एमाले गण्डकी अधिवेशन: अध्यक्षमा नवराज र मायानाथले दिए उम्मेदवारी
पोखरा । नेकपा एमाले गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीले उम्मेदवारी दिएका छन् ।
निर्वाचन मण्डलले सार्वजनिक गरेको सूचीअनुसार हालका अध्यक्ष शर्मा र केन्द्रीय सदस्य अधिकारीले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन छ ।
मीनप्रसाद गुरुङ र बाबुराम विकले उपाध्यक्षमा उम्मेदवारी दिँदा धनञ्जय दवाडी र रश्मि आचार्यले सचिवमा उठेका छन् । सहसचिवमा अर्जुनकुमार सुनाम, दामबहादुर विक र सन्तोष रावल, सहसचिव महिलातर्फ मञ्जु अधिकारी र मीना गुरुङले उम्मेदवारी दिएका छन् ।
अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट ९०७ प्रतिनिधि छनोट भएका छन् । कास्कीबाट सबैभन्दा धेरै १४६ र मनाङबाट सबैभन्दा कम १४ जना प्रतिनिधि अधिवेशनमा सहभागी छन् । १६५ सदस्यीय प्रदेश कमिटीको लागि ३८२ जनाको उम्मेदवारी परेको छ ।
अधिवेशनबाट सर्वसम्मत नेतृत्व चुन्न अझै पनि प्रयास भैरहेको गण्डकी इन्चार्ज गोकर्ण बिष्टले बताए ।