

काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले बलियो प्रतिद्वन्द्वी पाएको छ । उपाधि दावेदारसमेत रहेको भारतसँग मंगलबार नेपालको भिडन्त निश्चित भएको हो ।

नेपालले हालैमात्र भारतको राष्ट्रिय टीमसँग एसिया कपमा पहिलोपटक खेलेको थियो । एसियन गेम्समा भारतले आफ्नो पहिलो रोजाइको टीम पठाएको छैन । तर, रुतुराज गाइक्वाडको कप्तानीमा रहेको भारतीय टीममा राष्ट्रिय टीमको अनुभव प्राप्त थुप्रै खेलाडी छन् । इन्डियन प्रिमियर लिगमा शानदार प्रदर्शन गरेका खेलाडीहरु पनि छन् । त्यसैले भारतसँगको यो प्रतिस्पर्धा नेपालका लागि सहज हुनेछैन ।

भारतीय टीमका कप्तान गाइक्वाडले राष्ट्रिय टोलीबाट एक दिवसीय र टी-२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । भर्खरैमात्र अष्ट्रेलियाविरुद्ध भारतले खेलेको तीन एक दिवसीय म्याचको श्रृंखलामध्ये पहिलो र दोस्रो म्याचमा रुतुराजले खेलेका थिए ।

पहिलो म्याचमा उनले भारतका लागि ओपनिङ गर्दै ७७ बलमा ७१ रन बनाएका थिए । आईपीएलको पछिल्लो संस्करणमा पनि उनको प्रदर्शन उत्कृष्ट थियो । रुतुराजले हालसम्म ४ एक दिवसीय खेल्दै एक अर्धशतकसहित १०६ रन बनाएका छन् । यस्तै ११ वटा टी-२० अन्तर्राष्ट्रिय खेल्दा २१२ रन उनको नाममा छ ।

रुतुराजको ओपनिङ जोडीका रुपमा छन् यशस्वी जैसवाल । २१ वर्षीय जैसवाल भारतका उदाउँदो स्टारका रुपमा चिनिएका छन् । उनीसँग टेस्ट म्याचको समेत अनुभव छ । जैसवालले हालै वेस्ट इन्डिजविरुद्धको टेस्ट श्रृंखलामा भारतका लागि ओपनिङ गर्दै उत्कृष्ट ब्याटिङ गरेका थिए । उनले दुई म्याचमा तीन इनिङ ब्याटिङ गर्दा २६६ रन जोडेका छन्, जसमा उच्च स्कोर छ १७१ रन ।

जैसवाल टी-२० का पनि धुरन्धर ब्याट्सम्यान हुन् । उनले भारतका लागि ५ टी-२० खेल्दै ३३ को औसतमा १३२ रन बनाइसकेका छन् । आईपीएलको पछिल्लो संस्करणमा जैसवालको प्रदर्शन उत्कृष्ट थियो ।

भारतीय स्क्वाडमा रहेका अर्का खतरनाक ब्याट्सम्यान हुन् रिंकु सिंह । उनले यस वर्षको आईपीएलमा तहल्का पिटेका थिए । कोलकाता नाइट राइडर्सबाट खेलेका उनले गुजरात टाइटन्सविरुद्धको खेलमा अन्तिम ओभरमा ५ छक्का हान्दै टीमलाई जिताएका थिए ।

गत अगष्टमा आयरल्यान्डविरुद्धको खेलमा रिंकुलाई राष्ट्रिय टीममा समावेश गरिएको थियो । त्यसमा उनले एउटा टी–२० म्याच खेल्दै २१ बलमा ३८ रन बनाए । होचो कदका २५ वर्षीय रिंकु सिक्स हिटरका रुपमा परिचित छन् ।

भारतीय टीममा अन्तर्राष्ट्रिय अनुभव प्राप्त चार अलराउन्डर छन्, वाशिङ्टन सुन्दर, तिलक वर्मा, शिवम दुवे र सहवाज अहमद । उनीहरुमध्ये वासिङ्टन सबैभन्दा अनुभवी हुन् । वासिङ्टन खासमा एसियन गेम्स खेल्ने भारतीय टीमकै सबैभन्दा अनुभवी खेलाडी हुन् । उनले भारतका लागि ४ टेस्ट, १८ एक दिवसीय र ३७ टी-२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । हालैमात्र अष्ट्रेलियाविरुद्धको अन्तिम एक दिवसीयमा उनले भारतका लागि रोहित शर्मासँगै ओपनिङ गरेका थिए ।

अफ स्पिन बलरका रुपमा रहेका वासिङ्टनले टी-२० मा २९, एक दिवसीयमा १६ र टेस्टमा ६ विकेट लिएका छन् । ब्याटिङतर्फ उनको औसत टेस्टमा ६६.२५ छ भने एक दिवसीयमा २७.८८ र टी-२० मा १०.७० रहेको छ ।

अर्का अलराउन्डर तिलक वर्मा पनि भारतका उदीयमान स्टार हुन् । उनी वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा चम्केका थिए । २० वर्षीय वर्माले भारतका लागि एकमात्रै एकदिवसीय खेलेका छन् भने ७ टी-२० खेल्दा ३४.८० को औसतमा १७४ रन बनाएका छन् । उनी आक्रामक अन्दाजमा ब्याटिङ गर्ने गर्छन् भने उनको अफ ब्रेक बलिङ पनि निकै उपयोगी हुने गर्छ ।

अर्का अराउन्डर शिवम दुवेले एक एक दिवसीय र १५ टी-२० भारतका लागि खेलेका छन् । उनी मध्यम गतिको बलिङ गर्ने गर्छन् । आईपीएलमा उनले चेन्नई सुपरकिङ्सबाट खेलेका थिए ।

सहवाज अहमद स्पिनर बलर तथा बायाँ हाते ब्याट्सम्यान हुन् । उनले भारतका लागि तीन वटा म्याच खेले पनि ब्याटिङ भने गरेका छैनन् । बलिङतर्फ उनले ३ एक दिवसीयमा १२५ रन खर्चिंदै ३ विकेट लिएका छन् ।

बलिङतर्फ पनि भारतीय टीमसँग अनुभवको कमी छैन । भारतीय स्क्वाडमा मुख्य फास्ट बलरका रुपमा रहेका अर्सद्वीप सिंहसँग ३ एक दिवसीय र ३३ टी-२० अन्तर्राष्ट्रियको अनुभव छ । एक दिवसीयमा उनले विकेट लिन सकेका छैनन् भने टी-२० मा ५० विकेट लिइसकेका छन् ।

अर्का बलर अभेष खानसँग ५ एक दिवसीय र १५ टी-२० अन्तर्राष्ट्रियको अनुभव छ । उनले एक दिवसीयमा ३ र टी-२० मा १३ विकेट लिएका छन् । २६ वर्षीय अभेस दायाँ हाते फास्ट बलर हुन् ।

भारतको तेस्रो फास्ट बलर हुन् मुकेस कुमार । २९ वर्षीय मुकेशसँग पनि प्रशस्त अन्तर्राष्ट्रिय अनुभव छ । उनले एक टेस्ट, ३ एक दिवसीय र ५ टी-२० मा भारतको प्रतिनिधित्व गरेर खेलिसकेका छन् । तीनवटै फर्म्याटमा गरी अहिलेसम्म ९ विकेट लिएका छन् ।

भारतीय टीमसँग विशेषज्ञ स्पिनरका रुपमा रवि विस्नोइ छन् । २३ वर्षीय विस्नोइ लेगब्रक गुगली फ्याक्ने गर्छन् । उनले १ एक दिवसीय र १३ टी-२० मा भारतका लागि खेलेका छन् । टी-२० मा उनले १२ विकेट लिइसकेका छन् ।

भारतको स्क्वाडमा रहेकामध्ये ब्याट्सम्यान प्रभसिम्रन सिंह र जितेश शर्मा र अलराउन्डर आकाश दीपसँग मात्रै अन्तर्राष्ट्रिय अनुभव छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर