एमाले कोशी चुनाव : साँझसम्म सबै नतिजा आउने
विराटनगर । नेकपा एमाले कोशी प्रदेशमा नेतृत्व चयनका लागि भएको निर्वाचनमा जिल्ला भूगोल अन्तर्गत सदस्य पदको मतगणना जारी छ । सोमबार राति पदाधिकारीको अन्तिम मत परिणाम सार्वाजनिक भएपनि भूगोलतर्फका सदस्यको गणना जारी छ ।
९ वटा टोली बनाएर गणना भइरहेको छ । गणकहरू बढाउने तयारी छ । मुख्य निर्वाचन अधिकृत चुडामणि आचार्यका अनुसार उम्मेदवार धेरै भएका कारण नतिजा आउन ढिलाइ भएको हो । एउटा मत पत्र गनिसक्न १० मिनेट लाग्ने भएकाले साँझसम्म लाग्ने उनले बताए ।
इलाम, पाँचथर सोलुखुम्वु र धनकुटाका सदस्य सर्वसम्मत भएपनि १० जिल्लाको गणनाा जारी छ । अहिलेसम्म पदाधिकारी, खुल्ला सदस्य, मजदुर क्लस्टर, मुस्लिम र अपांगता क्लस्टरको परिणाम सार्वजनिक भइसकेको छ । खुल्ला महिला सदस्यको पनि गणना जारी छ ।
एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भइसकेका छन् । प्रतिस्पर्धी विनोद ढकाललाई ७३ भोटले हराउँदै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । खतिवडाले ५१२ मत ल्याउँदा ढकाल ४३९ मतमा रोकिए ।