पीएस गुरुङको दाबी- एमालेविरुद्ध प्रचण्ड-माधवले बनाएको समाजवादी मोर्चाको औचित्य छैन
पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रचण्ड-माधव समूहले एमालेविरुद्ध बनाएको समाजवादी मोर्चाको भण्डाफोर गर्दै मिसन ८४ मा लाग्न पार्टीपङ्क्तिलाई निर्देशन दिएका छन् ।
गण्डकी प्रदेश अधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा उपमहासचिव गुरुङले एमालेविरुद्ध बनाइएको कथित समाजवादी मोर्चाको औचित्य नरहेको बताए ।
नवनिर्वाचित नेतृत्वले एमाले विरोधी मोर्चाको औचित्य छैन भनेर तलसम्म सन्देश लैजानुपर्ने बताए । उनले अधिवेशनसँगै अब प्रतिस्पर्धाको प्रक्रिया सकिएर पार्टीमा उन्नतस्तरको एकता शुरु भएको दाबी समेत गरे ।
गुरुङले भने- हाम्रो पार्टीभित्र दुई खाले गलत धारणा छन् । चुनावले पार्टी फुट्छ भन्ने एउटा गलत धारणा र मनोनयनले वा सर्वसम्मतिले नेतृत्व निरंकुश हुन्छ भन्ने दुवै सोच गलत हुन् । एमाले उन्नत लोकतान्त्रिक अभ्यास गर्ने पार्टी हो,अब चुनावबाट नयाँ नेतृत्व चयनसँगै हामी एकजुट भइसकेका छौ । हमेशा चुनाव र हमेशा सर्वसम्मत दुवै ठिक होइनन् ।
उपमहासचिव गुरुङले केपी शर्मा ओली नेतृत्वमा एमालेले मिसन ८४ अभियान सफल बनाउने बताए । गण्डकीमा गुरुङले समर्थन गरेको नवराज शर्मा नेतृत्वको प्यानल विजयी भएको छ ।