कार्य सम्पादनमा जिल्ला प्रशासन कार्यालय गुल्मी दोस्रो पटक पनि सर्वोत्कृष्ट (सूचीसहित)
काठमाडौं । गृह मन्त्रालयको कार्य सम्पादन मूल्यांकनमा दोस्रो वर्ष पनि ‘अति उत्कृष्ट’सहित जिल्ला प्रशासन कार्यालय गुल्मी पहिलो नम्बरमा पर्न सफल भएको छ ।
मन्त्रालयले गरेको कार्य सम्पादन मूल्यांकनमा विभिन्न ६८ वटा परिसूचकमा ९७.७५ अंकसहित गुल्मी सर्वोत्कृष्ट भएको हो । अघिल्लो वर्ष पनि कार्यसम्पादन मूल्यांकनमा ९६.४४ प्रतिशत अङ्क प्राप्त गर्दै गुल्मी ‘अति उत्कृष्ट’ बन्न सफल भएको गृह मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार कार्य सम्पादन सम्झौताका ६ वटा विषयगत क्षेत्रमा शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासनअन्तर्गत ६८ वटा परिसूचक रहेका छन् ।
पहिलो नम्बरमा पर्न सफल गुल्मीमा अहिले प्रमुख जिल्ला अधिकारी सहसचिव टेकबहादुर केसी छन् । उनी २०८० जेठ १२ गतेदेखि गुल्मीको प्रमुख जिल्ला अधिकारी छन् । अहिले सार्वजनिक भएको परिणाम मूल्यांकनका बखत प्रमुख जिल्ला अधिकारीमा उपसचिव सागरमणि पाठक थिए ।
कार्य सम्पादनमा गुल्मीसहित ३३ वटा जिल्ला प्रशासन कार्यालय ‘अति उत्कृष्ट’मा पर्न सफल भएका छन् । जसमा ९६.१३ अंकसहित जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम ‘अति उत्कृष्ट’को दोस्रो नम्बरमा परेको छ । अघिल्लो वर्ष दोस्रो नम्बरमा अर्घाखाँची थियो ।
रुकुम पश्चिममा २०७९ माघ १६ गतेदेखि अहिलेसम्म प्रमुख जिल्ला अधिकारी उपसचिव हरिप्रसाद पन्त छन् । पन्तभन्दा अघि २०७७ पुस २८ देखि २०७९ माघ १५ गतेसम्म उपसचिव परमानन्द घिमिरे प्रमुख जिल्ला अधिकारी थिए ।
यस्तै ९६ अंकसहित ‘अति उत्कृष्ट’को तेस्रो नम्बरमा जिल्ला प्रशासन कार्यालय रुपन्देही परेको छ । अघिल्लो वर्ष तेस्रो नम्बरमा नवलपरासी पूर्व परेको थियो । तेस्रो नम्बरमा परेको रुपन्देहीको प्रमुख जिल्ला अधिकारी सहसचिव गणेश अर्याल रहेका छन् । तर, यो कार्य सम्पादन मूल्यांकनका क्रममा प्रमुख जिल्ला अधिकारी सहसचिव भरतमणि पाण्डे थिए । उनी २०७९ असार १९ देखि २०८० भदौ २७ गतेसम्म प्रमुख जिल्ला अधिकारी थिए ।
९५.८१ अंकसहित ‘अति उत्कृष्ट’को चौथो नम्बरमा जिल्ला प्रशासन कार्यालय इलाम परेको छ । अघिल्लो वर्ष चौथो नम्बरमा भने रुकुम पूर्व परेको थियो । इलाममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल छन् । उनी २०७९ माघ १४ गतेदेखि प्रमुख जिल्ला अधिकारी छन् । ९५.३८ अंकसहित ‘अति उत्कृष्ट’को पाँचौं नम्बरमा जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्व परेको छ । अघिल्लो वर्ष पाँचौंमा जिल्ला प्रशासन कार्यालय हुम्ला परेको थियो ।
