मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न सांसदले गराए सरकारको ध्यानाकर्षण – Nepal Press

मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न सांसदले गराए सरकारको ध्यानाकर्षण

कृत्रिम अभाव सिर्जना गर्ने र नाफाखोरी गर्नेविरुद्ध सूचना दिन सरकारको अपिल

काठमाडौं । उपभोक्ता बजारमा देखिएको मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव, न्यून गुणस्तरलगायतका समस्या समाधानका लागि सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले उपभोक्ता बजारमा देखिएको मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव, न्यून गुणस्तरलगायतका विषयमा संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद उर्मिला माझीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ता गरेर जनतामा राहतको महसुस गराएको बताईन । सबै उपभोग्य वस्तुको मूल्य बढेको उल्लेख गर्दै उनले यसको मुख्य कारण कालोबजारी र कमिसनतन्त्र रहेको बताउदैँ बजार अनुगमनका लागि उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने माग गरिन् ।

सांसद गोमा लाभले खाद्य वस्तुको मूल्यवृद्धि, कालोबजारी र मिसावटले उपभोक्ता पीडित हुनुपरेको बताईन । सांसद जुलीकुमारी महतोले मूल्यवृद्धि र कालोबजारी बढिरहँदा पनि अनुगमनको प्रभावकारिता देखिन नसकेको बताइन् ।

सांसद अशोककुमार चौधरीले तराई क्षेत्रका कृषकले धानको समर्थन मूल्य पाउन नसकेको बताए । सरकारले धानमा तोकेको समर्थन मूल्य किसानले पाउनुपर्ने र केरा खेतीमा देखिएको रोग नियन्त्रणका लागि पहल हुनुपर्ने उनको भनाइ छ ।

सांसद उदय शमशेर जबराले चाडबाडको समयमा उपभोक्ता बजारमा मूल्यवृद्धि देखिएको भन्दै त्यसलाई नियन्त्रण र नियमनका लागि सरकारले पहल गर्नुपर्ने बताए । उनले भने, ‘पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि सरकारले फिर्ता लिएको छ । त्यो सकारात्मक छ । तर पछिल्लो तीन महिनामा महँगी अत्यन्त बढेको छ । चाडबाडको समयमा बजारमा गोलभेडा, चिनी, चामलजस्ता उपभोग्यवस्तुमा मूल्यवृद्धि भएको छ । काठमाडौँ उपत्यकालगायतका बजारमा कालोबजारी र कृत्रिम अभावका समस्या देखिएका छन् ।’ उनले बजार अनुगमन प्रभावकारी बनाउन संसदमार्फत् सरकारको ध्यानाकर्षण गराए ।

अधिकांश सांसदले सरकारको ध्यानाकर्षण गराएकै दिन बसेको मन्त्रिपरिषद् बैठकमा पनि यसै विषयमा छलफल भएको छ । बैठकपछि सरकारले आसन्न चाडपर्वको अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी अस्वभाविक मूल्यबृद्धि, कालोबजारी र अखाद्य वस्तु मिसावट गरी गुणस्तरहीन वस्तु विक्री वितरण गर्नेजस्ता अनुचित कार्य नगर्न नगराउन सबै उद्योगी, व्यवसायीलाई सरकारको अपिल गरेको छ । यदि बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र नाफाखोरी गर्ने व्यक्ति, फर्मलाई कानुनबमोजिम कडा कारबाहीका लागि कोही कसैसँग सूचना भएमा हेलो सरकार, वाणिज्य विभागको पोर्टल वा टोल फ्री नम्बर ११३७ मा सूचना दिन सरकारले आम उपभोक्ता वर्गलाई अनुरोध गरेको सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी गराइन् ।

उनले भनिन्, ‘उपभोग्य वस्तुको बिक्री वितरणसँग सम्बन्धित सार्वजनिक निकायले तत्काल देशभर सुपथ मूल्यका पसल सञ्चालन गर्ने, बजार अनुगमनका लागि स्थापित सम्पूर्ण संयन्त्रलाई थप सक्रिय र क्रियाशील बनाई बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउने, अस्वभाविक मूल्यबृद्धि र कालोबजारी नियन्त्रण गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, अस्वभाविक नाफाखोरी गर्ने र अस्वभाविक रुपमा मूल्य बृद्धि गरी कालोबजोरीमा संलग्न हुने जोकोहीलाई प्रचलित कानुनबमोजिम कडा कारवाही गर्ने र त्यसको प्रतिवेदन सर्वसाधारण सबैको जानकारी लागि सम्बन्धित निकायबाट दैनिक रुपमा सम्प्रेषित गर्न नेपाल सरकार निर्देशन गर्दछ ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर