कोशीको चुनावलाई नजिकबाट नियालेको भन्दै ओलीले भने- निर्वाचन कमिटीका साथीहरूले निष्पक्ष गरेनन् – Nepal Press

कोशीको चुनावलाई नजिकबाट नियालेको भन्दै ओलीले भने- निर्वाचन कमिटीका साथीहरूले निष्पक्ष गरेनन्

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नेतृत्वका लागि भएको निर्वाचनमा खटिएकाहरूले निष्पक्षरूपमा काम गर्न नसकेको आरोप लगाएका छन् ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले निर्वाचनमा खटिएकाहरूको काम कारबाही टिप्पणीयोग्य र आलोच्य भएको बताएका हुन् ।

‘जस्तो निर्वाचन आयोगको काम कारबाही हुनुपर्थ्यो त्यस्तो हुन सकेन’, ओलीले भने, ‘आगामी दिनमा त्यस्ता कुराहरू सच्याइनु पर्दछ, न्यायिक मन नभएका, न्यायमा निष्पक्ष नभएका, न्यायपूर्ण व्यवहार गर्न नसक्ने साथीहरू निर्वाचनमा नबस्नुपर्थ्यो ।’

उनले निर्वाचन गराउन खटिएकाहरूले संयम गुमाएको समेत बताए । कोशी प्रदेश अधिवेशनलाई नजिकबाट मसिनो गरी नियालेको ओलीको भनाइ थियो ।

‘अधिवेशनमा कति लोकतान्त्रिक अभ्यास भए, कति अलोकतान्त्रिक आचरण भए, कति लोकतान्त्रिक र जिम्मेवार अभिब्यक्ति दिईए, कति सहनशीलतापूर्ण अभिव्यक्ति आए आएनन् यी सबै मैले नजिकबाट हेरेको छु । कसले कस्तो खालको भूमिका खेल्यो त्यो पनि हेरेको छु’, ओलीले बताए ।

उनले चुनाव लड्नु आफ्नो अधिकारको कुरा भएपनि त्यसलाई स्वच्छ बनाउनु भनेर उद्घाटनको दिन नै भनेको स्मरण गराए ।

उनले हुँदा सहमतिबाट र नहुँदामात्र निर्वाचनमा जानको लागि आफूले उद्घाटनको बेलामा नै भनेको भएपनि अधिवेशनमा भएका गतिविधिहरू गैरलोकतान्त्रिक चरित्रको भएको उल्लेख गरे ।

चुनाव लड्दा निष्पक्ष हुनुपर्छ भनेर भन्दा भन्दै पनि त्यस्तो हुन नसकेको ओलीले बताए । धैर्य र मेहनतले उपलब्धि पाउन सकिने भएपनि नेकपा हुँदा आफूलाई पार्टीको साधारण सदस्यताबाट हटाउँदासमेत धैर्यताले नै नेकपा एमाले अहिले यहाँ आएको उल्लेख गरे ।

‘सर्वसम्मत नेतृत्व चयन नै सबैभन्दा बलियो लोकतान्त्रिक अभ्यास हो । निर्वाचनले वैमनश्यता र रिसराग निम्त्याउँछ’, उनको भनाइ थियो ।

कोशी प्रदेश अधिवेशन घनश्याम खतिवडा र विनोद ढकाल प्यानल बनाएर चुनावमा होमिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर