छायांकन अगावै ‘महाजात्रा’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार विक्री
काठमाडौँ । ‘महाजात्रा’ ले छायांकन अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार विक्री गरेको छ ।
अष्ट्रेलियामा रहेर केही समययता नेपालबाहेक विश्व प्रदर्शन अधिकार खरिद गरिरहेको एमएसएम इन्टरटेन्मेन्टका लागि वितरक छत्र थापाले ‘महाजात्रा’ को भारत बाहेकका लागि प्रदर्शन अधिकार खरिद गरेका हुन् ।
कथाले पूर्णता नपाउँदै चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गर्नुलाई उनले ‘जात्रा’ शृङ्खलाप्रति दर्शकमा रहेको विश्वास हो भने ।
वितरक थापाले प्रवासमा रहेका नेपाली दर्शकले निर्देशक प्रदीप भट्टराई, षट्कोण आर्ट्स, रवीन्द्रसिंह बानियाँ लगायतको समूहलाई निर्धक्क विश्वास गर्ने भएकाले अहिलेसम्मकै महँगो मूल्य तिरेर प्रदर्शन अधिकार खरिद गरेको जानकारी दिए ।
उनले जापान, हङकङ, न्युजिल्यान्ड, दक्षिण कोरिया, मध्यपूर्वका देशहरू, अष्ट्रेलिया, युरोपमा चलचित्र नेपालकै मिति चैत्र ९ मा प्रदर्शन हुने तय भएको र अन्य बाँकी देशमा उक्त समयसम्म प्रदर्शन तय हुने जानकारी दिए ।
वितरक थापाले ‘महाजात्रा’ मार्फत केही नयाँ देशहरूमा नियमित चलचित्र प्रदर्शनको सुरुआत हुने समेत जानकारी गराए ।
चलचित्रका कार्यकारी निर्मातासमेत रहेका अभिनेता रवीन्द्रसिंह बानियाँले ‘जात्रा’ शृङ्खलाको सफलता र दर्शकको प्रतीक्षाले नै ‘महाजात्रा’ निर्माण हुन् लागेको बताए ।
उनले भने, ‘हाम्रो पछिल्लो चलचित्र जात्रै जात्रा इन्टरनेट रिलिज भएपछि अधिकांश दर्शकले सामाजिक सञ्जालमार्फत आगामी शृङ्खला ल्याउन आग्रह गर्दै जिज्ञासा राख्नु हुन्थ्यो । हामीले शृङ्खला थप्न हतार गरेनौँ । अहिले कथा अगाडी बढाउने आइडियामा निर्माण समूह सहमत भएपछि काम अगाडी बढाएका छौँ ।’
‘महाजात्रा’ मा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ । यसमा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्कासँगै यस पटक हरिवंश आचार्य जोडिएका छन् ।