भूकम्प गएको आठ वर्षपछि स्वास्थ्य चौकीको पुनर्निर्माण सम्पन्न, गाउँपालिकाले अस्पताल सञ्चालन गर्ने – Nepal Press

भूकम्प गएको आठ वर्षपछि स्वास्थ्य चौकीको पुनर्निर्माण सम्पन्न, गाउँपालिकाले अस्पताल सञ्चालन गर्ने

सिन्धुपाल्चोक । २०७२ सालको विनाशकारी भूकम्पमा भत्किएको सुनकोशी–७ मा रहेको पांग्रेटार प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण पूरा भएको छ । भूकम्पमा पूर्ण भत्किएको स्वास्थ्य चौकी भवन अहिले अस्पताल सञ्चालन हुने गरेर स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ ।

दुई वर्ष अगाडि सिन्धुपाल्चोकका २१ वटा स्वास्थ्य चौकीको भवन निर्माणका लागि एकै पटक सम्झौता भएको थियो । सम्झौताको दुई वर्षपछि पांग्रेटार स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरेर सुनकोशी गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

पुनर्निर्माण प्राधिकरणअन्तर्गत तत्कालीन जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन)ले ठेक्कामार्फत स्वास्थ्य केन्द्रको भवन निर्माण सुरु गरिएको थियो । ५ करोड ६३ लाख ३१ हजार रुपैयाँ लागतमा निर्माण भएको स्वास्थ्य चौकी भवन एक समारोहबीच सघन शहरी विकास तथा भवन निर्माण आयोजना रामेछापले सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनालाई हस्तान्तरण गरेको छ ।

गाउँपालिका अध्यक्ष तिमिल्सिनाले वडा नम्बर ७ का अध्यक्ष ईश्वर तिमिल्सिनालाई भवनको साँचो प्रदान गरेका थिए । ६९७ वर्ग मिटरमा निर्माण भएको भवन दुई तला रहेको छ ।

भवनमा कम्तीमा १५ शय्यासम्मको अस्पताल सञ्चालन हुन सक्ने गरेर निर्माण गरिएको सुनकोशी गाउँपालिका–७ का वडाध्यक्ष तिमिल्सिनाले जानकारी दिए । अहिले स्वास्थ्य चौकी नै सञ्चालन गरिने र पछि यसमा १० शय्याको अस्पताल सञ्चालन गरिने उनले बताए ।

भुईं तलामा ३४ कोठा छन् । ल्याब, फार्मेशी, प्रजनन कक्षा, बिरामी भर्ना कक्ष, ल्याब, बैठक कोठालगायतका संरचनासहित अस्पताल सञ्चालन हुन सक्ने गरी भवन तयार भएको सघन शहरी तथा भवन निर्माण आयोजनाका सब इन्जिनियर सन्तोषकुमार यादवले जानकारी दिए ।

भवनको माथिल्लो तलामा अस्पतालका कर्मचारीहरुको लागि क्वाटरलगायतका संरचना छन् ।

स्वास्थ्य चौकी भवनको साँचो बुझेपछि सुनकोशी गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाले स्वास्थ्य चौकीमा अब गाउँपालिकाले अस्पताल सञ्चालन गर्ने बताए ।

स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गा प्राप्तिमा निकै कठिनाइ व्यहोरे पनि सबैको सहयोगले अहिले भव्य संरचना निर्माण सम्पन्न भएकोमा खुशी लागेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर