विश्वकप खेल्ने क्याप्टेनको बैठकमा निदाएको आरोपपछि बभुमाले दिए प्रष्टीकरण
काठमाडौं । विश्वकप क्रिकेट २०२३ को पूर्वसन्ध्यामा आज सहभागी १० वटै देशका कप्तानहरुको बैठक भारतको अहमदावादमा बस्यो । बैठकको एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा दक्षिण अफ्रिकाका कप्तान तेम्बा बभूमा कुर्सीमा बसीबसी निदाइरहेका देखिन्छन् ।
यो तस्बिर शेयर गर्दै धेरैले उनलाई ट्रोल गरेका छन् । तर, बभूमा भने आफू ननिदाएको दाबी गर्छन् । क्यामराको एंगलले गर्दा आफू निदाएको जस्तो देखिएको उनको भनाइ छ । ट्वीटरमा उनले लेखेका छन्, ‘म खासमा निदाएको थिइनँ । यसमा क्यामराको एंगल दोषी छ ।’
तर, धेरैले भने उनको भनाइलाई विश्वास गरेका छैनन् । तस्बिर हेर्दा श्रीलंका र न्यूजिल्यान्डका कप्तानको बीचमा बसेका उनी मस्तसँग निदाइरहेका देखिन्छन् ।