एमालेमा आन्तरिक प्रतिस्पर्धा : श्रीखण्ड कि खुर्पाको बिँड ?
नेकपा एमालेका प्रथम ऐतिहासिक प्रदेश अधिवेशन धमाधम सम्पन्न हुँदैछ । सबैभन्दा पहिले सम्पन्न लुम्बिनी प्रदेशको प्रथम अधिवेशनले सहमतिको भगीरथ प्रयत्नका बाबजुद चुनावी प्रतिस्पर्धामार्फत नेतृत्व चुनेको थियो । केवल दुई मतको अन्तरमा नेतृत्वको फैसला भएको थियो । त्यसपछि लगत्तै सम्पन्न बाग्मती प्रदेशको प्रथम अधिवेशनले विद्युतीय भोटिङ मेसिनको प्रयोग गरेर नेतृत्वको चुनाव गर्यो । सहमतीय नेतृत्व निर्माण हुने अनेक अड्कलबाजीबीच भएको अधिवेशनमा सबै पदाधिकारी र झण्डै आधा सदस्यहरूको निर्वाचन भयो ।
कर्णाली प्रदेशको प्रथम अधिवेशनले पनि निर्वाचनबाटै नेतृत्व निर्माण गरेको छ । कोसी प्रदेशमा नेतृत्वको फैसला सहमति र निर्वाचन दुवै विधिबाट भएको छ । बाँकी सुदूरपश्चिम, गण्डकी र मधेश प्रदेशमा सहमति वा निर्वाचन के हुने हो प्रस्ट भइसकेको छैन ।
अहिले एमालेभित्र आमरूपमा सहमतिबाट नेतृत्वको फैसला गराउने पार्टी नेतृत्वको चाहना र विधानले ग्यारेण्टी गरेको आफ्नो सार्वभौम अधिकारको प्रयोग गरी निर्वाचनमार्फत नेतृत्वको फैसला भएको हेर्ने कार्यकर्ताको चाहना मुखरित भएको देखिन्छ । कार्यकर्तामा सहमतिको नाउँमा नेतृत्व थोपरिने हो कि भन्ने चिन्ता एकातिर छ भने अर्कातिर चुनावको नाउँमा एमालेमा फेरि समूहबन्दी सुरू हुने हो कि भन्ने चिन्ता नेतृत्वमा छ । यी दुवै चिन्ता अत्यन्त स्वाभाविक छन् ।
अहिले एमालेभित्र आमरूपमा सहमतिबाट नेतृत्वको फैसला गराउने पार्टी नेतृत्वको चाहना र विधानले ग्यारेण्टी गरेको आफ्नो सार्वभौम अधिकारको प्रयोग गरी निर्वाचनमार्फत नेतृत्वको फैसला भएको हेर्ने कार्यकर्ताको चाहना मुखरित भएको देखिन्छ ।
निर्विवाद सत्य हो, पदका आकाङ्क्षीबीच हुने अर्ग्यानिक सहमतिले पार्टीमा सिनर्जी पैदा गर्छ, अग्रगतिको लागि अथाह शक्ति पैदा गर्छ । त्यस्तो एकताले असम्भव ठानिएका उपलब्धि हासिल गर्न सकिन्छ । तर, बलपूर्वक गरिएको सहमतिले शङ्का, सन्त्रास र सन्नाटाको सिर्जना गर्छ । त्यस्तो सहमतिले कमिटीमा सामूहिक भावना, समान जवाफदेहिता र सहकार्यको वातावरण तयार गर्न सक्दैन । बरू यदि जित्ने र हार्ने दुबै उच्च जनवादी संस्कारले लैस भए न जित्नेमा दम्भ देखिन्छ न त हार्नेमा निराशा र कुण्ठा नै ।
पार्टीभित्रको चुनावी प्रतिस्पर्धामा बढी मन मिल्नेको बीचमा मत आदानप्रदानको लागि सहकार्य आवश्यक हुने र विस्तारै त्यसले समूहबन्दीको रूप लिने खतरा कायम रहन्छ । भनिएको छ- मानवबीचको प्रतिस्पर्धा जङ्गली युगदेखि नै सुरू भयो । मानव इतिहास दुश्मनीपूर्ण प्रतिस्पर्धाको इतिहास हो । राज्यको उत्पत्ति भएपछि त भयानक राजनीतिक प्रतिस्पर्धाबाट मानव समाज गुज्रँदै आएको छ । त्यसकारण पार्टीभित्र हुने प्रतिस्पर्धालाई विधि, पद्धति र जनवादी कम्युनिष्ट परम्पराबाट निर्देशित र व्यवस्थित गर्न सकिएन भने प्रतिस्पर्धा दुश्मनीपूर्ण बन्ने र त्यसले पार्टीको भविष्यलाई नै खतराको दिशातर्फ डोर्याउने अवस्था उत्पन्न हुन्छ । ‘जसरी पनि जित्नैपर्ने’ र ‘जेजे हतकण्डा प्रयोग गरेर भए पनि जित्ने’ प्रयास हुन थालेपछि भने प्रतिस्पर्धा पेचिलो हुन्छ । त्यस्तो अवस्थाले शत्रुतापूर्ण परिस्थिति सिर्जना हुनसक्छ । पार्टीका सबै नेता कार्यकर्ताले गम्भीर हुनुपर्ने विषय हो यो ।
पार्टीमा हुने आन्तरिक प्रतिस्पर्धाको निकै सकारात्मक पक्ष पनि छन् । जस्तोसुकै ‘घाँटीकटुवा’ प्रतिस्पर्धामा पनि सभ्य समाजले सुरू गरेको सहकार्य, सद्भाव र एकता खण्डित नभएको खण्डमा भने पार्टीको आन्तरिक स्पर्धा फलदायी हुन्छ । सभ्य र स्वच्छ तरिकाले पार्टीभित्र श्रेष्ठताको खोजी गर्दा त्यसले आमनिर्वाचनमा समेत सहयोग पुर्याउँछ । चुनावी प्रतिस्पर्धाले नेता कार्यकर्ताको मात्र होइन, आममतदाताको चासो पनि ह्वात्तै बढाउँछ । सञ्चारमाध्यमहरूले बनाउने मुख्य समाचार, सामाजिक सञ्जालको प्रयोग र उम्मेदवारले गर्ने प्रचारप्रसारले समाजमा एक किसिमको तरङ्ग पैदा हुन्छ ।
बलपूर्वक गरिएको सहमतिले शङ्का, सन्त्रास र सन्नाटाको सिर्जना गर्छ । त्यस्तो सहमतिले कमिटीमा सामूहिक भावना, समान जवाफदेहिता र सहकार्यको वातावरण तयार गर्न सक्दैन । बरू यदि जित्ने र हार्ने दुबै उच्च जनवादी संस्कारले लैस भए न जित्नेमा दम्भ देखिन्छ न त हार्नेमा निराशा र कुण्ठा नै ।
प्रतिस्पर्धामा सहभागी नेताहरूको सार्वजनिक रूपमै बहस-पैरवी गरिन्छ । जीत-हारको व्यापक चर्चा-परिचर्चा हुन्छ, प्रतिस्पर्धीहरूका सबल र दुर्बल पक्ष उजागर हुन्छ । प्रतिस्पर्धामा जित्ने त नेता हुन्छ नै, हार्ने पनि नेता बन्छ । उनीहरूको लोकप्रियता बढ्छ । प्रतिस्पर्धामा पार्टीको सम्पूर्ण र्याङ्क एन्ड फायल स्वाभाविक सक्रिय हुन्छ । पार्टी जीवनमा तरङ्ग पैदा हुन्छ । साँध नलगाइराखेको खुकुरीमा साँध लगाएको जस्तो हुन्छ । जमेको पोखरीमा ढुङ्गा हाने जस्तो हुन्छ ।
एमालेले पहिले नै स्थापित गरेको आन्तरिक प्रतिस्पर्धा पुनः सुरू भएकोमा नेपालको राजनीतिक बजारमा विभिन्न तथ्यहीन टीकाटिप्पणी गर्न थालिएको छ । जनताको बहुदलीय जनवादले सगर्व अङ्गीकार गरेको निर्वाचनबाट श्रेष्ठता हासिल गरेरै सत्ता सञ्चालन गर्ने कार्यनीतिले एमालेभित्र नेतृत्व निर्माणमा हुने निर्वाचन अत्यन्त सामान्य र स्वाभाविक विषय हो भन्ने प्रस्टै छ । कमिटी निर्माणमा सहमति हुँदा पेलेर सहमति गरियो भन्ने र निर्वाचन हुँदा नेतृत्वविरूद्ध विद्रोह भयो भन्ने बजारिया टिप्पणीलाई किमार्थ स्वीकार गर्न सकिँदैन । एमालेको आन्तरिक जीवनलाई भद्रगोल देखाएर आफ्नो राजनीतिको रोटी सेक्न चाहनेहरूको अभिलाषा पूरा हुँदैन भन्ने प्रस्टै छ ।
एमालेजनले विगत लामो समयदेखि आत्मसात गर्दै आएको आन्तरिक प्रतिस्पर्धालाई अझै व्यवस्थित, पद्धति निर्देशित, स्वच्छ र स्वस्थ बनाउने चुनौतीको एमालेले कुशलतापूर्वक सामना गर्छ नै । आफैंले विकास गरेको यो परम्परालाई आफ्नो जीवनको अभिन्न अङ्ग बनाउँछ । किनभने एमालेमा हुर्किएको जनवादी संस्कृति कसैको करकापमा वा कसैलाई देखाउन नभइ आफ्नो जीवनलाई सहज रूपमा अघि बढाउन हो । भनिएको छ- अरूको त्यो पक्षलाई घृणा गरिन्छ, जुन आफूमा हुँदैन । एमाले बाहिरबाट एमालेले विकास गरेको राम्रो परम्पराको खिसीट्युरी हुनु कुन नौलो कुरा भयो र ! नेपाली भाषामा एउटा उखान छ- ‘चिन्नेलाई श्रीखण्ड, नचिन्नेलाई खुर्पाको बिँड’ ।
सबैले प्रस्ट रूपमा बुझे हुन्छ, उन्नत आन्तरिक जनवाद एमालेको लागि श्रीखण्ड हो, खुर्पाको बिँड होइन ।