‘बहुदल्नी बुढी’को आँगनबाट मोडिएर देवेन्द्र दाइको दैलोमा पुगेपछिका नमेटिने स्मरणहरु
केही दिनअघि सिटी सेन्टरबाट नागपोखरीतर्फ मोडिँदै थिएँ । देब्रेतिर कमलपोखरी किनारामा सबै उमेर समूहका मानिस विचरण गरिरहेको मनरोम दृश्यले मलाई एकाएक ‘नोस्टाल्जिक’ बनाइदियो । ‘नोस्टाल्जिया’को पहिलो अनुहार वरिष्ठ पत्रकार स्वर्गीय देवेन्द्र गौतम मेरो मानसपटलमा आउनुभयो ।
त्यसको एक दुई दिनअघिमात्र भाइ किरण गौतमले बुबा स्वर्गीय देवेन्द्र दाइको बारेमा केही लेख्न आग्रह गरेका थिए । तर, मेरो दिमागमा के लेख्ने भन्ने खाली थियो । कमलपोखरीको त्यो फेरिएको स्वरुप र किरणको आग्रहसँगै स्मृतिमा देवेन्द्र दाइ आएपछि केही लेख्न बसें ।
कमलपोखरीको अहिलेको फेरिएको स्वरुपसँग मेरो पत्रकारिताको पुरानो साइनो छ । अनि यसमा देवेन्द्र गौतमको योगदान । पचासको दशकको अन्तिमतिर २०५८ सालमा म साप्ताहिक पत्रिकाबाट त्यसबेला भनिने व्यवसायिक पत्रकारितातर्फ पाइला मोड्दै थिएँ ।
राजधानी दैनिकमा आबद्ध भएपछिको सम्भवतः मेरो पहिलो बाइलाइन स्टोरी थियो ‘नमुना पार्क पोखरी बन्दैछ कमलपोखरी’ । सायद यही शीर्षकमा मेरो र विमल गौतमको संयुक्त बाइलाइन स्टोरी राजधानीको एंकरमा (पहिलो पृष्ठको दाहिने पुच्छरमा) प्रकाशित भएर बजारमा आउँदा मेरो खुट्टाले भुईं छोडेको थियो ।
विमल गौतम (हाल लोकान्तर डटकमको प्रधान सम्पादक) देवेन्द्र दाइको घर पछाडि स्पेशल मःमः सेन्टरको छेउमा डेरा बस्थ्यो । उनीहरु तीन दाजुभाइ बस्ने डेरामा म पटक पटक जान्थें । किनकि सातामा एक दिन देवेन्द्र दाइको घरमा म जानु नै थियो, जसको कारण म पछि खोल्नेछु यो लेखमा ।
समाचार आएलगत्तै देवेन्द्र दाइले फोन गर्नुभयो, तिमी केटाहरु अलि हतार गर्छौं । मैले भने जस्तो अझै आएन । तर पनि लेखाइ राम्रो छ, भरे भक्तपुरे खान आऊ । मामीले सिप्लिकानको अचार पनि बनाकी छन् । (भक्तपुरे ऐला हाम्रो स्पेशल थियो अनि स्पिलीकान मिसाको आलुको अचार) ।
विद्यासुन्दर शाक्य काठमाडौंको मेयर भएपछि कमलपोखरी साँच्चिकै देवेन्द्र दाइले सोचे जस्तै नमुना पार्क पोखरी बन्यो । यद्यपि त्यो बन्न नदिन केही अभियन्ताहरु कमलपोखरीको माटो निधारमा टीका लगाएर विरोधमा उत्रिए ।
खासमा त्यो स्टोरीको आर्किटेक्ट नै देवेन्द्र दाइ हुनुहुन्थ्यो । उहाँ कमलपोखरी संरक्षण तथा विकास समितिको अध्यक्ष बनेर पानीविहीन भइसकेको कमलपोखरीलाई पुनर्जीवन दिने अभियानमा लाग्नुभएको थियो । त्यसको स्टोरी मैले गरेको थिएँ । उहाँको सपना पूरा हुन भने धेरै समय लाग्यो ।
विद्यासुन्दर शाक्य काठमाडौंको मेयर भएपछि कमलपोखरी साँच्चिकै देवेन्द्र दाइले सोचे जस्तै नमुना पार्क पोखरी बन्यो । यद्यपि त्यो बन्न नदिन केही अभियन्ताहरु कमलपोखरीको माटो निधारमा टीका लगाएर विरोधमा उत्रिए ।
कमलपोखरीले पुनर्जीवन पाउँदासम्म देवेन्द्र दाइ भने त्यो ठाउँ छाडेर भक्तपुरतिर सरिसक्नुभएको थियो । आज कमलपोखरी नमुना पार्क पोखरी बनेको छ । २२ वर्षअघिको मेरो बाइलाइन समाचार सार्थक भएको छ । तर, मेरो समाचारको आर्किटेक्ट अग्रज पत्रकार देवेन्द्र गौतम भने हामीबीच हुनुहुन्न ।
पहिलो भेट
देवेन्द्र गौतमलाई मैले देखेको र चिनेको २०५५ सालतिर हो । तर, त्यो देखाइ र चिनाइ एकोहोरो जस्तो मात्र थियो । म भर्खरै पत्रकारितामा लागेको थिएँ । देवेन्द्र दाइ नेपाल पत्रकार महासंघको उपाध्यक्ष हुनुहुन्थ्यो ।
त्यसको केही समयपछि २०५६ मा किसुनजी प्रधानमन्त्री भएर अध्यक्ष किशोर नेपाल प्रेस सल्लाहकार बन्न गएपछि देवेन्द्र दाइ महासंघको कार्यवाहक अध्यक्ष बन्नुभयो । त्यसबेला पत्रकार महासंघको कार्यालय बागबजार रत्नराज्य क्याम्पसको पछाडि घरमा थियो ।
म आरआरकै विद्यार्थी पनि भएकाले कक्षा सकिएपछि महासंघमा जाँदा आउँदा कार्यबाहक अध्यक्ष देवेन्द्र दाइ, महासचिव सुरेश आचार्य, सचिव किशोर श्रेष्ठलगायत अग्रजहरुसँग चिनजान भएको जस्तो लाग्छ । यो पनि अब २५ वर्षअघिको इतिहास भइसक्यो ।
२०५४ को अन्तिमतिर म साँघु साप्ताहिक छाडेर सूर्योदय साप्ताहिकको सहसम्पादक भएको थिएँ । त्यहाँ सम्पादक बालकुमार नेपालका समकालीन र अग्रज दौंतरी पत्रकारहरु गोकुल बास्कोटा, सूर्य थापा, प्रमोद दाहाल, राजकुमार रेग्मी, केपी गौतमहरुको जमघट हुन्थ्यो । यी सबै जनासँग मेरो चिनजान त्यसैबेला भएको हो र आजपर्यन्त घनिष्ट सम्बन्ध छ ।
एक दिन डिल्लीबजार पिपलबोट नजिकै ‘बहुदल्नी बुढी’को मदिरालयमा गफगाफकै सिलसिलामा केपी गौतमले मलाई हप्ताको एक दिन सोमबार नयाँ करेन्ट साप्ताहिकको लागि समाचार लेख्न प्रस्ताव गरे । मेरो लेखन शैली र घ्राण शक्तिका कारण त्यो प्रस्ताव राखेको उनको भनाइ थियो । एक ठाउँमा काम गरेर पेट पाल्न गाह्रो हुने भएकाले तत्कालै मैले उक्त प्रस्ताव स्वीकार गरें ।
बहुदल्नी आमै (सबैले बहुदल्नी बुढी भन्थे)को मदिरालयको प्रसंग ल्याएपछि त्यसबारे प्रस्ट नपार्दा अपूरो हुनसक्छ । डिल्लीबजार पिपलबोटको खाल्डोमा अहिले पनि एउटा माटोको पुरानो घर छ । त्यहाँ ज्ञानदेवी भन्ने दिदीले घरेलु मदिरा र छोइला बनाउँथिन् र मान्छेहरु सुकुलमा बसेर खान्थे ।
आज कमलपोखरी नमुना पार्क पोखरी बनेको छ । २२ वर्षअघिको मेरो बाइलाइन समाचार सार्थक भएको छ । तर, मेरो समाचारको आर्किटेक्ट अग्रज पत्रकार देवेन्द्र गौतम भने हामीबीच हुनुहुन्न ।
मैले त्यहाँ अहिलेका केही चर्चित युवा नेता, वकिल, पत्रकारहरुलाई चिनेको हुँ । उनीहरुको अनुमतिविना नाम उल्लेख गर्न आचारसंहिताले मिलेन । तर, पत्रकारहरु पदमसिंह कार्कीदेखि राजकुमार रेग्मीसम्म जीवित साक्षी हुनुहुन्छ । ज्ञानदेवीकी फुपू जसलाई मैले देखिनँ, उनलाई बहुदल्नी बुढी भन्थे रे ! अर्थात त्यसबेलाका बहुदलवादी नेताहरुको ‘जक्सन’ थियो रे !
