नेकपा एसको जागरण अभियान- १३ सभा, १२ सयभन्दा धेरै पार्टी प्रवेश
काठमाडौं । नेकपा एकीकृत समाजवादीले एक हजारभन्दा धेरै नेता कार्यकर्ता पार्टीमा भित्र्याएको छ । समाजवादी जागरण अभियानको तेस्रो दिनसम्ममा पार्टीले करिब १२ सय नेता कार्यकर्ता भित्र्याएको हो ।
अभियानको तेस्रो दिन सप्तरीको छिन्नमस्ता, चन्ही, सिरहाको भगवानपुरलगायतका स्थानबाट ६५० भन्दा धेरै पार्टीमा प्रवेश गरेको उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।
उनीहरु एमाले, कांग्रेस, माओवादीलगायत विभिन्न पार्टीका रहेको उनले बताए । उनले स्वतन्त्र नागरिकहरुले पनि नेकपा एस रोजेको सुनाए । अघिल्ला २ दिनमा पाँच सयभन्दा बढीले पार्टी प्रवेश गरेको उनले जानकारी दिए ।
उनका अनुसार आजसम्म झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहामा गरी १३ वटा साना–ठूला सभा सम्पन्न भएका छन् । नवप्रवेशीलाई पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवलगायतले स्वागत गरेका छन् ।
सभामा अध्यक्ष नेपालले देशको वर्तमान अवस्थाको जानकारी गराउँदै आगामी दिनमा पार्टीले लिने रणनीति र कार्यदिशा जनतासमक्ष जानकारी गराउन १२ सय किलोमिटरको लम्बे अभियान सुरु गरेको बताए ।