‘बुद्धको पहिलो पाइला’को पहलमा ३२ जनाको निःशुल्क घुँडा प्रत्यारोपण – Nepal Press

‘बुद्धको पहिलो पाइला’को पहलमा ३२ जनाको निःशुल्क घुँडा प्रत्यारोपण

रुपन्देही । बुद्धको पहिलो पाइला परियोजनाअन्तर्गत लुम्बिनी क्षेत्रका ३२ जना बिरामीको निःशुल्क घुँडा प्रत्यारोपण गरिएको छ ।

थाइल्याण्डका बौद्ध ध्यान गुरु, सुधर्मगुरु र सिरीराज अस्पताल हाडजोर्नी तथा नशारोग विशेषज्ञ प्राध्यापक डा. किराती सि वानिचको पहलमा बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर घुँडा प्रत्यारोपण स्वास्थ्य शिविर गरिएको थियो ।

सिद्धार्थ सिटी नगर हस्पिटल भैरहवासँग सहकार्य गरी थाइल्याण्डको सिरीराज हस्पिटलका प्रोफेसर डा. किराती सिको नेतृत्वमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुको टोलीले अत्याधुनिक प्रविधिमार्फत घुँडाको प्रत्यारोपण गरेको हो ।

थाइल्याण्डको सिरीराज हस्पिटल १३५ वर्ष पुरानो छ । महँगो र खर्चिलो उपचार मानिने घुँडाको प्रत्यारोपण बुद्ध जन्मस्थल लुम्बिनी र यस आसपासका बिरामीलाई केन्द्रित गरी निःशुल्क रुपमा गरिएको थियो ।

घुँडा प्रत्यारोपणमा खटिएका चिकित्सक र बिरामीहरुको उत्साहका लागि बुधबार आयोजित कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले थाइल्याण्डको चिकित्सकहरुको टोलीले लुम्बिनी क्षेत्रका स्थानीयको उपचारमा ठूलो योगदान दिएको बताए ।

उनले बुद्धको उपदेश मानव सेवा नै भएकाले पवित्रस्थलमा घुँडाको प्रत्यारोपण गरेर थाइल्याण्डको चिकित्सक टोलीले पवित्र काम गरेको बताए ।

थाइल्याण्डका बौद्धध्यान गुरु भिक्षु सुधर्मले लुम्बिनी क्षेत्रका आर्थिक रुपमा विपन्नहरुलाई घुँडाको सफल प्रत्यारोपण गर्न पाएकोमा खुशी व्यक्त गरे ।

नेपालमा स्वास्थ्य शिविर सञ्चालनका लागि भिक्षु फ्रा अनिल सुगन्धले समन्वय गरेका थिए । उनका अनुसार डा. किराती नेतृत्वको बुद्धको पहिलो पाइला परियोजनाले थाइल्याण्डका ग्रामीण बस्तीमा पनि स्वास्थ्य शिविर गर्दै आएको छ ।

थाइल्याण्ड बाहिर स्वास्थ्य शिविर सञ्चालन गर्ने सोचअनुसार पहिलो कार्यक्रम बुद्ध जन्मस्थल लुम्बिनीमा गरिएको भिक्षु सुगन्धले बताए ।

लुम्बिनी आएर बिरामीहरुको उपचार गर्न पाउँदा निकै खुशी लागेको सिरीराज अस्पताल हाडजोर्नी तथा नसारोग विशेषज्ञ प्राध्यापक डा. किरातीले बताए । उनले उपचार गरेकाहरु २ घन्टामै हिंड्न सफल भएको बताए ।

थाइल्याण्डका राजाको जन्मदिनको अवसर पारेर गत जुलाई २७ र ३० तारिखका दिन बुद्ध जन्मस्थल लुम्बिनीमा घुँडा प्रत्यारोपणका लागि निःशुल्क रुपमा छनौट स्वास्थ्य शिविर गरिएको थियो । त्यतिखेर ७०७ जनाको निःशुल्क परीक्षण गरिएको थियो ।

घुँडा प्रत्यारोपणका लागि वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ र शल्यक्रिया चिकित्सक १६, १४ जना थोरापिस्ट र नर्स तथा अन्य सहयोगीसहित ४५ जनाको टीम थाइल्याण्डबाट आएको थियो ।

सिद्धार्थनगर सिटी अस्पतालका अध्यक्ष डा. सुवोधकुमार पाण्डेयले नेपालमा प्रविधिका कारणले घुँडाको उपचार महँगो भएको बताए ।

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, राजकीय थाई विहार लुम्बिनीका सुफोत भन्ते, लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यलगायतले यस्ता अभियानलाई निरन्तरता दिन आग्रह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *