एमाले पर्वत-काठमाडौं सम्पर्क मञ्चको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
काठमाडौं । नेकपा एमाले पर्वत-काठमाडौं सम्पर्क मञ्चले दसैँ तथा तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मञ्चद्वारा प्रकाशित पुस्तक ‘पर्वत दर्पण’ अंक ६ को विमोचन गरे ।
शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि ज्ञवालीले राजनिति प्रशिक्षणको क्रममा नेपाली मिडियाले अरु पार्टीको जस्तोसुकै कमजोरीलाई ढाकछोप गर्ने तर एमालेप्रति अफवाहमात्र फैलाउने गरेको टिप्पणी गरे ।
एमालेको प्रदेश अधिवेशनमा सर्वसम्मत भएमा पार्टीले टीका लगाइदिएको भन्ने र प्रतिस्पर्धा भएमा नेतृत्व कमाजोर भएको भन्दै गरिने हल्लाहरू प्रायोजित देखिएको उनको भनाइ छ ।
‘गठबन्धनको प्रचण्ड सरकार देशमा अशान्ति, भ्रष्टाचार, तस्कर बढाउने प्रवृत्तितर्फ अनुकूल छ । यो सरकारले अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि नेपालको कूटनीतिक क्षमता कमजोर पारेको छ’, ज्ञवालीले भने ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं प्रमुख सचेतक पदम गिरी, केन्द्रीय सदस्य कल्पना चापागाईं, केन्द्रीय सदस्य कल्पना थापाले शुभकामना व्यक्त गरे । प्रा.डा. खड्क केसीले नेपाल र अन्तर्राष्ट्रिय सम्बन्धबारे समीक्षा गरे ।
शुभकामना आदानप्रदान तथा पर्वत दर्पण विमोचन कार्यक्रम मञ्चका अध्यक्ष शिव पौडेलको अध्यक्षतामा भएको थियो ।