एमालेको उपत्यका प्रदेश कमिटी अध्यक्षमा चन्द्र रिजाल र प्रेम पराजुलीको प्रतिस्पर्धा
काठमाडौं । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा चुनाव हुने भएको छ । निवर्तमान अध्यक्ष प्रेम पराजुली र सचिव चन्द्र रिजालले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
रिजाललाई अध्यक्ष बन्नबाट रोक्न केही नेताले केन्द्रीय कार्यालयको निर्देशन भन्दै प्रेम पराजुलीलाई पुनः उम्मेदवार बनाएपछि निर्वाचन हुने भएको हो ।
पराजुली पूर्व कर्मचारी हुन् भने रिजाल विद्यार्थी राजनीतिबाट आएका पुराना नेता हुन् । २०५३ सालको स्ववियु निर्वाचनमा गगन थापासँग त्रिचन्द्र क्याम्पसमा सभापति लडेका रिजाल निरन्तर एमालेको राजनीतिमा छन् ।
पर्यटन विभागको सचिव रहिसकेका उनी हाल नेपाल पर्यटन बोर्डको उपाध्यक्ष समेत छन् । रिजाललाई सर्वसम्मत हुन नदिन पराजुलीलाई फेरि उम्मेदवार बनाइएपछि प्रतिनिधि विभाजित भएका छन् ।
कमिटीको सचिवमा मिलन धरेल र चिरञ्जीवी पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ । करिब साढे ३ सय प्रतिनिधि अधिवेशनमा सहभागी छन् ।
उपत्यका विशेष प्रदेश कमिटीमा विभिन्न पेशागत संघ संगठन र युवा विद्यार्थीका काठमाडौं उपत्यका केन्द्रित कमिटीहरू आबद्ध छन् ।