राष्ट्रपतिलाई विमलाको प्रश्न- हत्यारा गुन्डा नाइकेलाई आममाफी दिँदा तपाईँको हात कामेन ? – Nepal Press

राष्ट्रपतिलाई विमलाको प्रश्न- हत्यारा गुन्डा नाइकेलाई आममाफी दिँदा तपाईँको हात कामेन ?

काठमाडौं । राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेलले जघन्य अपराध गरेको मान्छेलाई आममाफी दिने कुरामा हस्ताक्षर गर्दा राष्ट्रपतिको हात कामेन भन्दै प्रश्न गरेकी छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले राष्ट्रपति मन्त्रिपरिषद्को औंठाछाप नभएर संविधानको संरक्षक भएको भन्दै संविधानको रक्षकले हत्यारालाई आममाफी दिनु गलत भएको बताइन् । २० वर्षको कैद सजाय ८ वर्ष नपुगी संविधान दिवसको दिन चेतन मान्नधरको हत्यारा रिगललाई आममाफी दिनु गलत भएको उनको दाबी थियो । हत्याराको नाइकेलाई गृहमन्त्री र मन्त्रीपरिषद्ले कुन आधारमा आममाफी दिन सिफारिस गर्‍यो सदनमा आएर गृहमन्त्रीले जवाफ दिनुपर्ने उनको माग छ ।

उनले भनिन्,‘२० वर्षको कैद सजाय ८ वर्ष नपुगी संविधान दिवसको दिन पारेर चेतन मान्नधरको हत्यारालाई नेपाल सरकारले आम माफी दिन्छ । वयोवृद्ध, मृदुभाषी सम्मानित नेता राष्ट्रपतिज्यूको कर कमलले त्यसमा हस्ताक्षर हुन्छ । कसरी मीठो बोलौं । कसरी राम्रो बोलौं । गृह मन्त्रीलाई मेरा प्रश्नहरु छन् । नियन्त्रणमा लिएर हत्या गर्नु जघन्य अपराध हो । यो कुरा हामी सबैलाई थाहा छ । यस्तो अपराध गर्ने हत्याराको नाइकेलाई गृहमन्त्री र मन्त्रिपरिषद्ले कुन आधारमा सिफारिस गर्‍यो । आममाफीको आधार के हो ? के के भयो भने आममाफी दिन पाइन्छ ?’

‘हत्यारा छुट्नको लागि कुनै दलको नेता हुनुपर्छ । कि गृहमन्त्रीको आफन्त हुनुपर्छ ? की राष्ट्रपतिको ज्वाइँचेला हुनुपर्छ ? के आधारमा छुट्ने त्यसको जवाफ चाहिन्छ । आममाफी लिने निर्णय गर्दा पीडितहरुसँग संवाद हुन्छ कि हुँदैन । पीडितको चित्त बुझाउनुपर्छ कि पर्दैन । पीडितको अनुमतिबेगर दिउँसै हत्या गरेको मान्छेलाई छाड्न मिल्छ ? मिल्छ भने त्यो कानून संसदमा लिएर आउनुस् हामी सच्याउँछौं । कानून र संविधानलाई टेकेर जे पायो त्यही गर्नको लागि यो छुट गृह वा प्रधानमन्त्री कसैलाई पनि छैन । प्रधानमन्त्री र गृहमन्त्री हत्याहिंसाकै व्याक राउण्डबाट सशस्त्र द्वन्द्वबाट आउनुभएको हो । हत्या भए पनि मिलाउन सक्नु हुन्छ होला । राष्ट्रपतिले कसरी सक्नुभयो । यस्तो जघन्य अपराध गरेको मान्छेलाई आममाफी दिने कुरामा हस्ताक्षर गर्दा राष्ट्रपति ज्युको हात काम्यो कि कामेन ?, उनको प्रश्न थियो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर