उम्मेदवारको प्रारम्भिक सूचीमा निर्विरोध, पछि पराजित ! – Nepal Press
एमाले गण्डकी अधिवेशन

उम्मेदवारको प्रारम्भिक सूचीमा निर्विरोध, पछि पराजित !

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनमा बुधबार बेलुका उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित भयो । तोकिएको समयभन्दा धेरै ढिलो प्रकाशन भएको प्रारम्भिक नामावलीमै २७ जना सदस्य निर्विरोध निर्वाचित भएको उल्लेख थियो । निर्वाचन कमिटीले सार्वजनिक गरेको नामावलीअनुसार आदिवासी जनजाति महिला क्लष्टरमा ३ जना निर्विरोध निर्वाचित भए ।

जोगमाया महतो, निर्मला थापा र लालसुब्बा गुरुङ निर्विरोध निर्वाचित भएका थिए । तर, दाबी विरोध र उम्मेदवारी फिर्ता लिने समयपछि बिहीबार बिहान उम्मेदवारको अन्तिम नामावली प्रकाशन भयो ।

उक्त नामावलीमा भने आदिवासी जनजाति महिला क्लष्टरतर्फ खगीसरा थापामगरको नाम अन्तिम नामावलीमा समावेश भयो । जसले गर्दा उक्त क्लष्टरमा निर्वाचन गर्नुपर्ने अवस्था आयो । लालसुब्बा गुरुङ भन्छिन्, ‘निर्विरोध भयो भन्ने आयो । निर्वाचन लड्न पर्दैन भएर सबैलाई भने । तर, एकजनाले नाम सच्च्याउनुभयो । महिला भनेर दिनुभएछ । आदीवासी महिला बनाउनुभयो । मतदान हुनुभन्दा निर्वाचन लड्नुपर्ने थाहा भयो । यसमा निर्वाचन आयोगको गल्ती देख्छु ।’

खगीसरा थापामगरको महिला क्लष्टरमा नाम थियो । तर, निर्वाचन आयोगले टाइपिङ मिस्टेकले गर्दा भन्दै थापामगरको नाम आदिवासी महिला क्लष्टरमा समावेश गर्‍यो ।

‘फर्ममा जे लेखेको त्यो टाइपिङमा मिस्टेक भएको र प्रारम्भिक नै आधिकारिक हुँदैन,’ निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले भने ।

उक्त विषयमा छानबिनका लागि लालसुब्बाले निर्वाचन आयोगमा निवेदनसमेत दिएकी थिइन् । तर, आफ्नो निवेदनमाथि छानबिन नभएको उनको गुनासो छ ।

‘उहाँ (खगीसरा) को उजुरीमाथि छानबिन भयो, मैले पनि दाबी विरोध हालेको थिएँ । मेरो कुनै छानबिन भएन,’ उनले भनिन्, ‘निर्वाचन आयोगले नै पक्षपात गर्‍यो । गुटमा निर्वाचन आयोग चल्यो ।’

निर्वाचनबाट ७ सय ५६ मत लिएर आदिवासी महिला क्लष्टरतर्फ निर्मला थापा निर्वाचित भइन् । उनीसहित ७ सय १३ मत ल्याएर जोगमाया महतो र ७ सय ३ मत ल्याएर खगीसरा थापामगर निर्वाचित हुँदा पहिलो उम्मेदवारको सूचीमा निर्विरोध भएकी लालसुब्बा भने ५ सय १६ मत ल्याएर पराजित भइन् ।

आफूले राम्रोसँग प्रचारसमेत गर्न नपाएको लालसुब्बाले गुनासो गरिन् ।

‘म फेरि निर्वाचनमा गए भन्ने थाहा नै भएन । ११ बजेतिर बल्ल अन्तिम नामावली आएपछि मात्रै लड्ने थाहा भयो । सबैलाई भन्न पनि पाएन । सबै निर्विरोध भएको सोच्नुभयो । भोट हाल्न पर्दैन भनेर सोच्नुभयो अनि हारे । यसमा त गल्ती निर्वाचन आयोगकै देख्छु,’ उनले भनिन् ।

गएराति सम्पन्न भएको मतगणनाबाट एमाले गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित भएका छन् । लमजुङका मायानाथ अधिकारीलाई १ सय ६६ मतले पराजित गर्दै शर्मा अध्यक्ष निर्वाचित भएका हुन् । उपाध्यक्षमा मीनप्रसाद गुरुङ र सचिवमा धनन्जय दवाडी र उपसचिवमा दामबहादुर विक र उपसचिव महिलातर्फ मञ्जु अधिकारी विजयी भएका छन् ।

पीएस र खगराज पक्ष अधिवेशनमा प्यानलै बनाएर निर्वाचनमा होमिएका थिए । पदाधिकारीसहित अधिकांश सदस्य पीएसनिकटका विजयी भएका छन् ।

उम्मेदवारको अन्तिम सूची

निर्वाचन नतिजा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर