१४ वर्ष कतार बसेर फर्केका बल्लधन: टमाटर उब्जाएर कमाउँदै छन् मनग्गे धन (भिडिओ)
काठमाडौं । ‘मैले एकै वर्षमा २२ लाखसम्मको तरकारी बेचेको छु’, कृषक बल्लधन राई उत्साहित सुनिन्छन् ।
ललितपुरको लुभुमा १२ रोपनी क्षेत्रफलमा फैलिएको फर्म हाउस छ बल्लधनको । ९ हजार बोट टमाटरमात्रै छन् । फर्सी, बोडी, भिन्डी, तीतेकरेला, मुला, काउली, गाँजर, काँक्रोलगायत तरकारीहरु पनि लटरम्म फलेका छन् । तर, बल्लधनको मुख्य खेती भनेको टमाटर नै हो । बाँकी वैकल्पिक खेतीहरु हुन् ।
गएको असारदेखि बल्लधनलाई भ्याइनभ्याइ छ । हरेक दुई दिनमा ३०० किलोभन्दा बढी टमाटर कालिमाटीमा पठाउँछन् । टमाटर नटिपेको दिन फार्ममा फलेका ३०० किलोभन्दा बढी अन्य तरकारीहरु गाडामा हालेर लुभु चोकतिर बेच्न निस्कन्छन् । दिनको १६ देखि २२ हजारसम्मको कारोबार गर्छन् ।
अनि गाडामै हालेर त्यति धेरै तरकारी बेच्न सकिन्छ त ?
बल्लधन टमाटरको फेदमा हालिएका थोपा सिंचाइको पाइप मिलाउँदै बोल्छन्, ‘म गाडा लिएर निस्केपछि तीन घण्टा पनि लाग्दैन । सबै ग्राहकले चिनेका छन् । मेरो तरकारी फ्रेस हुन्छ, हारालुछ हुन्छ ।’
कतारदेखि किसानसम्म
बल्लधनको घर ओखलढुंगा हो । सन् २००२ मा बेरोजगारी र अभावले थिचिएको जीवनलाई सहज बनाउन कतार उडे । होटेलमा काम गरे ।
सन् २०१६ सम्म पनि बल्लधन कतारमै थिए । विदेश उडेको १४ वर्षपछि नेपाल फिरे । बल्लधनलाई कृषिमा केही गर्नु थियो । कतारमा रहँदा कृषिका भिडियो, डकुमेन्ट्रीहरु खुब हेर्थे । आधुनिक खेतीबारे अध्ययन पनि गरे र नेपाल फिरेपछि १९ रोपनी जग्गा ललितपुरको सन्तानेश्वरमा लिजमा लिएर तरकारी खेती सुरु गरे ।
कतारमा हुँदा कमाएको चानचुन १७ लाख रुपैयाँ तरकारी खेतीमा हालेका थिए । राज्यले कृषिमा अनुदान दिन्छ । तर, पहुँच भएका, राजनीति गर्नेहरुले मात्रै पाउने त्यो अनुदान बल्लधनले पाउने सवालै रहेन । उनले अनुदान पाइन्छ भनेर सुनेका त थिए । तर, आफूले नपाउने अनुदान पाउन कोसिस नै गरेनन् ।
उनलाई साथ दिने श्रीमती थिइन् । श्रीमान र श्रीमतीमात्रैको मेहनतले एक वर्षमै लगानी सुरक्षित पनि गरे । बल्लधन सुनाउँछन्, ‘मैले एक वर्षमै लगानी उकासेको थिएँ । त्यसपछि त यही पेशा नै सबैथोक भयो । तरकारी खेतीकै कारण लुभुमा घर पनि बनाएँ । अहिले पनि वर्षको २२-२५ लाखको त कारोबार गर्छु ।’
बल्लधन कृषक बन्दै गर्दा १४ वर्ष कतारमा लगानी गरेको अनुभव कहीं पनि काम लागेन । अलिअलि पैसा कमाए । त्यही पैसा कृषिमा खन्याए । बल्लधन भन्छन्, ‘अर्काको देशमा सियो बोकेर हिँड्नुभन्दा आफ्नै देशमा ठूलो रुख ढालेर मुढा बोकेर हिँड्नु नै सजिलो रैछ । मलाई त अर्काको देशमा सियो बोकेर हिँड्न गाह्रो भयो । अनि देशमै मुढा बोकेर हिँडिरहेको छु ।’