पाँचौंमा परेको नवलपरासी पूर्वको प्रमुख जिल्ला अधिकारी सहसचिव कल्पना श्रेष्ठ छिन् । उनी २०८० असार ११ गतेदेखि प्रमुख जिल्ला अधिकारी छिन् । कार्यसम्पादन मूल्यांकनका क्रममा भने २०७८ पुस २६ देखि २०७९ माघ १० गतेसम्म सहसचिव सुमन घिमिरे र २०७९ माघ ११ देखि २०८० जेठ १६ गतेसम्म सहसचिव कृष्णप्रसाद लम्साल प्रमुख जिल्ला अधिकारी थिए ।
त्यस्तै ९५ देखि ९० अंकसम्म प्राप्त गरेर रुकुम पूर्व, डडेल्धुरा, काठमाडौं, पर्वत, बैतडी, प्यूठान र डोटी, सल्यान, मकवानपुर, मनाङ, दाङ, गोरखा, बारा, लमजुङ, ललितपुर, तनहुँ, मोरङ, संखुवासभा, कपिलवस्तु, नुवाकोट, अछाम, पाल्पा, नवलपरासी पश्चिम, भोजपुर, ओखलढुंगा, बर्दिया, दार्चुला र सिन्धुली ‘अति उत्कृष्ट’ जिल्ला प्रशासन कार्यालयमा परेका छन् ।
९० प्रतिशतभन्दा माथि अंक प्राप्त गर्ने जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले कार्यसम्पादन मूल्यांकनमा ‘अति उत्कृष्ट’ मान्ने गरेको छ ।
बाँकी ३० जिल्ला ८० प्रतिशतदेखि ९० प्रतिशत अंक ल्याएर उत्कृष्टमा परेका छन् । जसमा कैलाली, अर्घाखाँची, सुनसरी, तेह्रथुम, रोल्पा, डोल्पा, काभ्रेपलाञ्चोक, दैलेख, मुगु, कञ्चनपुर, रौतहट, सुर्खेत, झापा, बाँके, रसुवा, भक्तपुर, कास्की, बाग्लुङ, धादिङ, म्याग्दी, बाजुरा, सप्तरी, कालिकोट, मुस्ताङ, धनुषा, हुम्ला, उदयपुर, धनकुटा, रामेछाप र सोलुखुम्बु रहेका छन् ।
मन्त्रालयका अनुसार उत्कृष्टमा पर्नेले ८० प्रतिशतभन्दा बढी अंक र उत्तममा पर्नेले ६० प्रतिशतभन्दा बढी अंक ल्याएको हुनुपर्छ । मध्यम र न्यून सूचीमा एउटा पनि जिल्ला परेको छैन । ५० प्रतिशतदेखि ६० प्रतिशतभन्दा कम अंक ल्याउने मध्यम र ५० प्रतिशतभन्दा कम अंक ल्याउने जिल्ला प्रशासन कार्यालय न्यून सूचीमा पर्ने गरेका छन् ।
बाँकी रहेका १४ जिल्ला उत्तम सूचीमा परेका छन् । जसमा खोटाङ, महोत्तरी, स्याङजा, सर्लाही, जुम्ला, सिन्धुपाल्चोक, पाँचथर, पर्सा, ताप्लेजुङ, दोलखा, बझाङ, चितवन, जाजरकोट र सिरहा रहेका छन् ।
सबैभन्दा कम ६१.५६ अंक ल्याएर सिरहा कार्य सम्पादन मूल्यांकनमा सबैभन्दा कमजोर देखिएको छ । सिरहामा अहलिे प्रमुख जिल्ला अधिकारीमा सहसचिव राजेन्द्रदेव पाण्डे छन् । यो कार्य सम्पादन मूल्यांकनका बखत लालबाबु कवारी, भोजराज खतिवडा थिए । जसमा कवारीले २०७८ मंसिर २३ देखि २०७९ माघ १३ गतेसम्म र खतिवडाले २०७९ माघ १६ देखि २०८० असार १५ गतेसम्म प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए ।