बलियो भारतविरुद्ध नेपालको बहादुरीपूर्ण प्रदर्शन, सम्मानजक पराजय – Nepal Press

बलियो भारतविरुद्ध नेपालको बहादुरीपूर्ण प्रदर्शन, सम्मानजक पराजय

काठमाडौं । एसियन गेम्स क्रिकेटमा नेपाल क्रिकेटको महाशक्ति भारतसँग २३ रनको साँघुरो अन्तरले पराजित भयो । बलियो प्रतिस्पर्धीविरुद्ध नेपाली टिमले सजिलै आत्मसमर्पण गरेन ।

चीनको हाङ्जाउ रंगशालामा भएको खेलमा भारतले टस जितेर ब्याटिङ यसकारण रोज्यो । नेपालविरुद्ध कीर्तिमानको वर्षा गर्ने धुनसहित मैदानमा उत्रिएका थिए भारतीय ब्याट्सम्यान । भारतले सुरुवात पनि विष्फोटक नै गर्यो । यसस्वी जैसवालले नेपालका सबै बलरहरुमाथि हमला गरे ।

पावरप्ले सकिँदासम्म भारतले यसरी ब्याटिङ गरिरहेको थियो, नेपालले मंगोलियाविरुद्धको म्याचमा बनाएको सर्वाधिक रनको रेकर्ड नै खतरामा पर्छ झैं देखिन्थ्यो । भारतीय ओपनिङ जोडीले पहिलो ४ ओभरमा ५४ रन जोड्दा नेपाली क्याम्प आतंकित बनिसकेको थियो । तर, त्यसपछि विस्तारै नेपालले रनमा अंकुश लगायो ।

अविनाश बोहराले पाचौं ओभरमा अलिकति कसिलो बलिङ गरे भने त्यसपछिको छैटौं ओभरमा दिपेन्द्र सिंह ऐरीले २ रन मात्रै खर्चिए । एउटा इन्डबाट यसस्वी जैसवालको आक्रमण जारी राख्दा अर्को इन्डमा कप्तान रुतुराज गाइक्वाड रन बनाउन संघर्ष गरिरहेका थिए । जैसवालको विकेट चाँडै लिन नसक्नु नै नेपालको दुर्भाग्य बन्यो । अन्यथा आज भारतविरुद्ध नेपालले सनसनी नतिजा निकाल्न सक्थ्यो ।

नेपालले पहिलो विकेटका लागि ९.५ ओभरसम्म पर्खिनुपर्यो । नेपाललाई पहिलो सफलता दिलाए क्राइसिसम्यान ऐरीले । कप्तान गाइक्वाड २३ बलमा २५ रन बनाएर आउट भए जतिबेला भारतले एक सय रनको आँकडा पार गरिसकेको थियो ।

भारतले दोस्रो र तेस्रो विकेट चाँडै गुमायो । तिलक वर्मालाई सोमपाल कामीले बोल्ड गरे भने जितेश शर्मालाई सन्दीपले क्याचआउट गराए । जैसवालले भने ४८ बलमा सतक बनाउँदै नेपाललाई दवावमा राखिरहे । शतक लगत्तै उनी १६.४ ओभरमा आउट भए । दीपेन्द्रले नै उनको विकेट लिए । त्यसबेला भारतले ठीक १५० रन बनाएको थियो ।

२० बल मात्र बाँकी रहेको अवस्थामा नेपालले भारतलाई १८० रनभित्र रोक्नसक्ने आशा बढेको थियो । तर, जैसवालले जहाँबाट छोडेका थिएँ, त्यहीबाट टिपेर रिंकु सिंहले भारतका लागि उत्कृष्ट फिनिसिङ गरे । उनले १५ बलमा ४ छक्कासहित ३७ रन बनाएपछि भारतले २ सयको आँकडा पार गर्न सफल भयो ।

नेपालको बलिङको कुरा गर्दा रोहित पौडेलको तारिफ गर्नैपर्छ । ललितसिंह राजवंशीको अनुपस्थितिमा नेपालसँग विशेषज्ञ स्पिनर सन्दीप लामिछाने मात्रै थिए । त्यसैले आज कप्तान रोहितले आफैंलाई बलिङमा उतारे । र, उनले तुलनात्मकरुपमा मितव्ययी बलिङ पनि गरे । उनले ३ ओभरमा २६ रन खर्चिए ।

२०३ रनको लक्ष्य नेपालका लागि पहाड नै थियो । तर, नेपाल लक्ष्य भेट्टाउने साहसका साथ मैदानमा उत्रियो । नेपालका ब्याट्सम्यानले भारतीय बलरसँग दविएर खेलेनन् । विकेटमा टिक्नेभन्दा पनि ठूला सट खेलेर बलरहरुलाई दवावमा राख्ने रणनीतिमा थियो नेपाली टीम । त्यसै बमोजिम ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखले बलरहरुमाथि हावी हुन खोजे ।

नेपालका लागि पहिलो छक्का हानेका आसिफ १० रनमै आउट भए । त्यसपछि नेपालले नियमित रुपमा विकेट गुमाइरह्यो र ठूला सट पनि खेलिरह्यो । लामो पार्टनरसीप कुनै पनि जोडीबीच बन्न सकेन । धेरै ब्याट्सम्यानले स्टार्ट लिए पनि ठूलो स्कोर बनाउन सकेनन् ।

ओपनर कुशल भुर्तेलबाट नेपालले सबैभन्दा बढी आशा राखेको थियो । तर, आज बढी आक्रमक खेल्न खोज्दा आज उनी चुके । उनले ३२ बलमा २८ रनमात्रै जोड्न सके । मध्यक्रममा कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी र सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गर्दै नेपालको आशा जगाए । तर, उनीहरुमध्ये कोही पनि अर्धसतकसम्म पुग्न सकेनन् । शिवम दुवैलाई लगातार तीन छक्का प्रहार गर्दै ऐरीले भारतीय क्याम्पमा खैलाबैला मच्चाइदिएका थिए । तर, उनी आउट भएपछि नेपालको जित सम्भावना टाढियो ।

त्यसो त नेपालको १० नम्बरसम्म नै ब्याटिङ क्षमता भएकाले झिनो आशा बाँकी नै थियो । तर, रन रेट आकाशिँदै गएपछि पछिल्लो क्रमका ब्याट्सम्यानहरुले त्यसलाई भेट्टाउन सकेनन् । अन्तिम तीन ओभरमा नेपाललाई ४७ रन चाहिएको थियो । यो एकदमै कठिन हो, तर टि–२० मा असम्भव भने होइन । नेपालसँग गुल्शन झा, करण केसी, र सन्दीप लामिछाने थिए । उनीहरु तीनै जना ब्याटिङ पनि गर्न सक्ने बलर हुन् । तर, तीनैजना आज एकैसाथ चुक्दा नेपाल लक्ष्यको नजिक पुग्न सकेन ।

समग्रमा आज नेपालले ब्याटिङ र बलिङ दुवैमा आफ्नो क्षमताको एक झलक प्रस्तुत गर्न सफल भएको छ । भारतको टिम पहिलो रोजाईको नभए पनि पहिलो रोजाईको भन्दा धेरै कमजोर छैन । आज खेलेको टिममा ९ जना खेलाडी राष्ट्रिय टिमबाट खेलिसकेका वा खेलिरहेका छन् । त्यसैले यो स्तरको टिमसँग नेपालको प्रदर्शन गर्वगर्न लायक हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *