रुपान्तरण अभियानमा ‘बेलकोटगढी फ्याक्टर’- ससुराहरूसँग गगन गले, शेखरले कार्यक्रम यसरी छले
काठमाडौं । गत साउन २५ गते दरबारमार्गमा केही युवा नेताको पहलमा कांग्रेसको संस्थापन इतर समूहका दुई मुख्य नेता डा. शेखर कोइराला र गगन थापाबीच करिव ३ घन्टा छलफलपछि दुवै नेताबीचको असमझदारी अन्त्यको घोषणा गरिएको थियो ।
सो छलफलमा १५औं महाधिवेशनमा डा. शेखरलाई गगनले सभापतिमा सघाउने र शेखरपछिको उत्तराधिकारी गगन हुने अनौपचारिक सहमति भएको थियो । यसका साथै अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई पनि सो समूहमा समेट्ने समझदारी भएको थियो ।
त्यसको चार दिनपछि साउन ३२ गते डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा रूपान्तरण अभियानको समीक्षा बैठक बसेको थियो । जहाँ शेखर, गगन, जीवन परियार, बद्री पाण्डे ,मधु आचार्य ,जगदीश नरसिंह केसी, भूपेन्द्रजङ्ग शाही, रञ्जित कर्ण, रिता शाहीलगायत थिए ।
समीक्षा बैठक र सिलसिला
समीक्षा बैठकमा भदौ १५ सम्म विभाग गठन गर्ने तयारी भइरहेको भन्दै महामन्त्री थापाले आफ्नो समूहमा अन्य समूहबाट पनि जोड्नुपर्ने बताए । महासमितिको तयारी पनि गर्नुपर्ने भन्दै १६५ क्षेत्रमै अभियान लैजानु पर्नेमा थापाले जोड दिए । सबै कार्यक्रम पार्टीको संरचनाअनुसार नै हुनुपर्नेमा उनको जोड थियो ।
‘रूपान्तरण अभियान हाम्रै हो तर पार्टी संरचना बाहिर कार्यक्रम गर्दा हामीमाथि नै प्रश्न उठ्छ । सबै क्षेत्रमा कार्यक्रम गर्दा सम्बन्धित क्षेत्रका महासमिति सदस्यलाई हाम्रो तिर ल्याउन रूपान्तरण अभियानले पहल गर्नुपर्छ’ उनले भनेका थिए ।
त्यसबीचमा शेखर र गगनसहितको उपस्थितिमा भेला पनि भयो । तर, विश्वप्रकाश र प्रदीप पौडेल भने सहभागी भएनन् । भदौ २९ मा डा. केदार नरसिंह केसीको निवासमा डिनर मिटिङ भयो । त्यहाँ शेखर, गगन, केदार नरसिंह, जगदीश नरसिंह र चिकित्सक संघका २ जना नेता पनि थिए ।
त्यो मिटिङमा शीर्ष नेताहरूले सम्बोधन गर्ने गरी कार्यक्रम गर्ने कुरा भयो तर पार्टीकै आधिकारिक संरचनामा कार्यक्रम गर्नेमा शेखर गगन सहमत थिए । दुवैजनाले पार्टीभित्र विधिको कुरा गर्ने समूहले विधानले नचिन्ने संरचनामा कार्यक्रम गर्दा ‘ब्याक फायर’ हुने बताएका थिए ।
शेखरले छले कार्यक्रम
सो छलफलपछि असोज १४ गते काठमाडौंमा कांग्रेस रुपान्तरण अभियानको तर्फबाट बेलकोटगढी नगर समिति नुवाकोटको व्यवस्थापनमा कार्यक्रम आयोजना भयो । तर, त्यहाँ अन्तिममा शेखर गएनन्, गगन पुगे ।
उनले त्यहाँ वर्तमान गठबन्धनलाई फरक ढङ्गबाट चलाउन प्रस्ताव राखे । प्रचण्ड नेतृत्वको समाजवादी मोर्चालाई अढाई वर्ष सरकार चलाउन दिनुपर्ने र कांग्रेसका मन्त्रीहरू फिर्ता हुनुपर्ने थापाको प्रस्ताव थियो । उनले त्यसदिन निकै महत्वपूर्ण विषय उठाएका थिए ।