विविध तरकारी खेतीले मात्रै कृषकलाई बचाउँछ
मुख्यतयाः टमाटर खेती भए पनि बल्लधनको फार्ममा ६५ प्रतिशतभन्दा ज्यादा अन्य तरकारीहरु पाइन्छन् । टमाटरको फेदमा काउली हुन्छ । काउली छेवैमा मुला । तीतेकरेलाको फेदमा मुला र काउली त हुने भइहाल्यो, थाँक्रोमा काँक्रो पनि हुन्छ । काँक्रो छेवैमा बोडी लटरम्म फलिरहेको हुन्छ । छेवैमा एक वर्ग फिटको माटो खाली रह्यो भने त्यहाँ फर्सी हालिदिन्छन् ।
टाउको छेवैमा झुण्डिरहेको पाँच किलोको फर्सी देखाउँदै बल्लधन भन्छन्, ‘यी देख्नुभो ? यहाँ मैले एक मुठी माटो पनि खाली छाडेको छैन । यो फर्सी पाँच किलोको छ । ८० रुपैयाँको दरले ४०० हुन्छ । त्यो भनेको एक डेढ मिटर एरियाको भाडा त उठ्यो नि !’
उनी प्रतिरोपनी वार्षिक २३ हजार जग्गाको भाडा तिर्छन् । कृषिमा बल्लधनले राम्रै गरे पनि देशमा धेरै कृषकहरु टाट पल्टिएका छन् । कोही ऋणमा डुबेका छन् । कसैको तरकारीले भाउ नपाएर लगानी जोखिममा छ । कोही कृषिमा केही गर्न नसकेर विदेश पलायन भएका छन् ।
ती सबै कृषकलाई बल्लधनको सुझाव छ, ‘पहिला त मेहनत गर्नुस् । फार्ममा काम गर्ने मान्छे राखेर बजारतिर नडुल्नुस् । टमाटर खेती गर्दै हुनुहुन्छ भने अन्य वैकल्पिक तरकारीहरु पनि लगाउनुस् । भाउ घट्यो भनेर नआत्तिनुस् । भाउ बढ्यो भनेर पनि नफुर्किनुस् । निरन्तर लागिरहनुस् । नतिजा नराम्रो आउँदैन ।’
बल्लधनले ८ रुपैयाँ प्रतिकिलो समेत टमाटर बेचेका छन् । ९५ रुपैयाँ प्रतिकिलो पनि बेचेका छन् । तर, ८ रुपैयाँ प्रतिकिलो टमाटर बेच्दा पनि आफू नआत्तिएका कारण ठीकठाक चलिरहेको उनको तर्क छ । वार्षिक हिसाब गर्दा औसत प्रतिकिलो निकाल्ने गर्छन् । त्यही औसत हिसाबले आफूलाई जोगाएको बल्लधनको भनाइ छ ।
तरकारी खेतीमा ‘बल्लधन स्टाइल’
टमाटर लगाएपछि ८५ दिनबाट फल दिन सुरु हुन्छ । निरन्तर ९-१० महिना फल दिन्छ । यद्यपि चाकड चाहिँ गरिरहनुपर्यो । टमाटरलाई चाहिने क्याल्सियम, आइरन, पोटासियमको अभाव हुनु भएन ।
तर, बल्लधन भने पहिला कम्पोस्ट मल ल्याउँछन् । आउँदो वर्ष हालिने ७ टिपर काँचो मल अहिले नै ल्याइसकेका छन् । आउँदो चैतमा टमाटरको नयाँ बोट हाल्दै गर्दा एकएक किलोको पाकेको मल खाल्डा खनेर गाड्छन् । त्यही मलमा क्याल्सियम, पोटासियम, आइरन हाल्छन् । त्यहाँ टमाटरको विरुवा रोप्छन् ।
सन्तानेश्वरमा हुँदाखेरि चाहिँ मलका लागि बल्लधनले गाई नै पालेका थिए । फार्मबाट निस्केका झार र घाँस खुवाएर गाई पालेका थिए । अहिले गाई छैन ।
