बझाङ भूकम्प पीडित: सरकार पुग्यो ,पुगेन सरकारी राहत – Nepal Press

बझाङ भूकम्प पीडित: सरकार पुग्यो ,पुगेन सरकारी राहत

खुल्ला आकाशमुनि रात काट्दै पीडित

कैलाली । बझाङ जिल्लाका भूकम्प पीडितले सरकारी तवरबाट कुनै राहत प्राप्त गर्न नसकेको गुनासो गरेका छन् । पीडितहरु त्रिपाल र खुल्ला आकाश मुनी रात बिताउन बाध्य भएका छन् ।

भूकम्प पीडितलाई सरकारी क्षेत्रबाट प्रदान गरिने राहत नआइपुगेका कारण उनीहरुले समस्यामा परेको बताएका हुन् । गत मंगलबार दिउसोको भूकम्पमा परी यहाँका कैयौँ नागरिकका घरमा क्षति पुगेको छ । कतिपयको घर भत्किएको छ भने कैयौँका घरमा क्षति पुगेकाले आफ्नै घरमा रात काट्न नसक्ने अवस्था रहेका छन् ।

थलारा गाउँपालिका–९ का हंसुबहादुर लुहारले भने, ‘सरकारी क्षेत्रबाट राहत आइपुगेको छैन, पटक पटक गइरहने पराकम्पनले त्रास थपिँदै गएको छ ।, चिसो समयमा हामीहरु त्रिपाल मुनी आगो बालेर रात बिताउन बाध्य छौँ ।

गाउँभरिमै भूकम्पको पीडाले सन्नटा छाएका कारण खेतमा पाकेको धान तथा कोदो काट्न र टिप्न नपाउँदा खेतबारीमै बाँदर, मुसाले खान थालेकाछन् । खानका लागि एक मानो चामल र पीठोसमेत नभएका कारण बालबालिका भोकले रुने कराउने गर्न थालेका छन् ।’

अस्थायीरुपमा भए पनि टहरा निर्माण गर्न तथा एक छाक खान र एकसरो लगाउने लुगाको व्यवस्था गरिदिन पीडितले सरकारसँग माग गरेका छन् । तत्कालको लागि राहत र अस्थायी बसाई व्यवस्थापनको लागि सङ्घ संस्था, युवा, विध्यार्थीहरूले खाद्यान्न, त्रिपाल लुगा कपडा भाडाकुडाको व्यवस्थापन गरेपनी हाल सम्म अस्थायी टहरा र स्थायी पुनर्निर्माण लागि भने सरकारले आश्वासन मात्रै दिएको छ ।

थलारा गाउँपालिका–९ सिरेटाकी प्रजना थापा सुत्केरी भएको ६ महिना भयो । उनको पनि खुल्ला आकाश मुनिको बास छ । उनलाई आफ्नोभन्दा पनि ६ महिनाको शिशुको चिन्ता छ । उनका ससुरा नरबहादुर थापाले भने, ‘भर्खर जन्मिएको नातिलाई खुल्ला आकाशमुनि बसाल्दा निकै समस्या छ ।’ बालबालिका र वृद्धवृद्धालाई बढी समस्या भएको उनले बताए ।

थलारा गाउँपालिका–९ आमबगरकी एकल महिला मुलुदेवी दमाईको पनि उस्तै समस्या छ । भएको सानो झुपडी भूकम्पले भत्काएपछि उनलाई कसरी रात बिताउने भन्ने चिन्ताले पिरोलेको छ ।

उनले भनिन, ‘घरमा कोही पनि छैन । सम्पत्तिको नाममा एउटै झोपडी थियो । त्यो पनि भूकम्पले तहसनहस पारिदियो, अहिले छिमेकीहरुबाट स–साना पालका टुक्रा सङ्कलन गरेर टहरो बनाएकी छु । सानो पाल र एक छाक खानको जोहो कसैले गरी दिए वा आफूले पाए तत्काललाई ठूलो राहत हुन्थ्यो ।’

