एमालेले भन्यो- जनयुद्ध दिवसलाई गिजोलेर सरकारले शान्ति प्रक्रिया टुंग्याउने वातावरण बिथोल्यो
सभामुखले गरेको रुलिङप्रति सरकारले ध्यान नदिएको सचेतक बर्तौलाको आरोप
काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौँलाले सरकारले जनयुद्ध दिवसको बिदाबारे अध्यक्ष केपी शर्मा ओेलीले उठाएको विषयलाई गिजोलेर शान्ति प्रक्रिया टुंग्याउने वातावण बिथोलेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै पार्टी अध्यक्षले देशको समसामयिक ज्वलन्त विषयमा आफ्नो कुरा राख्दा सत्तापक्षबाट रुखो टिप्पणी भएको बताए ।
उनले भने, ‘सत्ता पक्षका सांसदहरुले आज पनि दुई–दुई घण्टा बोल्ने ? तथ्यहीन कुरा बोल्ने भनेर जनतालाई ढाँटको खेतीतर्फ लान खोजेको अनुभूति भयो । हाम्रो संसदीय दलको नेताले तथ्यहीन कुरा के बताउनुभयो ? संविधान विरोधी कुरा के बताउनुभयो ? कानून विपरीत कुरा के बताउनुभयो ? उहाँले सरकारको कारणले देश बर्बादीतर्फ गयो, सरकारकै कारणले साम्प्रदायिक द्वन्द्व फैलिएको छ त्यसको पछिल्लो उदाहरण नेपालगञ्ज र धरान हो ।’
उनले जनयुद्ध दिवस कुनै दल विशेषको मनाएपछि सिंगो देशले नै मनाउनुपर्छ भन्ने बाध्यता नरहेको बताए । उनले भने, ‘जनयुद्ध दिवस कुनै दल विशेषको होला । सिंगो देशले मनाउनुपर्छ भन्ने बाध्यता रहन्छ ? त्यो विषयलाई एमालेले मान्नुपर्छ भन्ने छ ? जनताले गौरवका दिन भनेर मान्नुपर्छ भन्ने छ ? हामीलाई लाग्यो यो बेठीक छ । तर, उहाँहरुले शान्ति प्रक्रियालाई टुंग्याउनको लागि, संक्रमणकालीन न्यायलाई टुंग्याउनको लागि वातावरण बनाएर काम गरिरहेका छौं । त्यसलाई गिजोल्न प्रयत्न गरियो ।’
उनले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने वातावरण नबिगार्न आग्रह गरे ।
उनले सरकारले दिनदहाडै मान्छे मार्नेलाई संविधान च्यातेर आममाफी दिएको आरोप लगाए । सभामुखले गरेको रुलिङप्रति सरकारले ध्यान नदिएको बताए । उनले भने, ‘कान्ति बाल अस्पतालको घटना र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको विषयमा रुलिङ भयो । तर सरकारले उक्त रुलिङ कार्यान्वयन गरेन ।’