एमाले सुदूरपश्चिमको अध्यक्षमा सिंहको उम्मेदवारी घोषणा, यस्ता छन् चुनावी एजेन्डा
कैलाली । आगामी असोज २१ र २२ गते धनगढीमा हुँदै गरेको प्रथम प्रदेश अधिवेशनको लागी एमालेका नेता बचनबहादुर सिंहले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
धनगढीमा आज पत्रकार सम्मेलन गर्दै सिंहले उम्मेदवारी घोषणा गरेका हुन् । सिंह हाल एमाले प्रदेश सचिवालय सदस्य छन् । २०५० सालमा अनेरास्ववियुबाट विद्यार्थी आन्दोलनमा होमिएका सिंह राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष भइसकेका छन् ।
सिंहले पार्टीमा युवाहरूको प्रतिनिधित्व गर्दै आफू अध्यक्षको उम्मेदवार बन्न लागेको बताए । आफ्नो नाममा सर्वसम्मत हुने सम्भावना रहेकोसमेत सिंहले दाबी गरे ।
अध्यक्षमा एकल उम्मेदवारी घोषणा गरेका सिंहले प्यानल बनाएर चुनाव लड्ने पक्षमा नरहेको बताए । उनले पार्टीको मूल नेतृत्वले लिएको नीतिलाई कार्यान्वयन गर्दै प्रदेशमा पार्टीलाई एकताबद्ध र सुदृढ गर्न उम्मेदवार भएको बताए ।
उनले जिल्ला कमिटीले सिफारिस गरेका सुझाव सल्लाह प्रदेश स्तरमै सम्भव भए जति लागू गर्ने र गर्न नसकिनेलाई केन्द्रमा समन्वय गर्ने जनाए ।
पार्टीका निर्वाचित जनप्रतिनिधिहरुको पार्टीबाट यथोचित मूल्यांकन गर्ने परिपाटी सुरु गर्ने, पार्टीका सदस्यहरुलाई अभियानमा उत्प्रेरित गर्ने, प्रदेश विभागहरुलाई सक्रिय बनाउनेलगायत उद्देश्यहरु रहेको सिंहले बताए ।
एमाले प्रदेश अध्यक्षमा अहिलेसम्म पत्रकार सम्मेलन गरेर सिंहले मात्रै उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै अछामका कृष्णप्रसाद जैशी र कमल तिमिल्सिनाले पनि आकांक्षा राखेका छन् । तिमिल्सिना अहिले प्रदेश कमिटी उपाध्यक्ष छन् ।