बुटवल उद्योग वाणिज्य संघमा अर्याल र श्रेष्ठको नेतृत्वमा प्यानलगत उम्मेदवारी
गैरे र भट्टराई दुवै टीममा परेपछि निर्विरोध
रुपन्देही । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको २५ औं अधिवेशनबाट नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ ।
नेपाली कांग्रेसको वर्चश्व रहेको संघमा नेतृत्वका दुवै आकांक्षी कांग्रेसका दुई समूहबाट मैदानमा प्यानलसहित गएपछि चुनावी रौनकता बढेको हो ।
संघको ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशन अन्तरगत सोमबार निर्वाचन हुँदैछ । अधिवेशनबाट आगामी कार्यकालको नेतृत्व लिनको लागि अध्यक्ष पदमा दिनेशप्रसाद श्रेष्ठ र हरिप्रसाद अर्यालको उम्मेदवारी परेको हो ।
श्रेष्ठ मौजुदा कार्यसमितिको वरिष्ठ उपाध्यक्ष र अर्याल पूर्व वाणिज्य उपाध्यक्ष हुन् । अर्याल यसअघिका समेत प्रतिस्पर्धी हुन् । पार्टीको जिल्ला कोषाध्यक्ष रहेका अर्याललाई संस्थापन समूहको साथ रहेको छ भने क्षेत्रीय प्रतिनिधि रहेका श्रेष्ठलाई इतर समूहको साथ रहेको छ । अर्यालले एमाले, राप्रपामा रहेका व्यवसायीलाई प्यानलमा राखेका छन् ।
वरिष्ठ उपाध्यक्ष र वाणिज्य उपाध्यक्ष पदमा भने एकल उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्ष पदमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्ष पदमा विमलराज भट्टराईको उम्मेदवारी परेको हो ।
त्यस्तै उद्योग उपाध्यक्ष पदमा नविनप्रसाद श्रेष्ठ र सुरज भट्टराई, महासचिव पदमा बाबुराम विक र मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष पदमा बसन्तप्रसाद ढकाल र प्रकाशकुमार श्रेष्ठ, सचिव पदमा भेषराज गैरे र प्रतिक पोखरेल तथा सहकोषाध्यक्ष पदमा धनकुमारी खनाल (सविता) र जाकिर हुसेनको उम्मेदवारी परेको छ । एक एशोसियट सदस्य पदमा दुई जनाको उम्मेदवारी परेको छ । एशोसिएट सदस्य पदमा बालकृष्ण पौडेल र राजु खरेलको उम्मेदवारी परेको छ ।
त्यसैगरी ४ उद्योग सदस्य पदमा ८ जनाको उम्मेदवारी परेको छ । उद्योग सदस्य पदमा दीपकप्रसाद चापागाई, ज्ञानबहादुर पुन, कृष्णप्रसाद पाण्डे, नेत्रप्रसाद पाण्डे, निर्मित कसजू, सुनिता शर्मा वञ्जाडे, सुमोदमान सैंजू र सुर्य पराजुलीको उम्मेद्वारी परेको छ ।
४ वाणिज्य सदस्य पदमा पनि ८ जनाको उम्मेदवारी परेको छ । वाणिज्य सदस्य पदमा गणेशप्रसाद भट्टराई, काशिराम शर्मा पौडेल, कृष्णप्रसाद श्रेष्ठ (कुलप्रसाद), लोकनाथ पाण्डे, रामबहादुर भण्डारी, टिकाराम वञ्जाडे, त्रिबिक्रम श्रेष्ठ र सतिष कसौधनको उम्मेदवारी परेको छ ।
७ खुल्ला सदस्य पदमा १४ जनाको उम्मेदवारी परेको छ । खुल्ला सदस्य पदमा विष्णु घिमिरे पन्त (कमला), विष्णुप्रसाद पौडेल, विनय कसौधन, दीपक घिमिरे, दीप आचार्य, इञ्जल महमद मिया (अञ्जिल), जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली, नारायणप्रसाद श्रेष्ठ, नारायण रायमाझी, प्रदिप शाक्य, माधवप्रसाद भुसाल, सवर मिया र उमेश अमात्यको उम्मेदवारी परेको छ ।
२ महिला सदस्य पदमा ४ जनाको उम्मेदवारी परेको छ । महिला सदस्य पदमा जमुना पौडेल, नमकला वेलवासे (शारदा), रेनु श्रेष्ठ र सुनिता गिरीको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए ।
यस क्षेत्रको पुरानो व्यवसायिक संस्थाको नेतृत्वको लागि अहिले बुटवल क्षेत्रका व्यवसायीहरुले विशेष चासोका साथ हेरेका छन् ।