‘जनप्रतिनिधि हुँदा पनि जातीय विभेदले छोडेन’ – Nepal Press

‘जनप्रतिनिधि हुँदा पनि जातीय विभेदले छोडेन’

डोटी । डोटीका दलित समुदायका जनप्रतिनिधिहरुले आफूहरुले अझै जातीय विभेद खेप्नुपरेको गुनासो गरेका छन् । उनीहरुले जातीय विभेदविरुद्ध धेरै गोष्ठी तथा छलफल भए पनि व्यवहारमा विभेद नै कायम भएको बताए ।

जिल्लाको दिपायल सिलगढी नगरपालिकाले निर्माण गरेका कानूनहरुमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको अवस्थाको विषयमा दलित महिला संघ डोटीले आयोजना गरेको अन्तरक्रियामा दलित समुदायका जनप्रतिनिधिहरुले आफूहरुले सम्मानपूर्वक बाँच्नसमेत नपाएको दुःखेसो पोखेका हुन् ।

‘हामीले गैरदलितहरुको घरभित्रै पसेर खाना खान पाउनुपर्छ, उनीहरुसँगै विवाहवारी गर्न पाउनुपर्छ भनेका छैनौं’, दिपायल सिलगढी नगरपालिका- ४ का वडाध्यक्ष अशोक सोवले भने, ‘हामीलाई सम्मानपूर्वक बाँच्न दिनुपर्‍यो मात्रै भनेका छौं । तर, त्यो पनि हुँदैन ।’

आफूले अझै जातीय भेदभाव भोग्नुपरेकोमा आक्रोश पोख्दै उनले आफू वडा अध्यक्ष निर्वाचित भइसकेपछि पनि जातीय भेद्भाव भोग्नुपरेको सुनाए ।

‘शब्द अन्यथा नलागोस्, म वडाध्यक्षमा निर्वाचित भइसकेपछि गैरदलितहरुले ‘डुमलाई कसरी नमस्कार गर्नू ?’ भन्दा रहेछन्’, सोव थप्छन्, ‘यस विषयमा स्थानीय सरकारले कुनै छलफल गर्दैन ।’

उनले नगरपालिकाभित्रै अहिले पनि दलित र गैरदलितका लागि छुट्टाछुट्टै कुवाको व्यवीथा नहटेको बताए ।

त्यस्तै दिपायल सिलगढी नगर कार्यपालिका सदस्य पार्वती पार्कीले जातीय विभेदको विषयमा छलफल हुँदा अन्य सहभागीहरु भाग्ने गरेको सुनाइन् । ‘यस विषयमा सरोकारवालाहरुले ध्यान नदिएको मैले महसुस गरेको छु’, उनले भनिन् ।

उनले नगरभित्र हुने जातीय छुवाछूत तथा भेदभाव अन्त्य गर्न सबै जनप्रतिनिधिहरु एकजुट हुनुपर्ने बताइन् ।

आयोजक दलित महिला संघका केन्द्रीय कार्यक्रम संयोजक नरेश सोवले जातीय भेदभाव अन्त्य गर्न कानून बनाएर मात्रै नहुने भन्दै भएको कानूनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

उनले भने, ‘यो कुनै एक वर्ग वा समुदायको मात्रै सवाल हैन, सामाजिक सवाल हो र सामाजिक सवाल सबैको साझा हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर