एसियाडमा रजत जितेर स्वर्णको पनि हकदार छौँ भन्ने देखायौँ- प्रशिक्षक श्रेष्ठ
काठमाडौं। चीनमा जारी १९ औँ एसियाली खेलकुदमा रजत पदक जितेपछि यतिबेला नेपाली कराँते उत्साही छ। कुमुतेतर्फ ६८ केजी माथिको तौल समूहमा एरिका गुरुङले शनिबार रजत जितेर नेपाली कराँतेमा इतिहास बनाएकी थिइन्।
एसियाडमा कुनैपनि नेपाली कराँते खेलाडीले यसअघि फाइनलसम्मको यात्रा तय गर्न सकेको थिएन्। यसको मतलब रजत जितेको पहिलोपटक हो। यस्तै एकल प्रतिस्पर्धामा नेपालले एसियाडमा रजत जितेको यो केवल दोस्रोपटक हो।
यसअघि सन् १९९८ को एसियाडमा तेक्वान्दो खेलाडी सविताराज भन्डारीले रजत जितेकी थिइन्। त्यसयता नेपाले अघिल्लो एसियाडमा टिम स्पर्धामा प्याराग्लाइडिङमार्फत रजत जितेको थियो। नेपालले एसियाडमा हालसम्म स्वर्ण पदक जित्न सकेको छैन भने रजत तेस्रोपटक हात पारेको हो।।
धादिङमा जन्मिएकी १९ वर्षीया एरिकाले मनमैजुस्थित निरज महर्जनले सन्चालन गरेको डोजोमा कराँते सिकेकी हुन्। गत नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेपछि उनी राष्ट्रिय टोलीमा परेकी थिइन्। एरिकाको यो केवल दोस्रो अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगिता हो।
चीन जानुअघि उनले इन्डोनेसियामा आयोजित सितेरियो विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन्। उक्त सफलताले नेपालले उनीमार्फत एसियाडमा पदकको आशा गरेको थियो। परिवारका दुई सन्तानमध्ये उनी जेठी छोरी हुन्। नेपाललाई ऐतिहासिक पदक दिलाएका प्रशिक्षक कुशल श्रेष्ठले गुरुङबाट भविस्यमा अझ ठूला सफलता आशा गर्न सकिने बताए।
‘हामीले एसियाडमा रजत जितेर स्वर्णको पनि हकदार छौँ भन्ने देखायौँ’, उनले भने। उनले प्रतियोगितामा एरिकाको प्रदर्शनबाट आफु निकै खुसी रहेको बताए।‘ ‘जसको खेल हेरेर उनिहरु कराँतेमा लागेका थिए आज उनिहरुसँग नै भिडेर यो सफलतासम्म पुगेका छन्’, श्रेष्ठले भने।
एरिकाले क्वाटरफाइनलमा हराएकी जापानी खेलाडी युजुकी सवाई हाल विश्व वरियतामा पाचौँ नम्बरमा छिन्। उनी एसियन च्याम्पियनसिपकी स्वर्ण पदक विजेता हुन्।