एमाले कोशी प्रदेश अधिवेशनमा मतगणना सुरु हुँदै
विराटनगर । नेकपा एमाले कोशी प्रदेशमा नेतृत्व चयनकालागि भएको निर्वाचनको मतगणना सुरु हुन लागेको छ ।मतगणनाका लागि आवश्यक तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ ।
गणनाकालागि उमेदवारका प्रतिनिधि गणना स्थलमा पुगेको एमाले कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठले बताए ।
उनका अनुसार ७ स्थानमा मतगणना हुने छ ।
उनले जिल्ला भूगोल र पदाधिकारीको मत गणना एकै पटक हुने जानकारी दिए । उनले निर्वाचनको परिणाम आज राती आउने बताए । कोशी प्रदेशमा १ अध्यक्ष, १ सचिव र २ उप सचिवका लागि निर्वाचन भएको हो । यसका लागि प्यानल वाइज उम्मेद्बारी परेको छ ।
यस्तै २५१ जना प्रदेस सदस्यका लागि ४२५ जनाको उम्मेद्बारी परेको छ । नेकपा एमाले कोशी प्रदेश कमिटीको अधिवेशनमा सहमतिमा नेतृत्व चयन हुन नसकेपछि मतदान भएको छ । कुल ९ सय ९७ जना प्रतिनिधिमध्ये ९७७ मत खसेको छ ।
मतदानमा २० जना प्रतिनिधि सहभागी नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशमा अध्यक्षका लागि मोरङको लेटाङका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकाल चुनावी प्रतिस्पर्धामा छन् ।
ढकाल अहिले केन्द्रीय सदस्य छन् भने खतिवडा प्रदेशको प्रचार विभाग प्रमुख हुन् । यसैगरी सचिबमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामा उमेदवार छन् । २ जना उपसचिवमा ३ जनाको मनोनयन परेको छ । उप सचिवमा खोटाङका देवान राई झापाकी जलबर्षा राजवङ्शी र मोरङका खेम नेपालीको मनोनयन दर्ता भएको छ ।