बल्लधन भन्छन्, ‘मैले खेती गर्दा कुनै अध्ययन त गरिनँ । तर, मैले के बुझेको छु भने सबैभन्दा पोसिलो त आमाकै दूध हुन्छ । टमाटरलाई चाहिने गोबर मल हो । अनि त्यसमा अन्य आइरन, क्याल्सियम, पोटासियम थपिदिने हो । म त टमाटर हेरेरै थाहा पाउँछु, यसलाई के चाहिएको छ भनेर । दाना चाउरियो भने आइरनको कमी हुन्छ । त्यस्तै टमाटरको बोट कालो भयो, डडुवाले खायो भने उपचार गरिहाल्नुपर्छ ।’
बल्लधनसँग गफ गरेर समय बिताउने फुर्सद एक मिनेट पनि छैन । रातको ९ बजेसम्म काम गर्छन् । विषादी हाल्ने, तरकारी टिप्ने, छाँटकाँट गर्ने काम रुटिनमा गर्छन् । बल्लधन भन्छन्, ‘दुई घण्टा अनावश्यक काममा अलमलिएँ भने मैले घाटा खाइसक्छु । जे गर्नुपर्ने हो, त्यो समयमै गरेर सिध्याउँछु ।’
बालबच्चालाई त्यति स्याहार्नु पर्दैन, जति तरकारीलाई !
स्याहार पुगेन भने तरकारी राम्रोसँग सप्रिँदैन । त्यही भएर अनावश्यक गफ गरेर आधा घण्टा समय पनि खेर फाल्दैनन् । डढुवा रोग लाग्यो भने २४ घण्टाभित्र फार्मका सबै टमाटर सखाप हुन्छ । पोटासियम, क्याल्सियम कम भयो भने राम्रोसँग फल दिँदैन । हरेक मिनेट एकएक बोटलाई ख्याल गरिएन भने फार्मकै टमाटर खत्तम हुन्छ । त्यही भएर टमाटरलाई एकदमै धेरै स्याहार गर्नुपर्ने बताउँछन् बल्लधन ।
टमाटरको अवस्थाबारे प्राविधिकहरुलाई कमैमात्र देखाउँछन् । तरकारीका बोटमा के समस्या आइलाग्यो, त्यो थाहा पाउन उनको अनुभव नै काफी छ । बोट हेरेरै चिन्छन्, के कुराको कमी भयो भनेर । आइरनको कमी भयो भने टमाटर चाउरिन थाल्छ ।
यी सम्पूर्ण मेहनतका कारण नै बल्लधनले टमाटरको एक बोटबाट ५ किलोसम्म फलाएका छन् । एक वर्षमा १० हजार किलो टमाटरसम्म बेचेका छन् । सबै प्रकारका तरकारी बेचेर वर्षको २२ लाख बढी कमाएका छन् ।
कृषिमा काम गर्न चाहने नयाँ कृषकहरुलाई बल्लधनको सुझाव छ, ‘गाडी किन्नुहुन्छ भने आफैं ड्राइभर हुनुहोस् । कृषि पेशामा म साहु हो भनेर बारीमा एकपटक पनि जाँदैन भने ऊ डुब्यो । एक साल भाउ पाएन भने कृषकहरु भागिहाल्छन् । कृषिमा त पञ्चवर्षीय योजना बनाउनुपर्छ । पाँच वर्षसम्म धैर्य गर्न सक्नुपर्यो । ब्रस गर्न नभ्याएर मेरो दाँतमा कीरा लागिसक्यो भने पनि तरकारीको स्याहार गर्न आतुर हुनुपर्यो । कृषिमा घाटा नहुने होइन । टुटा कीराले खायो भने सकायो । त्यस्तो हेरेन भने चाहिँ कृषक डुब्यो । बरु बालबच्चालाई त्यति स्याहार गर्नुपर्दैन, जति तरकारीको स्याहार गर्नुपर्छ । त्यति मेहनत गरेपछि त हो, परिश्रमको फल आउने ।’
८० रुपैयाँ किलो पर्ने टमाटर उपभोक्ताले किन १४० मा किन्नुपर्छ ?
बल्लधनले ८ रुपैयाँ प्रतिकिलो टमाटर बेच्दा बजारमा ३० देखि ४० रुपैयाँ हुन्छ । उनले ९५ रुपैयाँ प्रतिकिलो टमाटर बेच्दा उपभोक्ताको किचनमा १३५-१४५ रुपैयाँ पुगिरहेको हुन्छ । उनले काँक्राको ३० रुपैयाँ प्रतिकिलो भाउ पाउँदा बजारमा ७० रुपैयाँ हुन्छ । धन्न, टमाटरबाहेक अन्य तरकारी उनले गाडामै डुलाएर बेच्छन् र राम्रै आर्थिक उपार्जन गरेका छन् ।
आफ्नो कमाइबारे बल्लधन भन्छन्, ‘मैले जति मेहनत गरेको छु, त्यसअनुसार कमाइरहेको पनि छु । अब खाडी जानेलाई त कमाइको हिसाबले जितिन्छ । अहिले चहलपहल छ नि कोरियाको ? तिनीहरुसँग बराबरी त म यहीँ कमाउँछु ।’
तर, बल्लधनहरुले उब्जाएको टमाटरको मूल्य फार्मदेखि उपभोक्तासम्म पुग्दा किन त्यति धेरै फरक हुन्छ ? मुख्यतया फार्महरुबाट कालीमाटीका होलसेलरहरुले तरकारी उठाउँछन् । त्यसपछि खुद्रा व्यापारीले होलसेलबाट उठाउँछन् र उपभोक्ताको घरसम्म पुग्छ ।
त्यसरी जाँदा होलसेलरले प्रतिकिलो १० देखि २० रुपैयाँसम्म खाने गरेको बल्लधनको अध्ययन छ । बाँकी सबै रकम खुद्रा व्यापारीले खाने गरेको उनी बताउँछन् । उनका अनुसार खुद्रा व्यापारीहरुले मनमौजी तरिकाले मूल्य राख्छन् । त्यसैको मारमा चाहिँ उपभोक्ता पर्ने उनको बुझाइ छ ।
यसका लागि चाहिँ राज्यले अनुगमन गरिदिए, कति कमिसन खाने भनेर निर्धारण गरिदिए धेरै राम्रो हुने बल्लधन बताउँछन् । उनी भन्छन्, ‘अहिले उपभोक्ता मारमा परिरहेका छन् । हामीलाई विषादी पसलेहरुले मनपरी भाउ असुल्छन् । मेहनत गर्ने हामी । तर, हामीभन्दा बढी विषादी पसलेले कमाउँछन् । हाम्रोभन्दा खुद्रा व्यापारीको मुनाफा बढी हुन्छ । यसमा त सरकारले चासो दिनुपर्यो नि ! अनुगमन गर्नुपर्ने होला ! सरकारले ख्याल नगरिदिँदा नै धेरै कृषकहरु डुबेका छन् । सडकमा पुगेका छन् ।’