शेखर किन गएनन् भन्ने चर्चा त्यसपछि चल्न थाल्यो । रुपान्तरण अभियानकै धेरैजसो नेताहरूले यो कार्यक्रमबारे चाल पाएनन् । अभियानमा आबद्ध अन्य नेताहरूसँग सल्लाह नगरी केन्द्रीय सदस्य मधु आचार्य र जगदीश्वरले वक्ता फाइनल गरेको आरोप छ ।
आपसमा छलफल नभएपछि गुरु घिमिरे, रञ्जित कर्ण, देवराज चालिसे, गोविन्द पोखरेल, भूपेन्द्रजंग शाही र भरत खड्का सन्तुष्ट थिएनन् । रञ्जितले त कार्यक्रमप्रति आपत्ति नै जनाए । शाहीले भने आफू खुट्टामा समस्या भएर कार्यक्रममा जान नपाएको बताए ।
सो कार्यक्रममा वक्ताको सूचीमा शेखर समूहका धेरै नेता राखिएन । अर्जुन नरसिंह केसी, दिलेन्द्र बडूलगायतका नेताहरूले बोले । सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डेलाई किन वक्ता नबनाइएको भन्ने प्रश्न समूहमा उठ्यो ।
त्यसो त आयोजक पार्टीको कुनै समिति नभई रुपान्तरण अभियान नै हुनेभएपछि फुटको स्थिति बनिसकेको थियो । आफूलाई बोलाउन गएका कार्यकर्तालाई उनले पार्टीको वैधानिक संरचनाभित्रै रहेर रुपान्तरण अभियानको कार्यक्रम गर्न आफूले दिएको सुझाव अवज्ञा भएकाले आउँदिन भने ।
शेखरले पूर्ववत सहमतिअनुसार पार्टी संरचनाबाट कार्यक्रम गर्न जगदीश र मधुलाई भनिसकेका थिए । बरु २-४ दिन कार्यक्रम सारेर भएपनि पार्टीको वैधानिक संरचनाभित्र कार्यक्रम गर्न शेखरले दिएको सुझाव नमानिएको दाबी अभियानका केही नेताहरूको छ ।
शेखरले भनेका थिए, ‘मसहित गर्ने भए वैधानिक संरचनामा कार्यक्रम हुनुपर्छ । अन्यथा आउँदिन ।’
तर, आफ्नो सुझाव नमानेपछि शेखरले कार्यकर्ता र सोध्ने नेताहरूलाई कार्यक्रममा जाऊ भने तर आफू गएनन् ।
ससुराहरूसँग गलेका गगन
पार्टी संरचनाबाहेकका कार्यक्रम गर्दा अनैतिक देखिने अडान गगनले छाडेको टिप्पणी शेखरनिकट नेताहरूको छ । ससुरा अर्जुननरसिंह केसी र काका ससुरा जगदिश तथा केदारहरूसामु गगन गलेको उनीहरूको टिप्पणी छ ।
रुपान्तरण अभियानमै रहेका रहेका एक नेताले भने, ‘गगनजीले ससुराहरूको निरन्तरको दबाब झेल्न सक्नुभएन । त्यसैले आफ्नै अडान बिर्सेर कार्यक्रममा गएर राम्रो भाषण गर्नुभयो । जबकी आफू महामन्त्री भएकाले पार्टीका वैधानिक संरचनाको कार्यक्रममा मात्र सहभागी हुने प्रस्ताव उहाँकै थियो ।
असोज १४ को कार्यक्रमको आयोजक रुपान्तरण अभियानको बागमती प्रदेश भनियो । अन्तिम समयमा नेपाली कांग्रेस बेलकोटगढी नगर समितिलाई व्यवस्थापक भनियो । तर, काठमाडौंको कार्यक्रममा नुवाकोटले कसरी स्थानीय समन्वय गर्ने भन्ने प्रन भने अनुत्तरित रह्यो ।
ती नेताले भने, काठमाडौंको कार्यक्रममा नुवाकोटको नगर समिति व्यवस्थापक बन्यो । महामन्त्रीले भाषण गर्न काठमाडौंको कुनै वडा समितिलाई आयोजक बनाउनसमेत सक्नुभएन । कहिले महामन्त्री हुँ गार्हो पर्छ भनेर हाम्रो कार्यक्रममा नआउने, अहिले परिवारभित्रको कार्यक्रममा चैँ लाजै नमानी जाने । महामन्त्रीको द्वैध चरित्र देखियो । परिवारवादमा उहाँ फस्नुभो ।
केही दिनअघि केन्द्रीय समिति बैठकभन्दा पहिले शेखर समुहको बैठक बसेर सभापतिलाई सामुहिक भेटेर ध्यानाकर्षण गराउने कुरा भएको थियो । उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार र बद्री पाण्डेसहित शेखर असाजे ३ गते देउवाकहाँ गए धुम्बाराही । तर, महामन्त्री गगन गएनन् ।
शेखर समूहका एक पदाधिकारीले भने, ‘समूहको बैठकको निर्णय गगनले नमानेको भन्दै त्यतिबेलै प्रश्न उठेको थियो । हामीसँग धुम्बाराही नगएका गगनजी त्यही साँझ खुसुक्क गएर सभापतिलाई भेट्नुभयो । अघिल्लो केन्द्रीय समितिमा देउवासँग वैचारिक प्रतिवाद गर्नुभएको मान्छे यसपटक त्यो ढंगको आक्रामकता पनि देखिएन ।’
के भन्छन् रुपान्तरण अभियानका नेता ?
कांग्रेस रुपान्तरण अभियान भनेर चलाइएको लुज फोरममा डा. शेखर समूहका नेताहरू छन् । उनीहरूले यसलाई सातै प्रदेशमा विस्तार गरेका छन् र संयोजक पनि तोकेका छन् । तर, बागमतीको कार्यक्रमबारे अभियानमै पर्याप्त छलफल नभएका कारण शेखर गएनन् ।
यद्यपि आयोजक जगदिश्वरनरसिंह केसीले भने कोइरालाले आफूलाई सन्चो नभएर आउन नसकेको जानकारी आफूलाई दिएको बताए । उनले नेताहरूको सल्लाहमै आयोजक रुपान्तरण समूह र व्यवस्थापन बेलकोटगढी नगर समितिले गर्ने तय भएको दाबीसमेत गरे ।
केसीले भने, ‘अघिल्लो दिन नै उहाँहरूसँगको सल्लाहमा पार्टी कमिटीलाई राख्ने भनिएको हो । तर उहाँ (शेखर) नआउनुपर्ने कारण केही थिएन । हाम्रो नेताहरू शेखर र गगनभित्रै फुट रहेको विभिन्न कुराहरू आइरहेका थिए तर, हामीले दुवैजनासँगै हुनुहुन्छ भन्ने देखाउन चाहेका थियौं । फेरि हाम्रो कार्यक्रम गुटको पनि कार्यक्रम होइन सबैलाई बोलाएका थियौं । तर, उहाँ (शेखर) नै आउनु भएन ।’
रुपान्तरण अभियानकै अर्का नेता तथा सुदूरपश्चिम संयोजक भरत खड्काले कार्यक्रम सञ्चालनमा त्रुटि भएको बताए । उनले रुपान्तरण अभियानमा छलफल भएर कार्यक्रम तय गरिने भनेकोमा केही नेतालेमात्र बसेर गर्दा त्यस्तो हुन गएको बताए ।
खड्काले भने, ‘कार्यक्रम सञ्चालन गर्दा प्राविधिक रूपमा त्रुटि भएकै हो वक्ताहरूबारे पनि समस्या भएको तर, अहिले टुङ्गो लागिसक्यो ।’
रुपान्तरण अभियानका नेताहरूले भने शेखर र गगनलाई समेत विभाजित गर्ने हो भने यस्तो अभियानको औचित्य नहुने भन्दा थप समीक्षाको आवश्यकता औंल्याएका छन् ।