क्रिकेटर करन र सोमपाल बने आईएमई ग्रुपको ब्राण्ड एम्बेसडर
काठमाडौं । आईएमई ग्रुपले क्रिकेटर करन केसी र सोमपाल कामीलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) र आईएमई डिजिटल सोलुसन लिमिटेडबीच रणनीतिक सम्झौता कार्यक्रममा आईएमईले करन र सोमपाललाई नयाँ ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो ।
आईएमईले नयाँ ब्राण्ड एम्बेसडरहरुमार्फत आईएमई ग्रुपको साख बढाउन सहयोग पुग्ने विश्वास लिइएको बताएको छ ।
क्रिकेट संघको तर्फबाट सचिव पारस खड्का र आईएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार आईएमई डिजिटल सोलुसन लिमिटेडले २ वर्षको लागि नेपाल क्रिकेट संघले देशभित्र आयोजना गर्ने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलहरूको टिकेटिङ पार्टनरका रूपमा रहनेछ । सम्झौता लागू भएसँगै आउँदो २ वर्षमा नेपाल क्रिकेट संघले नेपालमा आयोजना गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय खेलहरूको फिजिकल र अनलाइन टिकट बिक्रीको जिम्मेवारी पनि आईएमईपेले पाएको छ ।
क्यानका सचिव खड्काले आईएमई पेसँगको साझेदारीले नेपाली क्रिकेटको बहुआयामिक विकासमा सहयोग पुग्ने बताए ।