शुक्रवार प्रधानमन्त्रीसहित मन्त्रीहरु आए पनि राहत नआएको पीडितहरुको गुनासो छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफूहरुका समस्या राख्न चाहे पनि नपाएको पीडितहरुको भनाइ छ ।

प्रधानमन्त्री दाहालले बझाङ पुगेर गरेका घोषणा

१.गत मंगलबारका दिन बझाङ केन्द्रबिन्दु भएर गएको भुकम्पबाट कहाँ, के, कति क्षति भएको छ यकीन गरिने छ । मूल्याङ्कन यस आधारमा सामान्य मर्मत सम्भार गर्नुपर्ने, गरी प्रबलिकरण गर्नुपर्ने वा पुनर्निमाण गर्नुपर्ने भन्ने निर्धारण गरी कार्य अघि बढाइनेछ ।

२.भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न रु।५०,००० ९पचास हजार० उपलब्ध गराइने छ ।

३.भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिनेछ ।

४.राहत सामग्रीहरू जस्तै पाल, कम्बल, औषधी, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरुको व्यवस्थापन भएको छ । थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिनेछ ।

५ भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको छ ।

६ भुकम्पले निम्त्याएको पहिरोमा परेका मृतक परिवारलाई तत्काल २ लाख सहयोग प्रदान गरिनेछ ।

७ भत्किएका, चिरा परेका, आंशिक क्षति भएका घर तथा संरचनाहरुको दीर्घकालिन पुतनिर्माण र पुनर्स्थापनाका लागि स्थानीय तह, जिल्ला प्रदेशबाट प्राप्त क्षति मूल्यांकनका आधारमा कार्यविधि बनाई स्थानीय सामाग्रीहरूको प्रयोग गरी सुरक्षित पुनर्निमाणको काम अगाडि बढाइने लगाएत घोषणा गरेका छन् ।

प्रधानमन्त्री र मन्त्रीहरु आश्वासन मात्रै बाँडेकाे  गुनासाे

पीडितहरुले भने प्रधानमन्त्री र मन्त्रीहरु आश्वासन मात्रै बाँडेर गएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेन्द्र चौधरीका अनुसार थलारा गाउँपालिकामा ६७ वटा घर भत्केको र १२ वटा घर चर्किएका छन् । यस्तै, जयपृथ्वी नगरपालिकामा २९ वटा घर भत्किएको र ४८ वटा घर चर्किएको छन् । बुङ्गल नगरपालिकामा २ वटा घर भत्किएको छ भने २ वटा घर चर्किएको छन् ।

यस्तै, विथ्थडचिर गाउँपालिकामा एउटा घर भत्किएको र एउटा घर चर्किएको छन् । केदारस्युँमा एउटा घर र दुर्गाथलीमा ४ वटा घर भत्किएको छन् ।

छविसपाथिभेरामा ७ वटा घर भत्किएको र ४० वटा घर चर्किएका छन् । खप्तडछान्ना गाउँपालिकामा ३१ घर भत्किएको छन्, भने ४० वटा घर चर्किएका छन् ।मष्टामा ३ वटा घरमा पूर्ण क्षति, ५ वटा घर भत्किएको र एउटा घर चर्किएका छन्, भने तलकोट गाउँपालिकामा ३ वटा घर भत्किएको र ३ वटा घर चर्किएका छन् ।

व्यक्ति तथा संस्थाहरुले राहत वितरण गर्दै

बझाङका भूकम्प पीडितहरुलाई विभिन्न व्यक्ति तथा संस्थाहरुले राहत वितरण गर्न थालेका छन् । भूकम्पले घरबारविहीन भएका उनीहरुलाई त्रिपाल, खाद्यान्न, लत्ताकपडा लगायतका सामाग्री सहयोग गर्न थालिएको छ । राष्ट्रिय युवा संघ नेपालले सदरमुकाम चैनपुर र दुर्गाथली गाउँपालिकाका १ सय १३ परिवार भूकम्प पीडितहरुलाई त्रिपाल,चामल, ओछ्याउने म्याट्रेस लगायतका सामानहरु वितरण गरिएको छ ।

