मलाई हराउन केही नेताले अध्यक्ष ओलीलाई विवादमा पार्न खोजे, विभेदमा परेका कार्यकर्ता संरक्षण गर्छु: ढकाल
विराटनगर । नेकपा एमाले कोशी प्रदेशका अध्यक्षका प्रत्यासी विनोद ढकालले नेतृत्व चयनमा केन्द्रीय नेताहरू अमूक उम्मेदवारको पक्षमा लागेको आरोप लगाएका छन् ।
उनले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै केही नेताहरुले कार्यकर्तालाई डर, त्रासमा पारेर भोट माग्ने र अर्को उम्मेदवारलाई तिरस्कार गरेको व्यवहार खुल्लमखुल्ला देखिएको बताए ।
उनले पार्टी स्थायी कमिटी सदस्य र पोलिट ब्यूरो सदस्यहरुले नै खुलेआम रुपमा अमुक उम्मेदवारको पक्षमा भोट माग्ने र अर्को उम्मेदवारलाई घेराबन्दी गर्ने काममा नियोजित रुपमा लागेका मात्र होइन आफूखुशी गरिरहेको त्यो कर्ममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम जोडेर प्रचारवाजी समेत गरेको बताए ।
उनले भने, ‘उहाँहरुको त्यस्तो व्यवहारबाट पार्टी अध्यक्ष जस्तो संस्थालाई विवादमा पार्ने काम भएको छ भने पार्टीभित्रको प्रतिस्पर्धालाई अस्वस्थ र दवावमूलक बनाएको छ ।
उनले अहिले पनि आफू पार्टी अध्यक्ष केपी ओलीको पक्षमा रहेको भन्दै आफूले निर्वाचनको परिणाम स्वीकार गरेको बताए । उनले अध्यक्ष पदको निकटतम् प्रतिस्पर्धीको नाताले समापन समारोहको मञ्चबाट धन्यवाद दिने अवसर नपाएको कारणले पत्रकार सम्मेलन गरेर विचार सार्वजनिक गर्नु परेको बताए ।
निर्वाचनको परिणाम स्वीकार गरेकाले आगामी दिनमा उहाँहरुप्रति कुनै भेदभाव वा आग्रह नराखी कामको जिम्मेवारी दिन र पार्टी काममा फर्कने बताए ।
उनले अधिवेशनमा आफुलाई साथ दिनेहरुलाई भेदभावपूर्ण व्यवहार भएमा विभेदमा परेका नेता कार्यकर्ताको संरक्षणका लागि आवाज उठाउने बताए