कतिपयले त शेरबहादुर देउवादेखि पूर्णबहादुर खड्कासम्मले खाएको उधारो ५०-५५ रुपैयाँ याक चुरोटको भित्री कागजमा लेखेर राखेको थियो समेत भन्थे । मैले पछिसम्म नेता भेटेको चाहिँ स्वर्गीय रामहरि ढुंगेल हो । देउवाले बहुदल्नी आमैको उधारो तिर्नुभयो वा भएन यसबारे रिपोर्टिङ गर्ने चाहना अहिलेसम्म पूरा भएन ।
‘बहुदल्नी बुढी’को मदिरालय अगाडि सूर्योदयको कार्यालय थियो । पवन थापा कुन्तलले हिन्दू साप्ताहिक पनि त्यहीबाट निकाल्नुहुन्थ्यो, त्यो एक प्रकारले गोश्वारा कार्यालय थियो । केपी गौतमले नै कमलपोखरीमा लगेर मलाई नयाँ करेन्टमा काम लगाएपछि देवेन्द्र दाइसँग व्यवसायिक हुँदै पछि गएर पारिवारिक भावनात्मक सम्बन्धमा गासियौं ।
देवेन्द्र गौतमको परिवारसँग मेरो पत्रकारिताभन्दा पृथक भावनात्मक सम्बन्ध रह्यो । मैले कतिपटक मैतिदेवी र गौरीघाटका डेरामा बस्दा भाइ बहिनीको पेट भर्न त्यो घरबाट ‘सामल र तिउन’समेत लगेको छु भन्दा मलाई आज कुनै लज्जाबोध छैन बरु गर्व लाग्छ ।
किनकी त्यो यथार्थ विगत हो र म वर्तमानको यथार्थ हुँ ।यतिसम्मकी मेरो विवाहमा बेहुलीको सारी समेत सोही घरबाट लगेको थिएँ ।
केही रोचक घटना र कृतघ्न पात्रहरुबारे
नयाँ करेन्टमा हामी सातामा एक दिन जम्मा भएर काम गथ्र्यौं । एक प्रकारले जनवादी सहयोग थियो । देवेन्द्र दाइको पत्रिकाबाट आयआर्जन थिएन, त्यो एक प्रकारले उहाँको पाइन राख्न र पत्रकारितामै जीवन बिताउने प्रणमात्र थियो ।
युवराज विद्रोही, फूलमान वल, लक्ष्मण भण्डारीलगायतका साथीहरु पनि त्यसमा जोडिएका थिए । तर, म चाहिँ चाँडै त्यस परिवारमा केपी गौतमपछिको भित्रिया बन्न पुगें । मामी र भाइहरु प्रदिप्न र किरणले परिवारकै सदस्यको रुपमा व्यवहार गरे ।
देवेन्द्र दाइबाट पत्रकारितामा सिकेको भनेको सूचनाको स्रोत बनाउने, त्यसको संरक्षण गर्ने र जीवन्त सम्पर्कमा ररिरहने नै हो । जो आज पर्यन्त मेरो पत्रकारिताको मूलमन्त्र हो । उहाँले चिनाएका कतिपय व्यक्तिहरु आज पनि मेरो सूचना र विश्लेषणका स्रोतहरु बनिरहेका छन् ।
तत्कालीन राजदरवारका सचिव चिरन शमशेर थापा, सोल्टी होटलका मालिक प्रभाकर शमशेर जबरा, उद्योगपति मोहनगोपाल खेतान, हुलाशचन्द गोल्छा, स्पेसटाइम नेटवर्कका जमिम शाह जस्ता व्यक्तिहरु उहाँलाई फोन गरेर समसामयिक विषयमा सूचना र विश्लेषण जान्न खोज्थे ।
करिब २० वर्ष जति मैले नयाँ करेन्टमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा काम गरें । त्यसबीचमा घरको सदस्य जस्तै बनियो । कमलपोखरीस्थित गौतम निवास देशका नेता, पत्रकार र प्रतिष्ठित व्यक्तिहरुको जमघटस्थलसमेत थियो कुनै बेला । कीर्तिनिधि विष्टसम्मलाई मैले त्यहाँ भेटेको हुँ ।
लामो अवधिका असंख्य स्मरणहरु छन्, जुन उल्लेख गर्नुको अर्थ पनि छैन । २०५८ सालतिर होला देवेन्द्र दाइ नेपाल पत्रकार महासंघको अध्यक्षको उम्मेदवार बन्नुभयो । हायात होटलमा महाधिवेशन थियो । उहाँबाट रक्सीका बोतल लिएर भोट चाहिँ अर्कैतिर दिएका कृतघ्न पात्रहरु अहिले पनि महासंघको राजनीतिमा बिचौलिया बन्ने गरेका देखिन्छन् । मलाई ती पात्रहरुदेखि हल्का घृणा जाग्छ । तर, मुर्मुरिनुको विकल्प छैन ।
जसले उहाँलाई अध्यक्षमा सघाउने भने अन्तिममा रातारात राजनीतिक समीकरण बनाएर उहाँलाई धोका दिए । पत्रकार महासंघको अध्यक्ष बन्ने उहाँको सपना पूरा नभए पनि नेपाली पत्रकारिताको एउटा अविश्रान्त नायक बनेर बिदा हुनुभयो ।
आम सञ्चार संग्रहालय बनोस् र नेपालको पत्रकारिता तथा आमसञ्चारको विकासका सबै कालखण्डको बारेमा जान्न बुझ्न चाहने भावी पुस्ताको लागि राम्रो अभिलेख रहोस् भन्ने उहाँको एकमात्र चाहना थियो ।
मैले पहिलो पुस्ता र त्यसपछिका अग्रज पत्रकारहरु बालमुकुन्ददेव पाण्डे, देवेन्द्र गौतम, केदारमान सिंह, पदमसिंह कार्की, ध्रुवहरि अधिकारी, गोपाल बुढाथोकी, शम्भु श्रेष्ठ, किशोर श्रेष्ठ,गोपाल थपलिया,हेम पाठक,पुरुषोत्तम दाहाल,किशोर नेपाल,जीवेन्द्र सिम्खडा,कपिल काफ्ले,महेश्वर दाहाल,ओम शर्मा, बालकुमार नेपाल, अरुण बराललगायतको नेतृत्वमा काम गर्ने मौका पाएँ । सायद यस्तो मौका र संगत मेरा समकालीन कमैले पाए होलान् ।
आज उहाँहरुमध्ये केही हुनुहुन्न । केही अहिले पनि सक्रिय पत्रकारितामै हुनुहुन्छ । काम त किशोर नेपालसँग पनि गरियो । तर, उहाँ नेपाल वान टेलिभिजनको प्रधान सम्पादक भएर दिल्लीबाट आए पनि कार्यालयमा आउनुभएन । बाहिरै कतै बसेर मुकुन्द दाहालजीमार्फत हामीले निर्देशन पाउने भएकाले संगत भएन ।
आमसञ्चार संग्रहालयको अपूरो सपना
देवेन्द्र गौतमले पञ्चायतकालमा पनि हण्डर खाएका कथा पढियो । आकाश पाताल र समाचारभित्रको समाचार उहाँका स्तम्भहरुबाट पनि धेरै थाहा पाइयो ।
पत्रकारिता गरेर उहाँले के कमाउनु भयो थाहा छैन । तर, जीवनको उत्तरार्द्धमा कमलपोखरीको पैतृक सम्पत्तिसमेत बेचेर हिँड्नुभयो । यसका अरु पाटाहरु मलाई थाहा छैन । तर, पत्रकारिताबाहेक उहाँले अरु केही गर्नुभएको थाहा छैन ।
आज मलाई उहाँको बारेमा के लेख्ने, के नलेख्ने धेरै उछालकुद भइरहेका बेला एउटा प्रसंगमात्र जोडेर यसलाई बिट मार्न चाहन्छु । २०७० र २०७२ सालमा गरी २ पटक म सञ्चार मन्त्रालयको सल्लाहकार बनें । त्यसबेला दाइले धेरै केही माग्नुभएन ।
आम सञ्चार संग्रहालय बनोस् र नेपालको पत्रकारिता तथा आमसञ्चारको विकासका सबै कालखण्डको बारेमा जान्न बुझ्न चाहने भावी पुस्ताको लागि राम्रो अभिलेख रहोस् भन्ने उहाँको एकमात्र चाहना थियो ।
कमलपोखरीको घरमै तत्कालीन सञ्चारमन्त्री शेरधन राईसहित रात्रीभोजमा हामीबीच लामो सल्लाह भयो र आमसञ्चार संग्रहालय बनाउने निर्णय मन्त्रालयबाट गरियो । त्यही बेला हामीले नै गोरखापत्र प्रकाशन भएको दिनलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउने निर्णय पनि गरेका थियौं ।
देवेन्द्र दाइले आफ्नो घरमा भएका विभिन्न कालखण्डमा ऐतिहासिक दस्तावेज र पत्रिका छाप्ने पुराना प्रेसहरु पनि आमसञ्चार संग्रहालयलाई दिन चाहनुभएको थियो । गिद्धे प्रेसदेखिका सबै अभिलेखहरु त्यसमा रहोस् भनेर उहाँले आफूसँग रहेका सबै ऐतिहासिक संग्रहहरु पनि दिनुभएको थियो ।
अहिले मलाई थाहा छैन, यो के भइरहेको छ भन्ने । तर, यतिमात्र भन्छु आमसञ्चार संग्रहालय बन्छ वा त्यो व्यवस्थित रुपमा रहन्छ भने त्यसमा कतै स्वर्गीय दाइ देवेन्द्र गौतमको नाम अंकित होस् । दाइ हामीबीच सदा स्मरणमा रहनुहुनेछ ।