यस्तै, युवा संघले नै बुङ्गल नगरपालिकाका एक सयभन्दा बढी परिवारलाई शुक्रबार राहत वितरण गरेको बझाङ जिल्ला सहइन्र्चाज लोकेश सिंहले जानकारी दिएका छन् ।

यसअघि बुधबार नेपाली कांग्रेसका छविसपाथिभेरा गाउँपालिका बझाङका सभापति पाण्डव थापाले पनि भूकम्प पीडितलाई ५० ओटा पाल, ३० ओटा सिरक, कम्मल, भाँडाकुँडा र बिरामी बोक्ने २ ओटा स्टेक्चर वितरण गरेका थिए ।

शुक्रबार बझाङ जिल्लामा संचालित गैरसरकारी संस्थाहरु कियर नेपालको आर्थिक सहयोगमा प्रगतिशिल युवासमाज बझाङ र निड्स नेपालको समन्वयमा ५० थान किचन सेट, ९४ थान त्रिपाल, ९४ थान डोरी, ९४ थान बाल्टीन जग, १ सय ८८ थान म्याट्रेस र ९४ पिस हाइजिन किट वितरण गरेको छ ।

भूकम्प पीडितका लागि विदेशबाट पनि राहत सहयोग संकलन हुन थालेको छ । हाल अमेरिकामा बसिरहेका बझाङ खप्तडछान्नाका डा. विष्णु जोशीले ५० हजार रकम बझाङका भूकम्प पीडितलाई राहत स्वरुप दिएका छन् । उनले अमेरिकामा रहेका अन्य व्यक्तिहरुले पनि सहयोग संकलन गरिरहेको बताए ।

मंगलबारको भूकम्प पछि लगातार गइरहेको पराकम्पका कारण बझाङका स्थानीय घर भित्र पस्न सकेका छैनन् । सदरमुकाम चैनपुर आसपास केन्द्रविन्दु भएर सयौ पटक भूकम्पका पराकम्पन गइसकेका छन् । भूकम्प गएको पाँच दिन भइसक्दा पनि यहाँका पीडितहरुले सरकारको तर्फबाट कुनै पनि राहत नपाएको गुनासो गरेका छन् ।


प्रतिक्रिया

One thought on “बझाङ भूकम्प पीडित: सरकार पुग्यो ,पुगेन सरकारी राहत

  1. मेरो घरको पछाडिबाट चर्किएर पुरै झर्न सके लागेको छ अनि अगाडिमा पनि अलिअलि चर्केको छ घरको भित्रमा केही रहेकै छैन। घरको भित्री मुज्यालो त झन केही रहेकै छैन चर्किएर अझ पनि
    अझ पनि भूकम्प आइरहेको छ यही डरले बसेका छौ कि घर भत्केला कि भनेर 🥹
    बझाङ केन्द्रबिन्दु भएर आएको पहिलो भूकम्प पीडित भएबाट वडाले हामीलाई एक पाल चार नुहाउने साबुन र चार लुगा धुने साबुन र पुरुष कुलकेट गरेर केही कपडाहरु पनि हामीले पाएका हौ। तर पैसा पनि हामीले प्राप्त गरेको छैन। नयाँ घर लगाउनको
    पैसा छैन
    घरमा सब बेरोजगार छन्। मेरो पढाइले १२ मा छ बुबाआमाको
    वृद्धा भत्ताले हामीलाई पढाइरहेका छन्
    र मेरी सौतेनि आमा पनि छन् घर भएका कारणले
    मेरी आमाले बिर्ता भत्ताको पुन
    पुन बुझ्नका लागि बनाउने नवीकरण छुटेका कारणले उनीलाई बुढो भत्ता माग्न जाँदा माग्न जाँदा
    राष्ट्रिय वाणिज्य बैंकका म्यानेजरहरूले
    तपाईँले नवीकरण गरेको छैन तपाईँको पैसा पाइँदैन भनेर उनलाई फिर्ता लगाएका छन्। र अहिले भने हाम्रो जीवन दुःखमा बिती रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *